जीवन यात्रा

जय हुमागाईँ
क्यानाडा

बितेको जीवन बगेको पानी कहाँ फेरि फर्कन्छ
सरक्क आउँछ घाम जस्तो छाउँछ हिउँ सरि बिलाउँछ
जानु छ कहाँ?कर्तव्य के हो? खटन छ ईश्वरको
अतृप्त प्यास मिथ्याको रहर बागडोर उसैको।

असहज जीवन कठिन यात्रा झुट्टो छ चौतारी
शीतल हावा मायाको छाम्या गुराँस झैँ दौँतरी
सुख र दुःख घाम र पानी केही छैन बराबर
आखिर एकदिन् छोडेर जान्छ घर र परिवार।

सलल पानी बगेर आउँदा खोला र छहरा
पानी नै नभए त्यो खोला होइन बगर र फहरा
दिन सके आफन्त धेरै माया र ममता
केही दिन नभए नाता न गोता बिराना आफन्त।

छोटो छ जीवन लामो छ यात्रा कहाँ होला पुग्ने ठाउँ?
बाटो न घाटो नदेख्या ठाउँ साथमा के लाने?
आपत् र बिपत परिआएमा के होला त्यहाँ गर्ने?
अन्न र पानी भोक र प्यास के गरी छ मेटने?

अन्न र जल पेटलाई पाल्दै यसै नै घुम्नु छ
माया र मोह घर बहार जोड्दै केही दिन रम्नु छ
यात्रामा कहिले थकाई छैन ढिलाइ न छिटाई
कुन दिन पुग्छ गन्तव्य कहाँ देखाई न लेखाई।

सुस्त सुस्त बित्तै छ जीवन नगर्नु अहम्
न नासिने जस्तो गरेर कहिले नपर्नु भरमा
सपना सरि छाम्या र माया दुई दिने चोलामा
तस्बिर रहन्छ भित्तामा अनि शरीर चैँ खोलामा।

टपक्क लान्छ कसरी जान्छ रुँदै की हाँस्दै छ ?
हातमा समाई डोरिया उदै लान्छ या लान्छ घिसार्छ ?
जाने की नजाने भनेर कहिले सोध् छ की सोद्दैन?
परिचय पत्र के त्यस्तो दिन्छ ?बाटामा छेक्दैन।

पुगेर कहिले के कस्तो ?भनी सन्देश भेज्दैन
के गरी पुग्यो कति दिन लाग्यो ?त्यो पनि भन्दैन
के गर्दै होलान् ?घरमा भनी त्यो चिन्ता लिँदैन
आफन्त भेट्ने संसारको माया त्यो अब चिन्दैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *