तकदिरको फल
नैन सिंग मगर
न्यू योर्क, अमेरिका
उद्यानभित्र एउटा फलैँचा छ । दाहिनेतिर जेनेसी खोलो छ । उत्तरतिर स्टोड. अस्पताल छ । समय बिहानको त्यस्तै सात बजेको छ । उद्यानको चारैतिर हरियाली वन, वनभित्र चराचुरूंगीका चिरबिर आवाजहरू । कोही कार पार्किड् गर्दैछन्, कोही साइकलमा खोलाको छेउ-छेउ दौडिरहेका छन् ।
(दौरासुरूवाल, नेपाली टोपी लगाएको वर्ष अन्दाजी बहत्तर (७२) हेर्दा भलाद्मी जस्तो देखिने व्यक्तिको प्रवेश)
कमल :- नमस्कार है बाजे ! भूटानमा चम्चा गरेर सुत्केरी बाख्रोले पनि पुगेन, नेपालमा आएर पनि दुनियाँका चामल, तेल, बाँस चोरेर अघाएन, आज यहॉ आएर खैरेको कार चोर्न लाग्यो कि क्या हो ? अब त काल आएको छ भने मात्र, यो त्यो नेपाल, भूटान होइन है बा ।
(झोकिदै, दॉत कटटट… टोक्दै दौरासुरूवाल, नेपाली टोपीमा सजिएको वर्ष ७० पुगेका फलैँचामा बसेर घाम तापिरहेको, पछाडिबाट नमस्कारको आवजसंगै चुत्थो वचन आएपछि फर्केर )
जनक :- ओए बाजे कसो अरे ? फेरि अघि निकालेको शब्द निकाल त …यही छडीले तिम्रो छाती फोरिन छु भने । मैले आजसम्म कसैका केही खाएको छैन बरु उल्टै दिएको छु ।
कमल :- (मुसुक्क हाँस्दै) सरी ! माफ दिनुहोस् है, त्यस्तै देखेर नि, भूर गाउँमा तपाईँ जस्तै चाम्चुसे थियो नि !
जनक :- हो, यस्तै शंकै शंकाले त यहॉसम्म आइपुग्नु परेको ।
कमल :- हो, हो बाजे……! होइन म भन्दा पनि वृद्ध देखेर बाजे भनेको फेरि मलाई नै बाजे भन्नुहुन्छ, तपाई कति वर्ष पुग्नुभयो त ?
जनक :- (सुरुवालको ईजार कस्दै मलिन हुँदै) म तीन कोरी र आधा ।
कमल :- ए’ म नै पो दुई वर्षले जेठो रहेछु, अनि अमेरिका आको कति भयो भाइ ?
जनक :- लाखे है दाइ……! अब अर्को हप्ताको सोमबार ट्याक्क पॉच पुगेर छ लाग्छ । आज भन्दा बाह्र सय पचास (१२५०) वर्ष अघि हाम्रा पुर्खाहरू ‘कस्याड्’ तिर कोही मङ्गोलियाबाट, कोही गङ्गा नदीको आसपासबाट बसाई आएका थिए भनेर मेरा हजुरबाका हजुरबाले ‘राड्भाड्को’ को झुलोमा चकमकद्वारा अनल सल्काउँदै भन्नुहुन्थ्यो अरे । हाम्रा हजुरबाहरू नेपाल देश नबन्दै भूटानतिर बसाई गएका रहेछन् ।
उक्त ‘कस्याड्’ नामक स्थान आजको नेपाल अन्तर्गत पर्दछ । नेपाल नबन्दै गएकाले, भूटान नबनी पुगेकाले, हामीलाई नेपालले पनि चिनेन, भूटानले पनि चिनेन अनि आज यहॉ आउनु पर्यो् । भूटान देशको नामाकरण भएपछि जेठा बाजे बर्मातिर, माहिला बाजे मणिपुरतिर, साहिँला बाजे सिक्किमतिर, र मेरा कान्छा बाजे चाहिँ सर्भाड् खार्पानी मै बस्नुभएछ । इतिहासमा ह्वाङ, मेसोपोटामिया, सिन्धुघाटी आदि स्थानलाई मानव विकासक्रममा उल्लेख गरिएको पाइन्छ ।
मेरी फुपूका छोराछोरीहरू झापामा हुनुहुन्छ नि तर के गर्नु र ? पत्तो पाएर भेट्न गएको थिएँ गोल्धाप शिविरमा आइकन, कसैले चिने भनेनन् ।
(पार्कमा गोरा, कालाहरू अङ्ग्रेजी गीतमा नाचिरहेका छन् । कोही कारभित्रै खाँदै गफगाफ गर्दैछन्, त्यही रमझमलाई अवलोकन गर्दै दाँतेफुली देखाउँदै बोल्छ )
कमल :- हेर ! यिनीहरूमा न पिर नै देखिन्छ, फेरि हामी जस्तो चोक्टा र लाम्टा पनि भएका छैनन्, त्यसैले त प्रफुल्ल छन् । ए’ अँ…… भाइ ! मेरा पनि हुनुहुन्छ आसाम गौहाटीमा काका, दाइ । मेरा परिवार लिएर कामक्ष माईको दर्शन गर्न गएका थियौँ । माईको दर्शन गरेर सोध्दै खोज्दै त्यहॉ पुगेका थियौँ उहॉहरूको घरमा “ तिमीहरू जे जस्तो पाकेको छ, खाएर जाओ’ भने । किन भने यहॉ रात बस्न सठीक छैन ।” त्यसपछि होटेलमा आएर बास बस्यौँ ।
जनक :- (कमलका आँखामा टुलुलुलु हेर्दै) मेरा बुबा तिन्चिलिङ्को बाटो खन्न जानु भएको थियो केही दिनमा खबर आयो “तिम्रो बुबा बाटो खन्ने क्रममा भिरबाट खस्नु भयो।”
त्यस दिनदेखि मलाई दु:ख आइपर्यो । बाबाका सम्पूर्ण व्यवहारहरू मैले सम्हालेँ । केही वर्षपछि मलाई पनि सूचना आयो बाटो खन्न जानु भनेर । सरकारको हुकुम फेरि आफ्नो देश पनि, भारत जस्तै चारैतिर बाटो बनाउने हाम्रो नरेशको इच्छा थियो । पुनखाको पोछु मोछुका बिचमा काम परेको थियो । “ दशा बाजा बजाएर आउँदैन भन्थे” हो रहेछ……,मेरो देब्रे हात ब्लास्टिन पड्काउँदा चुटाएर लग्यो, त्यस दिनदेखि म दुब्लाउँन थालेको हुँ दाइ ! अनि मलाई बाजे भनेर बोलाउनु भयो अघि ।
कमल :- झण्डै झण्डै मेरोमा मेल खॉदोरहेछ । म त अमेरिका नआउने भनेको थिएँ नि, छोराछोरीहरूले हुटहुटी लगाए । अहिले सबै काममा जान्छन्, म दिनभरि भित्ता हेरेर बसिरहन्छु, बाहिर निस्किसक्दा हराइ हालिन्छ, कुटाई खाई हालिन्छ ।
जनक :- (तर्से जस्तो गर्दै) हो नि हौ, घाम पनि माथि आई सकेछ अस्पताल जानुपर्नेछ, सुईले घोच्दा-घोच्दा गरेर रगत नै सकिसकेको छ, पाँच छ बदल तान्छन् कि न हो… ? भूटानतिर त औँलामा घोचेर दुई थोपा मात्र निकाल्थे । यस्तै एक हाते भए पनि सर्भाङ जोङ्ग निर्माण गर्दा एक महिनासम्म श्रम गरेको थिएँ, तर खेदिनु पर्योड । (घुँक्क घुँक्क गरेर रुन्छ) नेपालमा आएर पनि बस्न पाएनौँ, आखिरमा जसले पाल्यो उसैले ल्यायो । ठिकै छ, सिलिगुडीतिर हिँड्दा ढाका टोपी झोलामा लुकाउनु पर्थ्यो तर यहॉ लुकाउन परेको छैन । भूटानमा रहँदा कसैले जोड्खा पढ्ने रहर गरेनन् तर यहॉ चश्मा लगाई-लगाई पढ्दछन् । अब सुनिराख्नु दाइ, नेपाली बोल्न छाड्छन् है ।
कमल :- हो,मङ्गल ग्रहमै पुगेजस्तो भएको छ, तर जानु कहॉ……? कर्ममा के छ त्यो त भएरै छाड्छ I अनि भत्ता, हेर्ने मान्छे दिएको छ होला नि……?
जनक :- छ दाइ …., भत्ता पनि छ, हेर्ने मान्छे पनि छ । नातिकेटाले हेर्छ तर कति घण्टा छन्, कति छ भत्ता ? थाहा छैन, आफूले उल्टै हेर्नुपर्छ, सफासुघर खाना पकाउनसम्म सबै….। हेर्ने मान्छे सुतिरहन्छ, उठेपछि डुल्नु गाको राति आएर भात खोज्छ । यी लुगाहरू कान्छी छोरीले किनिदिएका अमेरिका आउनेबेलामा ।
अस्ति अस्ट्रेलियाबाट फेसटाइममा बसेका थियौँ, मलाई देखेर छोरी तिन छक्क पर्दै, “बाबा ! अझै लुगा फेर्नुभएको छैन ? भन्दैथिइ I अस्ति काहिँली मितआमासँग यसरी नै गफ भएको थियो । लुगा पनि राम्रा राम्रा फेरेका थिए, सुनले भरिभराउ हुनुहुन्थ्यो।”
साहिँलो छोरो क्यानडामा, जेठो नर्वेमा, र माहिलो डेनमार्कमा छन् । मेरो नाति पढ्न साह्रो अल्छी गर्छ । मेरै छिमेकमा म साहिँला भन्छु, उनका नानीहरू डाक्टर, पाइलट, आदि विषयमा पढ्दछन्, रातभरि सुत्दैनन् । मेरो नाति चाहिँ रातभरि फेसबुकमा गफ गर्छ, बिहे गर्न नेपाल जाने अरे ! सायद…… मेरो भत्ता त्यहॉ खर्च हुँदै होला । म त छक्क पर्छु, सपना पनि यहाँको देख्दिन, खालि भूटानमा धान काटिरहेको, शिविरमा दाल, चामल, थापिरहेको, सेक्टर हेट र प्रतिनिधिले सोझालाई मात्र काम लगाको देख्छु हौ।
(एउटी वर्ष एघारकी सटप्यान्टमा मुसुमुसु हाँस्दै प्रवेश गर्छे )
कमला :- हजुरबा ! हजुरबा…! म त कहॉ हुनुहुन्छ होला भनेर लुकिड् गर्दा गर्दा हैरान भएँ । फुट इट गर्न जानुहोस् अरे ! ममले इन्फर्म गर्नुभएको छ ।
जनक :- (छक्क पर्दै) होइन यो के भन्छे फुट इट गर्न..! जानु कहॉ…?
कमला :- (मस्किँदै) हाउसमा हजुरबा…. ।
जनक :- फेरि हाउसमा भन्छे यो………….!
कमल :- भाइ ! फुट इट भनेको भात खानु अनि हाउस भनेको घर । नातिनीले घरमा भात खान जानुहोस् भनेको पो त !
जनक :- (रिससँगै हाँस्दै) हो र…..! भाषा नजान्नु पनि गाह्रो रहेछ दाइ । गीता, रामायण, त साह्रै पढ्थेँ कुखुराको डाकमा उति बेला । अब मर्दा पर्दा पनि अङ्ग्रेजी भाषा नै प्रयोग गरेर पितृहरूलाई यी केटाकेटीहरूले बोलाउँछन् होला, दिन्छन् होला । बुझे पो आइन्छ होला नबुझे भोकै त होला नि…. ! चिहान घारीमा पनि सबै अङ्ग्रेजी बोल्नेहरू मात्र छन् होला ! अब म त बोल्न जान्दिन, मरेपछि पनि तिनीहरूद्वारा कुटाई खाइन्छ होला जस्तो लाग्न थाल्यो । अहिले दाइ, तपाईँ यहॉ नभइदिएको भए, नातिनी र मेरो कुटाकुट भइसकेको । अब सात वर्षपछि भत्ता नदिने अरे , पत्र आएको कुरो नातिले सुनाएको थियो । सातवर्षदेखि नातिको नेपाल जाने सपना पनि चकनाचुर हुने भो, अनि म पनि नबोल्ने गाउँतिर भएँ !
(पर्दा खस्छ ।)