चुपचाप तैरिरहेका डुङ्गाहरू
तिलक राई
हावाको बेगले एकापट्टि हाने पछि
पानीको लहर जुरुक्कै उठेर
किनारसम्म जवानी पोख्न
हतार हतार आएर
मीठो स्पर्श गर्दै
जिउन सिकाएको हजारौँ वर्ष भयो।
किनार वरिपरि हेर्दा लाग्छ
यिनै पानीमाथि दगुर्दा दगुर्दै
जवानीको रङ्ग उडेर
सेताम्मे हिमालको ताज
बढ्दो तापक्रमको गर्भमा बिलाएसरि
बिलाउँदै बिलाउँदै किल्लाहरू छुटे पछि
बिस्तारै सतह छोडेर
गहिराइको गर्भमा डुङ्गाहरू
विश्राम लिन पुगेका छन्
अनि चुपचाप मौनतामा
एकनास भनिरहेका छन् –
मेरो वर्षौँको मूल्याङ्कन गर
र
एक पल्ट किनार चुम्ने अवसर प्रदान गर ।
कब्जा जमाएर डुङ्गाहरू
रमाउँदै छिल्लिएर
यता उता दगुर्दा दगुर्दै
लाखौँ यात्रीलाई गन्तव्यमा पुराए
वारिपट्टि पाखैभरि
प्रगतिको फूल ढकमक्क फुल्यो
गगनभरको तारा मण्डल छरिए
साँचै हेर्दै रमाइलो
तर पारिपट्टि गुरूङ्ग गाउँ
अभावग्रस्त सुसेली सुस्केरी रहेछ
कानैमा मालिकहरूको ।
आखिर डुङ्गा पनि गर्व गर्छ
गुरूङ्ग गाउँको दुख बोक्दा
त्यसैले त
सडक बिस्तारमा षड्यन्त्र गर्छ
सम्पर्क सुधारमा कन्जुस्याइँ गर्छ
पानीको घनत्व इन्कार्दै
अवैज्ञानिक काठे डुङ्गा नै
सुलभ घोषणा गरेर
जन जीवनलाई बाध्य पारी पारी
वर्षौँदेखिको आफ्नो बिवस्था भुलिकन
फेवातालमा निरन्तर छन्
चुपचाप तैरिरहेका डुङ्गाहरू ।