घर छुट्नु
डिल्लीराम रेग्मी
ओहायो, अमेरिका
घर छुट्ने बेला
झ्यालैमाथिको सुन्तलाको बोटले
सोध्दै थियो सायद —
“फर्केर आउँछौ कि…?”
आँगनमा टल्किने धुलोमा
बा–आमाका पाइताला
त्यसबेला अचानक भारी देखिन्थे,
जसरी मनमा जम्मा भएको वर्षौँको मायाले
एकचोटि चिच्याएर भन्छ—
“नजाऊ न छोडेर”
घरको भित्ताले
मेरो उचाइ नापेको दाग त्यस्तै थियो,
म भने
केही अप्रत्याशित ऋतुहरू भएर
थोरै, अझ भनौँ धेरै टाढा बन्दै थिएँ।
निस्कँदा
घरको आँखीझ्यालबाट छिरेको घाम पनि
कताकता पराइ जस्तो लाग्थ्यो—
सायद
छुटाइसँगै उज्यालो पनि
थोरै दुखिरहेको छ।
अँ साँच्चि, घर छुट्दा
के–के छुट्छ?
घर छुट्नु भनेको
स्वतः आफू छुट्नु हो।
एउटा खाली कोठाभित्र
आफ्नै हाँसो, आँसु, बालकपन छुट्नु हो।
थाप्लोमा संसार राखिसकेर
फेरि फर्कने वाचा गरेर छुट्नु हो,
वाचा आफैँ छुट्नु हो।
खेतैभरि लटरम्मै पाकेको धान,
अलिअलि खेतमा झर्दै
“मेरो बाली समाल” भन्ने धानको पुकार छुट्नु हो।
गन्ध नउठेको चुल्होको
गन्ध छुट्नु हो।
झ्यालको सिसामा टाँसिएको हाँसो,
र गोठभित्र खेलिरहेका सम्झनाहरू छुट्नु हो।
घरको मूलढोकामै टाँसिएको सुख–शान्तिको नाम
अचानक छुट्नु हो।
जब बाटोतिर झुकेको आमा–बुबाको नजरले भन्छ—
“अब यहाँ बसिँदैन रैछ…”
त्यो आश छुट्नु हो।
घर छुट्नु भनेको देश छुट्नु हो?
अथवा देश छुट्नु घर छुट्नु हो?
देश छुट्नु सबै छुट्नु हो।
देश छोड्ने आदेश
कागजमा लेखिएको आदेश मात्र नभएर
बा–आमाको आत्मामा
कुदिएको चोट थियो,
जुन हर रात मनभित्र धड्किन्छ—
“किन यहाँ जन्मेथेँ, यति परदेशी हुनुथ्यो भने?”
नयाँ ठाउँको भीडमा
हामी आफैँलाई खोजिरहन्छौँ।
बाको काँधले पहाडी हावा खोजिरहन्छ,
आमाको ओठमा घरको परालको गन्ध,
र आफ्नै सानोतिनो जन्मभूमि
दूर ताराजस्तो चम्केर बसिरहन्छ।
आमाले अँध्यारोमा
गोप्य रूपमा थाप्लो छोएर भन्नुभयो,
“मलाई घरको चुल्होको धुवाँ याद आयो।”
यो पचासौँ ताराबीच रहेको
आकाश कहिल्यै आफ्नो हुन सकेन।
घर छोड्ने बिहान
हामीले ढोकामा ताल्चा लगाएनौँ—
फर्कने आशा बोकेर छोडेको घरको ढोका
ताल्चा नलगाई त्यसै छोडियो।
आमाले मकैको फुल्दै गरेको बोट छुँदै भन्नुभयो—
“यिनले अब हामीलाई खोज्नेछन्।”
आमाको स्पर्शले
नाता, रगत, माटो—सबै एकैपटक रोएझैँ लाग्यो।
सामानभन्दा भारी मन थियो,
र बाटोभन्दा लामो
फर्की आउने आशाको दूरी थियो।
बाको ढिलो कदमचालले
धड्कन च्यातिरहेको भान हुन्थ्यो।
देशनिकाला भनेको—
कागजमा लेखिएको सानो आदेश होइन,
यो त जीवनभर नओझेलिने
एक काँडेदार झ्याल हो,
जसबाट हामीले आफ्नो पहाड, खोला,
आँगन, बारी—सबैलाई टाढैबाट हेर्नुपर्छ।
जन्मिएको माटो अचानक
आफ्नै हातबाट फुस्किएजस्तो हो,
भविष्य ठप्प रोकिएजस्तो हो।
घर छुट्नु देश छुट्नु हो,
देश छुट्नु सर्वस्व छुट्नु हो।

