छाल र किनार
डिल्लिराम रेग्मी
ओहायो, अमेरिका
उसलाई यो थाहा नभएको होइन
म अज्ञानी भएको पनि होइन
उसलाई यहाँ आउनासाथ घिसारेर लगिन्छ
सायद उसको र मेरो सामीप्य सहन हुँदैन अरूलाई।
दुनियाँको ईर्ष्यालाई बेवास्ता गरी
फेरि पनि उ ममा ह्वात्त पोखिन्छे
र भोलि फेरि भेट्न आउने बाचा गर्छे
म विश्वस्त छु उ मसँग हरदम रहन्न
तरै पनि म हरेक बिहान उसैलाई पर्खिरहेको हुन्छु।
म उसलाई भन्छु- आऊ अँगालोमा
फेरि आएर जानको लागि आऊ
एकै छिन आऊ, रिसाएरै भए पनि आऊ
मेरो अनुरोधलाई टाल्न नसकी
ऊ आउँछे, एक छिन बस्छे
अनि मेरो सर्वाङ्ग लुटाएर फेरि विलीन हुन्छे
यो, उसको र मेरो
एक अर्कालाई भेट्ने बाचा
जुन र घामको जस्तै मात्र रहेछ…