थुइया बबुरो
टिपी मिश्र
नर्थ क्यारोलिना, अमेरिका
विश्व-स्तरको ‘ट्रेजरर लग्जरी ब्ल्याक’ छेवैमा हुँदा समेत
बेरुवा सुर्ती, बिँडी अनि गोल्डेन खैनी खोज्छ,
सानो छँदा मर्याक-मर्याक चपाएको पान र गुट्का सम्झंदै
बबुरो! उहि हुस्स ढुँडीपरेको राँगाको सुकुटी रोज्छ
‘ब्लु लेबल’ को सहरमा बसेर पनि कोदाको तुङ्वा नै खोज्छ
बिचारो! मूलधारको भइटोपल्न पश्चिमा जीवनशैली रोज्छ।
सुन्दा कानै रिसाउने तथाकथित गीतका बारे
सामाजिक सञ्जालमा वा..ओ! गीत त ‘बबाल छ है’ भन्छ
रत्ति पनि भाँती नपुर्याई लेखिएका पुस्तकको पन्नै नपल्ट्याई
हतार-हतारमा ‘क्या दामी छ’ भन्छ,
वल्लो घरबाट पल्लो घरमा घर-ज्वाइँ सरेको भुसतिघ्रेलाई
शब्दहरूको दुरुपयोग गर्दै फेसबुकमा ‘बधाई छ याार’ लेख्छ।
बबुरो त्यतिमै कहाँ रोकिन्छ र !
एउटा ‘बेबी सावर’ मा त झन:
के भन्नु र !
गर्नेलाई भन्दा देख्नेलाई लाज- भने झैं
जन्मिन बाँकी रहेको शिशुनै देख्खिएला कि जस्तो गरी
फेसबुकतिर खुत्रुक-खुत्रुक फोटा टाँस्छ ;
उसको धित किन मर्थ्यो, बरा-
अस्पतालमा शिशु जन्मिन भ्याको छैन
बिचारी आमाको लुगा स्याहार्न भ्याको छैन
सामाजिक सञ्जालमा न्वारण गरी पो हाल्छ ।
कसैको मृत्यु भएको खबर-चित्र फेसबुकतिर देख्नै हुँदैन
ठाडो परेको बूढी औँलो देखाउँदै
सामाजिक सञ्जालतिर ‘राम्रै भो’ भन्ने सङ्केत गर्छ।
आहा मेरो डायस्पोरा,
संस्कार, संस्कृति र परम्परा प्रति यति चिन्तित छ
छोरीको गुन्यू चोलीमा आमालाई पैन्ट र टि-सर्टमा सझाउँछ
छोराको ब्रतबन्धमा पुरोहितलाई सोद्छ;
‘गुरु आज मैले पनि जनै लगाउनु पर्छ?’
कसैको मलामी गइहाल्यो भने-
एउटा कुनामा मृतकका आफन्त रोइ रहेका हुन्छन
ऊ भने बेलडाँगी छेवैको बाङ्गे बजारमा झैं
खितिति हाँस्तै वातावरण नै बिगार्छ ।
सोझा आमा-बाबा र अपाङ्ग आफन्तको हेरचाहको बहाना बनाउँदै
उनीहरूको नाममा आएको पैसा जुवाघरमा झ्वाम्म पार्छ
अनि उसको कर्तुतलाई ढाकछोप गर्न
कठै! आफ्नै दाजु-भाइ, दिदी-बहिनीको नातालाई
निसंकोच दाउमा राख्छ ।
घरभित्रै बिरामले शिथिल परेकी आमालाई अनेकौँ बहाना बनाउँदै
छिमेकीलाई देखाउन कै लागि पनि-
महिनौँ पछि बल्ल एक पटक अस्पताल लान्छ
बिरामीको गोपनियता के हो ?
एक व्यक्तिको तस्विरको गोपनियता के हो ?
उसलाई वास्तै छैन
आमालाई असपताल ल्याएँ त भन्न खोजे झैं
डाक्टर सँगै आमालाई जाँचेको फोटो
‘ गेट वेल सुन आमा ‘ भनेर फेसबुकमा टाँसी हाल्छ ।
नैतिकताको पराकाष्ठा नाघेर आफ्नो दुनु सोझ्याउँदै
अरूलाई मुर्गा बनाउन खुलेरै कम्मर कस्छ
महँगा गाडी, विदेशी पहिरन, तर उही पुरानै सोचमा पौडँदै
आफूलाई कर्ण झैं दानी र परिवर्तनकारी सम्झँदै बस्छ
चर्को स्वरमा अरूलाई नैतिकताको पाठ सिकाउँदै
निमुखा र निर्धाहरूलाई सर्पले झैँ छ्यास्स डस्छ।
स्वतन्त्रता र पूर्ण अधिकार भएको देशको नयाँ नागरिक भएर पनि
त्यसको सही उपभोग गर्न उही पुरानै शैलीमा डुक्रीन्छ
कसै-कसैले खुलेर यथार्थहरू बाहिर ल्याए भने
आफू जन्मेको देशको तानाशाहकै शैलीमा
पुरानो इतिहास चट्ट बिर्सेर पराई भूमिको भई टोपल्दै
थुइया बबुरो! घाँटीका नसा फुलाएर
आफू त ‘एन.आर.एन’ हुँ भन्दै कराउँछ।
घरिघरि विगतहरूमा झैँ भित्ता ठेल्ने प्रयास आफैं गर्छ
नयाँ र फरक परिणाम ल्याउने आशा गाउँ भरी छर्छ
बिचरा ! न भित्ता सर्छ, न प्रवृति र सोचमै नुतन्ता छ
बरु फेरि त्यही चाल दोहोर्याउन प्रफुल्लित भएर लागिपर्छ
बेला बेला बेमौसमी बाजा बजाउदै-
आफ्नो घर फिर्तीको मुद्दालाई वकालत गर्ने निहुँमा
उ आँफु लग्जारीमा बसेर – तुङ्वाको तालमा बबुरो;
“जाँठा, भुटानले नेपालमा रहेकालाई एकदिन फिर्ता लानैपर्छ ” भन्छ।
आफ्नो घरभित्रै मातृभाषा हराएकोमा उ बेखबर छ
हजुर आमाले नातीलाई ‘ नानी पानी दे न ‘ भन्दा
नातीले ‘ ड्याड वट सि इज आस्किङ्ग ‘?, भन्छ
हाँडीघोप्टे अनुहारसहित टुलुटुलु भ्रमित मुद्रामा हेर्छ
र, ‘वटर’ भन्छ ।
उच्च शिक्षाको महत्त्वलाई लतार्दै
जीवनमा जसरी पनि पैसा कमाए भैहाल्ने सोच्छ
म सुध्रिनु पर्छ भन्ने सोच उसको गिदीमा कतै छैन
उही लेउ लागेको पुरानै शैलीमा
अपार्टमेन्ट कम्प्लेक्स छेउको डम्स्टर जस्तै देखिने
टेस्लाको साइबर ट्रकको
कप होल्डरमा सुकेको पानको चुनाको खाटो थुकले पुछ्तै
भित्र-भित्रै फल्यात-फुलुत सडिरहेछ।
थुइया तँ बबुरो !


Reflect reality
कबितामा भनिएका कुराहरु बहुत गहिरा छन
सबैले बुझ्नु पर्ने कुरा छन। हामी त भाषा र पहिचान खौलाये
यसलाई जोगाउनु पर्छ भनेर आवज उठाऊँदा क्रुर शासकले लखेटेका
मानिस हौ
।।
केही बाकी रहे जस्तो लाग्दैन। म पनि हान्ने मान्छे नै परेँ। अरूले हानेको भेट्दा मुसुक्क मुस्कुराएर पड्छु।