‘जीवन विज्ञान’का एल. पी. भानु शर्माद्वारा क्षमा याचना
अगस्त ६, २०२२ मा अमेरिकाको पिट्सबर्ग सहरमा ॐकार परिवारद्वारा आयोजित खुशी रहने कला (Art of Happiness) विषयक कार्यक्रममा भुटानी समुदायप्रति लक्षित गरी प्रयोग भएका अवाञ्छित शब्दहरूप्रति प्रशिक्षक एल. पी. भानु शर्माले विज्ञप्तिमार्फत दुःख व्यक्त गरेका छन् । उनका स्वकीय सचिव किरण रूपाखेतीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ “उक्त कार्यक्रममा प्रसङ्गवश व्यक्त भएका केही शब्दहरूले केही व्यक्ति वा समुदायको भावनामा ठेस पुगेकोप्रति श्री गुरुदेवद्वारा दुःख व्यक्त भएको ब्योहोरा जानकारी गराउँदछु ।”
विज्ञप्तिमा श्री एल.पी.भानु शर्मा संसारभर रहेका सबै समुदाय र धर्म-सम्प्रदायहरुपति सकारात्मक रही मानव जातिकै सामुहिक अभ्युदयको महत् कार्यमा आजीवन संलग्न रहेका पनि उल्लेख छ ।

कार्यक्रमकै समयमा भुटानी समाजका केही प्रबुद्ध वर्गले जीवन विज्ञान–नेपालका एल. पी. भानु शर्माले प्रकट गरेका शब्दहरूप्रति आपत्ति जनाउँदै भुटानी समाजको संवेदनशीलता नबुझी अभिव्यक्त हुने यस्ता विचारले भुटानीहरूको ऐतिहासिक पृष्ठभूमि, न्यायप्राप्तिको लडाइँ र सामाजिक प्रतिष्ठाप्रति गहिरो चोट पुगेको भनी यथाशीघ्र क्षमा माग्न आह्वान गरेका थिए ।
यसै विषयलाई लिएर भुटानी समाजका अग्रज पत्रकार-लेखक भक्त घिमिरेले केही हप्ताअघि “विगत बिर्साउने स्याल’को कथा” शीर्षकीय आलेख प्रकाशित गरेर ‘गुरु’द्वारा व्यक्त ‘पुराना कुरा सम्झिनेहरू मरेका स्याल सरह’ भन्ने उक्तिको खण्डन गरेका थिए ।
“राज्यको निरङ्कुशताले बलजफ्ती देश निष्कासनमा परेका भुटानीहरूले इतिहास बिर्सिने कुरा हुनै सक्तैन ! एउटा सिंगो समुदायलाई देशबाट उखेलेर राष्ट्रविहीन बनाउने पीडकहरुको चलखेलतर्फ नजाँनिदो हिसाबले टेवा पुऱ्याउने अभिव्यक्ति दिँदै योगप्रचारक एल.पी.भानु शर्माले ‘उच्चतम मानवीय मूल्यको विषयलाई यसरी मरेको स्यालसँग’ किन तुलना गरे” भनेर घिमिरेले सो लेखमा प्रश्नसमेत उठाएका थिए !
(श्री घिमिरेको आलेखः http://bhutaneseliterature.com/archives/29433)
(क्षमा याचना गरिएको विज्ञप्तिः Apology Letter from Jeevan Vigyan)
सकारात्मक
यिनी एल पि भानु भनौ वा “स्वर्भानु” जे भनिए पनि यिनका भविष्यका कार्यक्रम बहिस्कार गर्नु जरुरी हुन्छ।वास्तबमा यो क्षमायाचना पनि भविष्यमा $ खेती संरक्षणार्थ गरिएको बुझ्न कुनै बौधकता यसकारण पनि चाहिॅदैन कि निजले गरेको गल्ति तत्काल किन महशूस गरेनन्? र बिरोध ले उचाई लिई सके पछि किन गरे भन्ने कुरा निजका आसेपाने र दरिद्र मानसिकता भएका र छत्रछाया बाट केही रोजीरोटीको वा नामदामका पीछलग्गु बाहेक सबैले बुझीसकेको छ