‘हजार जुनीसम्म’ कसलाई खोजेका होलान् ?
‘अमेरिका पसेका भूटानीहरुलाई मोदीको सन्देश’
भक्त घिमिरे
पेन्सिलभेनिया/अमेरिका
यदि मोदीले हामीलाई शुभकामना पठाएकै हुन् भने चामलिङ दाजु, उहाँलाई हाम्रो तर्फबाट पनि यो सन्देश सुनाइदिनु होला, हामी अमेरिका आएका भूटानीहरुलाई मात्र शुभकामना दिएर भारतका प्रधानमन्त्रीको हामीप्रतिको दायित्व पूरा हुँदैन । भूटानीहरुलाई शुभकामना दिन नरेन्द्र मोदीले झापाका शरणार्थी शिविरमा जानुपर्छ । त्यहाँ अलपत्र रहेका शरणार्थीहरुको स्वदेश फिर्ने चाहनालाई विश्वको विशाल प्रजातान्त्रिक मुलुकको प्रधामन्त्रीको हैसियतमा सम्बोधन गर्न, मोदीले पहल गर्नुपर्छ । त्यसपछि हामी सदैव नरेन्द्र मोदीप्रति ऋणि रहनेछौं । हाम्रो इतिहासले उनलाई बार-बार सलाम गरिरहनेछ ।
उनी एउटा पात्रलाई खोजीरहेका थिए । शायद अझै पनि खोजीरहेकै छन् । भेटे वा भेटेनन् सोध्न समय मिलेको छैन । यसरी त्यो अज्ञात पात्र खोज्ने को रहेछ भनेर पाठकहरु अल्मल पर्नुहोला ! नअल्मलिनुहोस् । पहिलो चरण उदय सोताङ र दोस्रो चरणमा आयुस केसीले गाएको ‘हजार जुनीसम्म खोजी बसें तिमीलाई…’ गीत यहाँहरुले पनि सुन्नुभएकै होला ! सो गीतका सर्जक हुन् पवन चामलिङ ‘किरण’ ।
जुलाई महिनाको अन्तिम शुक्रवार, अमेरिकाको ह्यारिसबर्ग महानगरमा आयोजित एउटा साहित्यिक भेलामा प्रमुख अतिथिका रूपमा उपस्थित थिए पवन चामलिङ । मेरो आफ्नै शहरमा आयोजित साहित्यिक कार्यक्रममा उनी प्रमुख अतिथि भए पनि समयको परिबन्दले भेट्न पाएको छुइनँ । भेट्न सम्भव भएमा स्पर्श र आवाजले स्वागत जनाउँला, सम्भवै नभए यिनै शब्दहरुमार्फत उनलाई स्वागत जनाएँ !
यसरी एउटा ऐतिहासिक सर्जकलाई शब्दहरुमार्फत स्वागत जनाउँदै गर्दा म एउटा कुराले द्विविधामा परेको छु । अघि नै मैले पाठकहरुलाई नअल्मलिन अनुरोध त गरें तर, आफैं असमञ्जसमा परेको लेखकले पाठकलाई नअल्मलिन अनुरोध गरिरहँदा थप अचम्म हुनसक्छ ! यसर्थ मेरो असमञ्जसताको व्याख्या गरिहालौं । म द्विविधाग्रस्त हुनुको प्रश्न के भने- यी प्रमुख अतिथि शब्दसिर्जनाका स्रोत पवन चामलिङ ‘किरण’ हुन् कि सिक्किमका पूर्वमुख्यमन्त्री पवनकुमार चामलिङ हुन् !
यहाँहरुले भन्नुहोला, सर्जक पवन चामलिङ ‘किरण’ र पूर्वमुख्यमन्त्री पवनकुमार चामलिङ एउटै व्यक्तिको नाम हो । अहँ होइन ! भौतिक दृश्यमा शरीर एउटै भए पनि उनलाई चिन्ने दृष्टिकोणमा उनका व्यक्तित्वहरु अलग छन् ।
संक्षेपमा माथि नै उनका व्यक्तित्वको लक्षणा मैले बताइसकेको छु । एउटा व्यक्तित्वमा उनी ‘प्रारम्भिक कविताहरु’, ‘अन्तहीन सपनाः मेरो बिपना’, ‘म को हुँ’ (कवितासंग्रह), ‘दामथाङः हिजो र आज’ (अभिलेखसंग्रह)-का सर्जक/उत्पादक हुन् ! उनी मानवीय संवेदनाका कवि हुन् ।
‘ब्रह्रमपुत्र र कामाख्या पुगेर आफैंलाई हेर्दा’ शीर्षकको एउटा कवितामा उनी लेख्छन्-
“आफैले बाघ र हात्तीसँग लडेर
आबादी बसाएको बस्तीमा
आज मेरा मान्छेहरू खोइ कहाँ छन् ?
आफ्नै बलिदान र रगतका बुँद–बुँदले
लेखेको इतिहासका पानाहरूमा
मेरा मान्छेहरू खोइ कहाँ छन् ?”
मलाई लाग्छ उनको यो कविताले सोधेको प्रश्नमा आउने सम्भावित उत्तरभित्र ब्रह्मपुत्र वरिपरिका नेपालीहरुसँगै हामी पनि मिसिएका थियौं । उनले ‘हजार जुनी खर्चेर खोजी बसे’का पात्रहरुमा भूटानका नेपालीभाषी पनि समेटिएका थिए ।
अब लागौं उनको दोस्रो व्यक्तित्वतर्फ । सन् १९८० को दशक मध्य र अन्त्यतिर जग्जग बलेको सुवास घिसिङ नेतृत्वको विद्रोह सेलाउँदै गर्दा उनी नयाँ ताजगी लिएर उदाएका थिए । हामी भूटानबाट लखेटिएर सिमानामा अलपत्र परिरहँदा, भारतीय प्रशासनले घिस्याउँदै हामीलाई मेची नदी तार्दैगर्दा उनी भारतको एउटा राज्यका मुख्यमन्त्री बनिरहेका थिए ।
हामी शिविरबाट भूटान फिर्ता जान भनेर ग्वारग्वार्ती दार्जीलिङ जिल्ला पार गरिरहँदा पनि उनी मुख्यमन्त्री नै थिए । भारतको माटो टेकेर बाटो हिँडेकै ‘अपराध’स्वरूप हामीलगायत उनकै वरपरिका अनेकौं विद्वत-व्यक्तित्वहरु हाम्रो साथमा थिए । हामी एकमुष्टरूपमा विभिन्न भारतीय कैदखानाहरुमा थुनिएका बेला पनि उनी मुख्यमन्त्री नै थिए । उनले लगातार पाँचवटा पाँचवर्षे कार्यकाल मुख्यमन्त्रीको रूपमा भोगे ।
हामीले आशा गर्ने, हामीलाई माया गर्ने, हाम्रो हृदयको कुरा बुझ्ने, हाम्रा कुराहरु शब्दमा उनेर हाम्रै वेदनाको गीतमा मुरली बजाउने पवन चामलिङ ‘किरण’ त उतीबेला पनि, आज पनि हाम्रै साथमा छन् । तर, हामीलाई लाग्थ्यो-उनी पवन कुमार चामलिङ यानिकि भारत सरकारको मुख्यमन्त्री भएर पनि हाम्रो खातिर केही दर्बिलो कुरो गर्नेछन् । दिल्लीको संसदसम्म हाम्रो पक्षमा सवाल उठाउने छन् । अहँ-यस्तो कहिल्यै हुनसकेन ।
यहाँनेर खोल्नैपर्ने कुरा मैले लुकाएर हुँदैन । उनी अञ्जान भएर, जानकारी नपुगेर त्यस्तो भएको होइन । उनलाई प्रशस्तै जानकारी थियो । दार्जीलिङ जिल्लाको भूमिमा हाम्रा ढाडमा लट्ठी बजारिँदै गर्दा, हाम्रा करङहरु मर्किँदै गर्दा, पाँसुलाहरुमा निलडाम देखिँदै गर्दा, बह्रमपुर कैदखानामा बाबुराम स्याङ्देनको इहलिला समाप्त हुँदै गर्दा हामीप्रति मुख्यमन्त्री चामलिङको यथेष्ट सदाशयता पनि थियो । सहयोग र सद्भावना पनि थियो । उनी निष्ठुर राजनीतिज्ञमात्र थिएनन्, उनीभित्र मर्मशील कविहृदय पनि थियो । तर, राजनीतिक व्यक्तिको दखलमा उनको कविहृदय ओझेलमा परेको थियो । कूटनीतिक मान-मर्यादा र भू-राजनीतिक सरोकारको विषयले गर्दा उनीभित्र रहेको हामीप्रतिको माया सबै अप्रत्यक्ष रह्यो, छद्मरूपमा विलिन भयो !
त्यसो त ऐतिहासिक प्रतिद्वन्दिता बोकेर क्षेत्रीय राजनीतिमा वर्चस्व खडा गर्न लालायित चीन र भारतबीचमा चेप्टिएको एउटा स्वतन्त्र देश, जो भारतीय कूटनीतिको पासोमा परेर आफ्नो अस्तित्व गुमाउन बाध्य भएपछि भारतकै एउटा राज्य बनेको थियो-सिक्किम । अनि त्यही देश ढोयो बुझाएर उपहार थापिएको राज्यका मुख्यमन्त्री थिए पवन कुमार चामलिङ ! अर्कोतिर चीनसित सिमाना जोडिएको, त्यहाँको संवेदनशील जनसांख्यिकी र जातीय सामाजिक समिश्रणको कारणले पनि दिल्लीका आँखा सधैं उनीमाथि रहन्थे । हाम्रो बचाउका लागि सबैले सुन्नेगरी बोल्न नहुने उनका कैयन बाध्यताहरु थिए । किनभने दिल्ली सधैं हामी, हाम्रो उन्नति, उपलब्धि र हामीले पाउनुपर्ने न्यायका विरुद्धमा उभिएको थियो ।
ल ठिकै छ, मुख्यमन्त्री पवन कुमार चामलिङ हाम्रो अस्तित्वको सवालमा न्यायको तराजु लिएर उठ्न सकेनन्-चित्त बुझाउने थुप्रै ठाउँहरु छन् । तर, मलाई कतिबेला साह्रै घोच्यो भने, कवि तथा गीतकार पवन चामलिङ ‘किरण’ को विशेष पहलमा सन् २००४ मा ‘सिक्किम सम्मान सम्मिलन’ नामक एउटा विशिष्ट प्रकृतिको स्रष्टासम्मेलन आयोजन गरिएको थियो । त्यसमा भारतभित्रका मात्र थिएनन्- संसारको जुनसुकै कुनाकाप्चातिर रहे पनि आमनेपाली समुदायभित्र पर्ने कलाकर्मी, साहित्यिक साधकहरु, पेशाकर्मीहरु आमन्त्रित थिए । नेपालबाट ‘राष्ट्र कवि’ माधवप्रसाद घिमिरेसमेतको उपस्थिति थियो । तर, भूटानमा पनि नेपाली भाषा, संस्कृतिका साधकहरु छन् भन्ने त्यस कार्यक्रमका आयोजकहरुलाई थाहा नभएर हो कि, दिल्लीले आँखा तर्छ भनेर हो-कोही पनि आमन्त्रित थिएनन् !
आज भूटानी समुदायकै एउटा संस्थाले आयोजन गरेको कार्यक्रमका मुख्य अतिथि बनेर उनी सम्मानित भइरहेको बखतमा यस्तो चर्चा उठाएर मैले उनको मानमर्दन गर्नखोजेको नबुझिदिन सबैप्रति मेरो आग्रह छ । त्यो सम्मान अझ खँदिलो र मजबूत बनोस्, दीर्घकालीन बनोस् भन्ने अपेक्षामा म यी कुरा गरिरहेको छु । फेरि पनि प्रष्ट पारौः यहाँनेर म सर्जक चामलिङप्रति रोष व्यक्त गरिरहेको छैन ।
नेपाली समाजमा अधिकांश मान्छेहरु चर्चा र बहसलाई ‘विरोध’ भनेर बुझ्ने गर्दछन् । आफ्नै समाजको कार्यक्रममा प्रमुख अतिथि बनेको व्यक्तिविषयक चर्चा उठाएर यसले ‘विरोध गऱ्यो’ भन्ने अभियोग ममाथि लाग्न सक्छ । सबैलाई स्मरण रहोस्, मैले यो विषयको चर्चा आजमात्र उठाएको होइन । सिक्किमको गान्तोकमै पुगेर सार्वजनिक कार्यक्रममा यो प्रश्न उठाएको छु मैले । त्योबेला पनि स्थानीय पत्रकार विजय वान्तवा र साहित्यकार सानु लामाले सकेम्मको स्पष्टिकरण दिएकै हुन् । त्यसबेलाका मुख्यमन्त्री चामलिङका दायाँ-वाहु, अकादमी पुरस्कार विजेता स्वः भीमदाहालसित यस विषयमा मेरो कैयौंपटक बौद्धिक तर्कहरु भएका छन् । यद्यपि, म त्यो प्रश्नको उत्तर पवन चामलिङ ‘किरण’ बाट चाहन्थें । उहाँहरुलाई मैले त्यसै भनें । अहिले पनि म त्यसको उत्तर सर्जक पवन चामलिङ ‘किरण’बाटै चाहन्छु, पूर्व मुख्यमन्त्रीबाट होइन !
कवि तथा सर्जक पवन चामलिङ ‘किरण’का बारेमा मसित त्यति धेरै कुरा छैनन् । उनी अब्बल कवि हुन् । धेरै खटीखानेहरुका पक्षधर सिर्जनाकार हुन् । यद्यपि मुख्यमन्त्रीका रूपमा उनलाई देवत्वकरण गर्नेहरुले ‘मसिहा’ भन्ने गरेका पनि मैले सुनेको छु । लेख्नेहरु देखेको छु । उनलाई मसिहा भनेर अस्ति उचाल्नेहरु आज उनका विपक्षीलाई बोकेर हिँडिरहेका छन् । उनीभन्दा पहिले तिनीहरुले नै एन.बी. भण्डारीलाई चाप्लुसीको डोलीमा बोकेर हिँड्थे । अब सत्ताशक्तिमा आउने जोकोही होस्, उसलाई पनि तिनैले बोकेर हिँड्नेछन् । डोलेहरुको कुनै सिद्धान्त र दर्शन हुँदैन । उनीहरुको दर्शन भनेकै शक्तिको चाकरी र चाप्लुसी हो । खैर जे होस्, यो उनीहरुको कुरा हो । यहाँनेर हाम्रा कुरा गरौं ।
म यहाँनेर चामलिङ दाइको प्रसंग उठाएर यति विघ्न कुरा किन गरिरहेको छु भन्ने यहाँहरुलाई लाग्नसक्छ । ‘नेपालीहरुको वर्चस्व बढाएर भूटानलाई सिक्किम बन्न दिइने छैन, म दिन्न’ भनेर भूटानको राजाले नेपालीभाषी नागरिकहरुलाई विस्थापित गराएको थियो । भूटान राजाको त्यो भनाइलाई पूर्वमुख्यमन्त्री चामलिङले स्वयं पुष्टि गरिदिएका छन् । नेपालीभाषीको बहुमतकै कारण स्वतन्त्र देश सिक्किमको अस्तित्व भारतमा गाभिएको थियो त ? यो बिहंगम् प्रश्नको उत्तर दिँदै ए.पी. वन टेलिभिजनको ‘तमसोमा ज्योतिर्गमय’ कार्यक्रममा टिकाराम ‘यात्री’ले लिएको एउटा अन्तरवार्तामा चामलिङले भनेका छन्, ‘हामीले नै सिक्किम भारतलाई बुझाएका हौं ।’
हुन त सिक्किम भारतमा गाभिँदै गर्दा (सन् १९७३-१९७५) चामलिङ दाजु २५ वर्षे लक्का जवान थिए । त्यो बेला काजी लेण्डुप दोर्जी खाङ्सार्पाको नेतृत्वाधीन ‘सिक्किम प्रजामण्डल’ भन्ने राजनीतिक दल सक्रिय थियो । चामलिङ दाजुको त्यो दलमा कतिको संलग्नता थियो, त्यो उनैले जान्ने कुरा हो । तर, उनी नेपाल बाहिर रहेका ‘नेपाली’हरुको बलियो आस्थाका प्रतिमूर्तिस्वरूप सिक्किमका मुख्यमन्त्री बनिरहेको समयमा भूटानका राजाले गरेको दाबीलाई उनले कुनै प्रत्युत्तर दिएनन् ! अझै दिएका छैनन् !
अहिले उनी अमेरिकामा आयोजित एउटा साहित्यिक कार्यक्रम उपस्थित भएर ‘संसारका नेपालीहरुले आफ्नो मनमा संसार अँटाउन’ आह्वान गरिरहेका छन् । कुरो ठिकै पनि हो । यो सारा धर्ती एउटा बस्ती अथवा एउटा घरझैं हो । मनुष्यहरु एउटा परिवारका सदस्य हुन् । तर, मान्छे किन विरोधाभासमा जीवन भोग्छ ? यो प्रश्नको उत्तर कसैसित छैन । सारा धर्ती मनमा अँटाएरै त भूटानमा बस्ने नेपालीभाषीले त्यो माटोलाई ‘स्वदेश’ ठानेका थिए । त्यहाँको राजालाई ‘ईश्वरावतार’ मानेका थिए ।
आफ्नो आतिथ्यको मन्तब्य दिँदै चामलिङ दाजुले सिक्किमे जनता, सिक्किमको वर्तमान सरकार तथा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसम्मको शुभकामना सन्देश सुनाए । एउटा कुरो, सिक्किमे जनतासित हाम्रो आत्मीयता, सांस्कृतिक मर्म र अन्तरमन सधैं जोडिएको छ । उहाँहरु पराई होइन । शुभकामना कि त पराईले दिन्छ कि त औपचारिकता निभाउने संरचनाको मुखियाले । ‘सिक्किमको वर्तमान सरकारबाट’ पनि शुभकामना ल्याएँ भनेर चामलिङ दाजुले औपचारिकता पूरा गर्ने संरचनागत मुखियाको भूमिका निर्वाह गरेजस्तो लाग्यो । यो उनको बडप्पन हुनुपर्छ । आफ्नो घरभित्रको पक्ष-वपक्षको किचलो हामीलाई सुनाएर के फायदा ! कवि सर्जक पवन चामलिङ ‘किरण’को रूपमा यो उनको महानता हो । तर, पूर्व मुख्यमन्त्रीका रूपमा उनको यो सन्देशले कूटनीतिक भाषा पनि बोलेको छ । घरभित्र राजनीतिक दौडमा तँछाड-मछाड छ । वर्तमान सरकारमा मुख्यमन्त्री र विपक्षी- एकार्कामा आरोप प्रत्यारोप छ । विधान-सदनमा एक्लो विपक्षीका रूपमा भए पनि चामलिङलाई राज्यसत्ताले लुते सम्झेको छैन । कुरो सही पनि हो । पूर्वमुख्यमन्त्रीको रवाफ सेलाएको छैन । (ref: https://fb.watch/eAdd4Hdhev/?fs=e&s=cl)
अनि त्यो विपक्षी नेतालाई एउटा कुनै देशमा आयोजित साहित्यिक संस्थाको कार्यक्रममा जानलाग्यो भनेर शुभकामना सन्देश पठाउँन सत्ताको मुखिया कसरी आउँछ ? वर्तमान सरकारले हामीलाई शुभकामना सन्देश पठाएको थिएन-छैन ! अनि विधानसभामा १३ सिट जितेको चामलिङ दाजुको दल एसडीएफलाई नंग्याएर १० विधायक हडप्ने दलका नेता प्रधानमन्त्री नरेन्द्र मोदीले उनी अमेरिका आउँदै गर्दा हाम्रो लागि शुभकामना सन्देश पक्कै पठाएनन् । तैपनि मोदीको तर्फबाट शुभकामना सन्देश दिनु चामलिङ दाजुको महानता नै मान्नुपर्छ । प्रथम कुरो मोदीले हामीलाई चिन्दै-चिन्दैनन्-चिन्थे भने पनि हाम्रो बारेमा बोल्न चाहँदैनन् ।
यदि मोदीले हामीलाई शुभकामना पठाएकै हुन् भने चामलिङ दाजु, उहाँलाई हाम्रो तर्फबाट पनि यो सन्देश सुनाइदिनु होला, हामी अमेरिका आएका भूटानीहरुलाई मात्र शुभकामना दिएर भारतका प्रधानमन्त्रीको हामीप्रतिको दायित्व पूरा हुँदैन । भूटानीहरुलाई शुभकामना दिन नरेन्द्र मोदीले झापाका शरणार्थी शिविरमा जानुपर्छ । त्यहाँ अलपत्र रहेका शरणार्थीहरुको स्वदेश फिर्ने चाहनालाई विश्वको विशाल प्रजातान्त्रिक मुलुकको प्रधामन्त्रीको हैसियतमा सम्बोधन गर्न, मोदीले पहल गर्नुपर्छ । त्यसपछि हामी सदैव नरेन्द्र मोदीप्रति ऋणि रहनेछौं । हाम्रो इतिहासले उनलाई बार-बार सलाम गरिरहनेछ ।
समष्टिमा, हाम्रो समुदायले गरेको कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थितिका लागि आभार व्यक्त गर्दै चामलिङ दाजुसँगै गुरु-चेली कविता लामा र साथमा आउनुभएका अरुहरु समेतलाई धन्यवाद । म यहाँनेर तपाईँहरु समग्रलाई थप निवेदन पनि गर्दछु । सिक्किमको अस्तित्वलाई लिएर संसारका सबैजसो लेखक-विश्लेषकहरु आफ्नो देशका शासकहरु विदेशी शासकसमक्ष लम्पसार परेका बखत ‘लेण्डुपीकरण’ को उदाहरण दिँदै विचार सम्प्रेषण गर्दछन् । दस्वावेजहरु बनाउँछन् । यो विचारको प्रवाहलाई निस्तेज पार्न अब तपाईँको साहित्यिक पहल आवश्यक छ । नत्र हामी भूटानबाट खेदिनु र सिक्किम आफ्नो अस्तित्वबाट सधैं तिरस्कृत रहिरहनु; उस्तै उस्तै कुरा हुनजान्छ । कृष्ण धरावासी दाजु पनि यो कार्यक्रममा उपस्थित हुनुहुन्छ । उहाँ लीलालेखनका उत्तराधिकारीमध्ये मुख्य ! धरावासी दाजु, यी सबै कुरा ‘लीला’ नै हुन् कि …?
जाँदा-जाँदै थप स्पष्ट पार्नु चाहन्छु, कार्यक्रममा कवि पवन चामलिङ ‘किरण’ मात्र थिए भने मबाट यत्रो धेरै चर्चा आउने नै थिएन । तर, अतिथि वक्ता एउटा निश्चित कालखण्डमा सिक्किमका पूर्वमुख्यमन्त्री भएकाले यी सब चर्चा उठाउन म बाध्य भएको हुँ ।
अन्त्यमा, शुरुकै कुरो दोहोऱ्याए कवि ‘किरण’समक्ष प्रश्नको पुनर्उक्ति गर्ने अनुमति मागें । तपाईँले ‘हजार जुनीसम्म खोजी बसेको’ पात्र को थियो ? भेट्नु भो त ? कि भेट्न बाँकी नै छ ?