गोजीको खुराक
शिवलाल दाहाल
केन्टकी, अमेरिका
हिजो टेक्ससको महल
आज डेटनको पसल
अस्ति लोइसएन्जलसको क्यासिनो
भोलि कहाँ हो थाहा छैन महासय
पर्सी त महासयकै थाप्लोमा लाग्न सक्छ
तपाईकै श्रीमतीको छातीमा लाग्न सक्छ
तपाईँको छोरीको गलामा पनि लाग्न सक्छ
अनि किन सधैँ उही शोकसन्देश
अनि उही संविधानको व्याख्या
हो महासयको तर्क मनासिब छ
‘बन्दुकले कहाँ मान्छे मार्छ ?
मार्ने त मान्छेले हो मान्छेले’
की होइन महासय ?
पक्कै मार्ने त मान्छेले हो
तर मर्ने त मुठ्कीले लागेर मरेका त छैनन् नि, किन महासय ?
कति फलाक्छौ
बन्दुक बोक्नु संवैधानिक अधिकार हो भनेर
के भो र दुई चार सय मान्छे मर्दा ?
न तिम्री श्रीमती मरिन न तिम्रो छोरो मर्यो
बरु सोझै भन्देऊ न
‘बन्दुक त मेरो गोजीको खुराक हो, क्या गोजीको खुराक’