डेन्जोम साम्पाङसंग रमेश गौतम

Norway
Founder and Managing Editor - Bhutaneseliterature.com
Publication Director - Literature Council of Bhutan

डेन्जोम साम्पाङ लामो समयदेखि कलम चलाउँदै आएका भूटानी स्रष्टा हुन्। साहित्यलाई मन र मस्तिष्कको फ्युजन मान्ने साम्पाङको भर्खरै स्वीकारोक्ति नामक एउटा साहित्यिक सिद्धान्तको पुस्तक बजारमा आएको  छ। स्वीकारोक्ति एउटा साहित्यिक अभियान पनि हो। धरानमा बसेर प्राध्यापन पेसा अंगालेका साम्पाङ पछिल्लो समय स्वीकारोक्ति कै परिधिमा रहेर विभिन्न विचारगोष्ठी र सभा-सम्मेलनहरुमा व्यस्त छन्। तिनै स्रष्टा डेन्जोम साम्पाङसंग भूटानी साहित्य डट कमका रमेश गौतमले गरेको कुराकानीको अंश यहाँ प्रस्तुत छ-

साहित्यकार साम्पाङ
साहित्यकार साम्पाङ

अजकल के गर्दै हुनुहुन्छ?
अध्ययन अनुसन्धान, स्वीकारोक्तिको निम्ति बहस कार्यक्रम मिलाउने र दोस्रो संस्करण निकल्ने तयारी गर्दै छु | त्यसको निम्ति प्रतिक्रिया र सल्लाह सुझाव लिने कार्य भैरहेछ तर समयले पो कतिको साथ दिने हो।

लामो समयदेखि साहित्यमा लागिरहनु भएको छ। किन लेख्नु हुन्छ?
साहित्य र कला समाजको आवश्यकता हो त्यसैले लेख्ने गर्छु कहिलेकाहीँ।

साहित्यमा लाग्ने प्रेरणा कहाँबाट पाउनु भयो?
मेरो पिता

समकालीन भूटानी नेपाली साहित्यको स्तर कस्तो छ जस्तो लाग्छ? 
वास्तबमा साहित्यमा स्तर हुन्छ भन्ने लाग्दैन मलाई।  तर म बाँचेको परिस्थितिले, म माटोबिना उभेको पलहरुले स्तर हुन्छ भनेर गएको छ। आज त्यही स्तरलाई खोजिरहेछु।

साहित्यको स्तर केले मापन गर्ने?
मैंले इमान्दारिता साथ भन्नु पर्छ स्तर के ले मापन गर्छ थाहा छैन। स्तरको मापदण्डमा उभिएर म साहित्य लेख्दिन पनि। मलाई लाग्छ स्तरको निम्ति लेखियो भने साहित्य लेखिँदैन। मन र मस्तिष्कको फ्युजन हो साहित्य, सामाजिक प्रतिबिम्ब हो साहित्य, बिचारको सम्बाहक हो साहित्य, सभ्यताको प्रतिक हो साहित्य, अस्तित्वको पहिचान हो साहित्य। त्यसैले साहित्यको स्तर मापन गर्न मनको गहिराई, सभ्यताको उचाई, बिचारको चौडाई, अस्तित्वको मूल्य नाप्न सक्नु पर्छ पहिला। के कसैले मनको गहिराई यतिनै हो भनेर नाप्न सक्छ ? दमिनी भिरले मदन पुरस्कार प्राप्त गर्यो, त्यसैले म चाहन्छु कि स्तरको कारण नपाएको होस् बल्कि समयले मागेको विषय उठानको सान्दर्भिकताको निम्ति पाएको होस् यो पुरस्कार।

पुस्तकको अावरण
पुस्तकको अावरण

भर्खरै “स्वीकारोक्ति अस्तित्वहरुको न्यायिक सम्बोधन” नामक सिद्धानतको पुस्तक बजारमा ल्याउनु भएको छ। के हो “स्वोकारोक्ति”?
अस्वीकारको कारण पीडित, विश्व भरिका अस्तित्वहरूका निम्ति न्यायको माग हो स्वीकारोक्ति, संसार भरि शान्ति र निशर्त प्रेमको आव्हानको निम्ति चालिएको विशुद्ध जनचेतनामूलक अभियान हो स्वीकारोक्ति, सबैमा सकारात्मक सोच राखौं भन्ने आग्रह हो स्वीकारोक्ति।

पछिल्लो समय यसैको सेरोफेरोमा रहेर विभिन्न गोष्ठीहरुमा व्यस्त हुनुहुन्छ। सहभागीहरुको प्रतिक्रिया कस्तो पाउँदै हुनुहुन्छ?
‘स्वीकारोक्ति’ निर्विवादित विषयको उठान भएको हुँदा स्वाभाविक रूपमा सकारात्मक प्रतिकृय आइरहेकाछन् | उत्साहजनक प्रतिक्रियाहरुका कारण म थप प्रेरित र उत्साहित बनेको छु। विश्वभरिको साहित्य, घटना, इतिहास, व्यहवार, मनोविज्ञानलाई नियाल्दा के स्पष्ट हुन्छ भने ९०%भन्दा बेशी मानिसले आफूलाई स्विकरियोस् भन्ने चाहना राख्दछन्। त्यही चाहनाको सम्बोधन गरिदिएकोछ ‘स्वीकारोक्ति’ले। त्यसैले यो आज आम मानिसको इच्छको विषय बन्न सक्छ | तथापि यसमा कमजोरीहरु छन्।

नेपालबाहिरका पाठकहरुले तपाईँको पुस्तक कसरी पढ्न पाउने होला?
यस्को निम्ति पाठकले आफ्नो पुरा ठेगाना beldangiii@gmail.com/denzom_sampang@yahoo.com अथव देव लामा/कर्ण गुरुङसंग फेसबुकमा सम्भपर्क गरिदिनुभएमा हामी सो ठेगानामा पुराउने व्यवस्था गर्ने छौ।

अन्त्यमा हाम्रा पाठकहरुलाई के भन्न चाहनुहुन्छ?
आउनुहोस् हामी स्विकर्यभाव जागृत गरेर बाँचौ पहिचानको निम्ति, निशर्त प्रेमको निम्ति, शान्तिको निम्ति। र एक पल्ट, कृपया ‘स्वीकारोक्ति’ पढिदिनुहोस् | हजुरहरुको सानो सुझाव, सल्लाह, र समर्थनले ठूलो सकारात्मक परिवर्तन ल्याउनमा सहयोग पुग्छ, त्यसैले यसको अपेक्षा गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *