जीवन
भरत तिम्सिना
प्यान्सिल्भिन्या, अमेरिका
वसन्त जस्तो हुन्छ
नवीन पल्लव पालुवाहरू
लता वृक्षमा पाउलिन्छन्
दिनका चहकिला दिवाकर र
रातका चम्किला जुन-ताराहरूले
तरह-तरहका फूलहरुमा
सौन्दर्यता एवं रसरङ्ग भरिदिन्छन्
हरियाली र सिरिरी चल्ने हावाले
हर्ष, उमङ्ग, आनन्द ल्याइदिन्छ
कोइली सरि प्रीतको
गीत गाउँ लाग्छ
पुतली झैँ पुष्पहरू सँग
मित लाऊँ लाग्छ
सुख, सन्तुष्टि, सम्पूर्णताको अनुभूति हुन्छ
यो क्षणिक अनि अनिश्चित क्षणमा
त्यो मुहारमा बादल लाग्न नदिनु ।
कहिले जीवन
ग्रिष्म जस्तो हुन्छ
घामको तातो रापले निधार,
पोलेको आलु जस्तो हुन्छ
हिँड्ने धर्ती देखि लिएर
सास फेर्ने बतास पोल्छन्
आफूलाई कसैले चितामा
जिउँदै जलाउँदै गरेको आभास हुन्छ
शितलताको अभाव हुन्छ
तिमी दिमागलाई गरम नपार्नु।कहिले जीवन
वर्षा जस्तो हुन्छ
घरको गारो भत्किन्छ
टुप्पीमा छानो चुहिन्छ
भित्ताबाट छिरेका
पानीका बाछीट्टाले
अगेनोको आगो निभाई दिन्छ
घरको आँगन नरमाइलो लाग्छ
त्यही बेला आफ्ना आफन्त
छर-छिमेकी टाढिन्छन्
दीन, दरिद्र भएको अनुभव हुन्छ
तिमी आँखाबाट आँसु
एकै थोपा खस्न नदिनु।
कहिले जीवन
शरद् जस्तो हुन्छ
न धेरै गर्मी, न जाडो हुन्छ
वर्षात्, भेल-बाढी रोकिन्छन्
आकाश निलो भई उघ्रन्छ
वातावरणको सुन्दरता देखेरे
घर-आँगनको श्रृंगार गरौँ लाग्छ
पुराना पहिरन परिवर्तन गरौँ लाग्छ
अनि, पुनः आफन्तहरू नजिकिन्छन्
एक आपसमा आत्मियता बाँडिन्छन्
तिमी, हिजो तिनीहरू
दुखमा देखा परेनन् भनेर
आफ्नो न्यानोपन नगुमाउनु
ती सुन्दर श्रृंगारहरुमा
घृणता र गंदगी ननिम्त्याउनु।
कहिले जीवन
हेमन्त जस्तो हुन्छ
हरियाली आँखै अगाडी हराउँछन्
वरपर सबैतिर उझाड हुन्छ
पानीका मुहानहरू सुक्छन्
तातो बतासको बहावले
खडेरीको धुलो, चुलोमा ल्याइदिन्छ
सास फेर्न गाह्रो हुन्छ
झरेका रुखका पातहरू झैँ
झरेर अगाडी, आफ्नै आकांक्षाहरु
सुक्दै गरेको देखिन्छ
अनि कसैले त्यसमाथि
डढेलो लगाइदिन्छ
जिन्दगी मरुभूमि जस्तो,
सुख्खा भएको महसुस हुन्छ
तिमी सल्लाको रुखले
त्यसका पातहरूलाई झैँ
तिम्रा भरोसाहरू खस्न नदिनु।
कहिले जीवन
शिशिर जस्तो हुन्छ
जाडोले हड्डी कठ्याँग्रीन्छन्
वरपर सब्थोक् चिसा हुनछन
दिन अति धेरै लामो लाग्छ
कतै हिंन्डुल गर्न मन लाग्दैन
सर्व संसार सुनसान लाग्छ
न्यानोपनको अभाव हुन्छ
तिमी उदास नहुनु
मनमा हुस्सु लाग्न नदिनु।।