छापामार ‘लिक्त्ते’
भुवन क्षेत्री
अमेरिका
लिक्त्तेले भूटानी शरणार्थी शिविर बेलडागी–२ विस्तारितको मेरी गोल्ड एकामेडीबाट कक्षा सातसम्म पढेको थियो । पढाइमा निकै पछाडि परेकोकाले ऊ आफ्नो देशलाई चटक्कै माया मारेर शिविरबाट बाहिरिने खोजीमा थियो । अध्ययनमा खासै ध्यान दिनु नपरेपछि एकपछि अर्को बहानाबाजी बनाएर दैनिकरूपमा हुने स्थानीय राजनैतिक माहोलदेखि धाँधली चोकसम्म सम्लग्न हुन थाल्यो ।
त्योताका नेपाली भूमिमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी – माओवादी र सत्तापक्षविच गृहयुद्घ चर्किएको थियो । धाँधली चोकमा राम्रै चुट्न थालेको लिक्त्तेले स्थानीय क्षेत्रका केही नेपाली छापामारहरूसंग आफ्नो ठुटेबुचे सम्बन्धलाई विस्तार पनि गरेको थियो । तिनै छापामारहरूले उपलब्ध गराएका केही कम्युनिस्ट पुस्तक पनि उसले पढ्ने मौका पायो । तिनै छापामारको संगतीले गर्दा केही हप्तामा नै लिक्त्तेले आफूलाई एक कम्युनिस्ट विचारधारक युवा भएको घोषणा पनि गरिहाल्यो ।
केही महिना पछि नेपाली गृहयुद्घले सकारात्मक मोड लियो, युद्घ विरामको घोषणासंगै सबै हत्या–हिंसाका गतिविधि बन्द भए । भूमिगत जीवनबाट फुर्सद पाएका नेपाली छापामारहरूले भूटानमा पनि जनयुद्घको थालनी गर्नमा भौतिक र आर्थिक सहयोग गर्ने कुरा लिएर शरणार्थी शिविर आउँदा उनीहरूको नजरमा लिक्त्ते र उसका केही साथीहरू ती नेपाली छापामारको पूर्व नजरमा थिए । सोचेजस्तै पनि भयो । बिस्तारै भूटान कम्युनिस्ट पार्टी – मालेमाको घोषण भयो । मौकामा चौका छोपेर लिक्त्ते पनि त्यही पार्टीको पूर्णकालिन सदस्य भयो ।
पार्टीको सञ्चार तथा सांगठनिक विस्तार शाखाको इन्चार्ज भएको आधारहीन दाबी गर्दै शरणार्थी शिविर आसपासका क्षेत्रहुँदै शिविरबाट बाहिरेर विभिन्न ठाँउमा शिक्षण पेसामा सम्लग्न भूटानीमाझ पनि कडारूपमा पस्तुत हुँदै पार्टीका नाममा चन्दा उठाउन थाल्यो । ‘प्रवीण’, ‘प्रभाकर’, ‘जनादेश’ आदिका थरीथरी भूमिगत नाममा उपस्थित हुने लिक्त्तेले बिस्तारै आफ्नो जीवनशैली र गेटअप पनि समय सुहाउँदो परिवर्तन ल्याउन थाल्यो । शिविरमा छँदा प्रायजसो एउटै पोसाकमा देखिने गरेको लिक्त्ते बिस्तारै नयाँ–नयाँ जिन्स पाइन्ट र टी–सट्मा उपस्थित हुन थाल्यो । वियर, रोयल स्ट्याग तथा एन्टीक्यूटी, माछाफ्राई अनि भौंसीको सुकुटी पनि भ्याउन थाल्यो । तत्कालीन मेरो मोबाइलका फेरी–फेरी सिमकाड पनि बोक्न थाल्यो । ठाउँ–ठाउँमा हुने कोठे भेलामा प्रमुख अतिथि हुने मात्र भ्याएन, काठमाण्डौ पुगेर भूटान समाचार सेवाले सञ्चालन गरेको ‘शरणार्थी सरोकार’ रेडियो कार्यक्रममा अन्तरवार्ता पनि दिन भ्यायो ।
भूटानी शिक्षकहरूको दरिलो पकड भएका काठमान्डौ, विराटनगर लगायतका क्षेत्रहरूमा लिक्त्ते लगायतका छापामारहरूले जबरजस्ती रूपमा उठाएका चन्दाको खोजी हुन थाले पछि उनीहरू केही महिना उनीहरूको गतिविधिमा अलिक सुस्त भए । मोटो रकम बोकेर उनीहरू बिस्तारै शिविरतिरै फर्किए । अनि पढाइ छुटाएका वा पढाइबाट सदाकालागि मुक्त हुन खोज्ने युवाहरूको खोजीमा लागे । जनशक्ति उक्साउने गतिविधिमा लिक्त्ते अग्रपंतिमा नै थियो । भूटानमा जनयुद्घको थालनी गर्ने निहुँमा नवआगन्तुक छापामारहरूलाई भूमिगतरूपमा आयोजना गरिएका विभिन्न गोष्ठीमा पनि ऊ निकै सक्रिय भयो । त्यतीमात्र हैन भूटान गएर जनयुद्घको थालनी गर्नेसम्म पनि उसले अठोट ग–यो ।
केही महिना पछि लिक्त्ते सम्पर्कबाट हरायो । मैले उसको गतिविधिमा कडा निग्रानी राखेको थिएँ । एउटा छापामारको जथ्था लिएर भारततिर लागेको कुरा बिस्तारै पत्ता लाग्यो। उसको सम्पर्क मोबाइल नम्बर पनि फेला पर्यो । म आँफै भारतको दार्जेलिङमा बस्नेभएकाले लिक्त्तेसंग सम्पर्क आउन कुनै ठुलो कुरा थिएन । दसैँ–तिहार सकेर म भारत फर्कीएर लिक्त्तेलाई सम्पर्क गरेँ । पंजाबको चन्डिगढ पुगेको रहेछ। बिचरा कहाँ भूटान पस्न सकेछ र । उसकै भनाइलाई आधार मान्ने हो भने १०–१५ जना छापामारको एउटा जथ्था भने भूटान छिरिसकेको रहेछ । लिक्त्ते भने आर्थिक सहयोग जुटाउन भारतका विभिन्न ठाउँमा व्यस्त नै रहेछ । केही दिनपछि उसको मोबाइन लागेन, नम्बर परिवर्तन गरेको कम्प्युटरको आवाज पो आयो ।
त्यसको ठिक तीन सातापछि भूटानको मुखपत्र क्यून्सेलमा एउटा समाचार आयो । लिक्त्तेले भूटान छिरेका भनिएका छापामारहरू राज्यशत्ताको नियन्त्रणमा परेको क्यून्सेलमा प्रकाशित समाचारका आधारमा मैले व्यक्तिगतरूपमा चिनेका केही छिमेकी भाइहरू पनि माओवादी छापामारकोरूपमा पक्राउ परेका रहेछन् । उनीहरूको टीठलाग्दो परिस्थिति देखेर मलाई धेरै दया लाग्यो । आखिर समातिनु पनि त अर्कै थियो, निर्दोषहरू परे तानाशाहको पंजामा । त्यसपछि लिक्त्ते निकै लामो समयसम्म शिविरको सम्पर्कमा आएन ।
अर्को वर्षको तिहारको मौका छोपेर म पनि शिविर आएँ । शिविरमा हुने देउसी–भैली कार्याक्रमहरू मलाई सानै उमेरदेखि खुबै रमाइलो लाग्ने । साँझ परे पछि विभिन्न सेक्टरमा हुने त्यस्ता गतिविधि हेर्न म एक साँझ बेलडागी–२ को सेक्टर डीमा पुगेँ । त्यहाँ एउटा विशाल देउसी–भैलीको कार्यक्रम आयोजना गरिएको रहेछ । ठुलो भिडको माझमा उभिएर त्यो कार्यक्रमबाट आनन्द लिन म निकै आतुर भएँ । मेरो हातमा त्यस्ता कार्यक्रमहारूलाई कैद गर्ने एउटा डिजिटल क्यामरा पनि थियो । कार्यक्रम हेर्ने सिलसिलामा मैले एउटा तस्वीर लिने प्रयास गरेँ । रात्रिको समय भएकोले क्यामराको फ्ल्यासले निकै उज्यालो छर्यो । सबैको नजर म तिरै पर्यो।
मेरो तस्वीर खिचाइले गर्दा त्यहाँ एउटा अर्कै किसिमको परस्थितिको सृजना भयो । ‘त्यो क्यामारा चलाउनेलाई नियन्त्रणमा लिन म स्वयंसेवकसाथीहरूलाई आग्रह गर्दछु,’ परिचित लिक्त्तेको आवाज ठम्याउन नसक्ने ठाउँबाट माइकमा आयो । छापामारहरूले मलाई क्षणभरमै घेराबन्दीमा पारे| उनीहरूको कार्यक्रम बन्द भयो । सार्वजनिक कार्यक्रमको तस्वीर लिन मलाई कुनै नियमले नरोक्ने हुँदा उनीहरूसँग डराउने कुरै थिएन । मैले छापामारहरूसंग कुनै किसिमको कुरा नगर्ने निर्णय गरेँ । उनीहरूको हाकिमलाई बोलाउने आदेश जारी गरेँ । मेरो ठुलो धम्की सुनेर छापामारहरू बिस्तारै पछाडि हटे । इन्चार्जको रूपमा लिक्त्ते मेरो सामु उपिस्थित भयो । मेरो नजिक आएर मेरो अनुहारतिर टर्च लगाएर हे–यो । मुसुक्क हास्तै भयो, ‘माफ गर्नु होला, यहाँ आएको हामीले थाहै पाएनौ । अगाडी आएर बस्नु भए हुन्छ नि सर ।’ लिक्त्ते फिर्ता गयो । त्यसपछि उनीहरूको कार्यक्रममा मेरो उपस्थिति भएको घोषण ग–यो। अगाडी मञ्चमा आएर अतिथिको आसन ग्रहण गर्न पनि निम्ता ग–यो । लिक्त्तेको शुभचिन्तक बनेर म पनि मञ्चमा गएर बसें। आफ्नो तस्वीर खिच्ने गतिविधिलाई विना रोक जारी राखेँ ।
त्यसको केही समय पछि पुर्नवास कार्यक्रम अन्तर्गत शरणार्थीहरूले भटाभट फारम भर्नथाले । त्यसपछि फारम भर्ने वा पुनर्वासका पक्षधर शरणार्थीहरूको पिछा गर्नतिर लिक्त्ते लाग्यो । छाप्रोमा ढुंगा हान्ने देखि फारम भरेका वा तेस्रो देश प्रस्थान गर्न लागेकालाई धम्क्याएर पैसा बुटुल्न मात्र हैन बाङ्गे बजारका मनिट्रान्फर देखि टेलिफोन बुथमा निग्रानी पनि राख्न थाल्यो । त्यही समयमा मेरो पनि अमेरिका आउने सबै प्रक्रिया पूरा भयो। म विना रोकछेक बाटो लागें । लिक्त्तेले भने आफ्नो गतिविधि जारी नै राख्यो ।
अमेरिका आएको साढे पाँच वर्षपछि गएको साता लिक्त्तेसंग गएको महिना भर्जिनिएको एउटा भूटानी किराना पसलको बाहिर एक्कासि भेट भयो । शिविरको बाङ्गे बजारमा प्रसस्त रूपमा विक्रि हुने छ वटा खल्तिभएको निलो हाफप्यान्ट र ड्रुक लेखेको टिसट र फिता चप्लीमा खडा भएको लिक्त्ते धमाधम पान चपाइरहेको अवस्थामा थियो । पान खाएर राता दाँतमा मलाई भेटदा उसको हंषले ठाउँ छोडे जस्तो भयो । कुकर्म गरेको मनु यमाराज सामु पर्दा जस्तो अवस्था हुन्छ लिक्त्तेलाई पनि मैले त्यही पस्थितिमा पाएँ । ‘अनि तपाईँ कसरी यहाँ?’ मैले उसलाइै प्रश्न गरेँ । ‘के गर्नु सर सबै बाटो लागे । तपाईँ हिनेको दुई वर्ष पछि त म पनि बाटो लागि हाँले नि,’ उसले उत्तर दियो । ‘सबै भन्नाले साधारण शरणार्थी की तपाईका नेताहरू? अनि ती भूटानका जेलमा रहेका साथीहरू नि?’ मैले फेरी सोधें । ‘सर पनि जिस्कनु हुन्छ । बरु तपाईँ कुन स्टेटमा हुनुहुन्छ?’ लिक्त्ते रातोपिरो भयो तर मेरो प्रश्नको उत्तर दिन चाहेन । मैले उसको प्रश्नको उत्तर घुमाउरो पारामा दिएँ ।
पछि, एक जना आफन्तले मलाई जानकारी दिए लिक्त्ते धमाधम एउटा कम्पनीमा दैनिक आठधन्टे काममा लागेको छ भनेर । प्रायजसो दैनिरूपमा कामबाट फर्कदा चार–पाँच खिलि पानखानलाई त्यही किराना पसलमा आउने गरेको रहेछ । देश हाँक्ने लक्ष बोकेको लिक्त्तेलाई अमेरिको बसाई उसले नेपालमा सहज तरिकाले विताए जस्तो छैन भन्ने त पक्कै लागेकै होला । बकम्फसे धम्कीबाट आर्जेका सुख मात्र हैन उसकै उक्सावटको कारणले भूटानका जेलका अँध्यारा कोठामा जीवन विताइराखेका उसका समकालीन भूटानीहरूप्रति पनि उसको ध्यान जान्छ कि जान्न? यो कुरा अर्को भेटमा सोध्ने छु ।