गजल ५२३

हरि उप्रेती
अमेरिका

जमाना खराब छ र त फटाहरूलाई ताली बज्छ
भान्सेको ढङ्ग नहुँदा भान्सा कोठामा थाली बज्छ

धुनहरू हजारौँ निस्कन्छ जब यहाँ सङ्गीत बोल्छ
तर आजकल अन्तर नादमा बेतालको झ्याली बज्छ

पहिचान बेच्नेहरूको भाषणमा वाह वाह! हुन्छ सधैँ
अस्तित्व जोगाउने आवाजमा आजकल गाली बज्छ

नाच्न जान्नेहरूलाई बाजाको ताल छुटेर के हुन्छ र
जब खेत जोत्दा हलो ढुङ्गामा पर्छ अनि फाली बज्छ

घाम प्यारो लाग्ने सबैलाई वसन्त अनि शिशिरमा हो
बेमौसमी पर्ने पानी र असिनाले त घरको चाली बज्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *