‘द प्याथेटिक जर्नी’ विमोचित

नोभेम्बर ७ र ८ मा अमेरिकाको पिटस्बर्ग शहरमा आयोजित साहित्य परिषद-भूटानको दुई दिने सम्मेलनको अवसरमा भूटानी युवा कवि श्री नारद पोखरेलकृत अंग्रेजी कविता संग्रह “The Pathetic Journey” को विमोचन गरिएको छ ।

रूप पोखरेलको सञ्चालन अघि बढेको सो विमोचन समारोहका प्रमुख अतिथि केन्ट स्टेट यूनिभर्सिटी-ओहायोका पूर्व प्रोफेसर डा. टेह्री क्हुन, साहित्य परिषद-भूटानका अध्यक्ष भक्त घिमिरे, कृतिकारका बुवा श्री टीकाराम पोखरेल र आमा सरस्वती पोखरेलद्वारा सो कृति लोकार्पित भएको हो । Narad's Book Release

कृतिको समीक्षा गर्ने क्रममा साहित्य परिषद निर्देशक मण्डलीका सदस्य श्री शिवलाल दाहालले “The Pathetic Journey” को सांगोपांगो विश्लेषण गरेका थिए भने हेरिसबर्ग निवासी भूटानी अग्रज पदम रिजाल, डा. टेह्री क्हुन, भक्त घिमिरेलगायतले कृतिको बारेमा मन्तव्य राखेका थिए । “नारदका कविताले इतिहासको एक खण्डलाई विम्बन गरेका छन् । राज्य र बहिर्गमन, शरणार्थी शिविरको दयनीय जीवन भोगाइ तथा प्रणय विच्छेदबाट उत्पन्न दुखान्त चेतना उनका कविताको केन्द्रीय भावभूमि हो” समीक्षक शिव दाहालले भने, “कवि ऊर्जा, साहस र मानवतावादी भावनाले पनि उत्प्रेरित छन् ।” समीक्षाको क्रममा सबै वक्ताहरुले पोखरेलको कृतिमाथि टिप्पणी गर्दै भने,“अनिश्चित भविष्य बोकेर, न्याय र सुनवाई नभएका मानिसको यात्राको कथा हो । यो उनको भौतिक यात्रा मात्रै हैन, अन्तरद्वन्दपूर्ण मानसिक यात्रा पनि हो । यो देशबाट अन्यायपूर्वक निश्कासन गरिएका मानिसको विगत वर्तमान यथार्थ अभिव्यञ्जना हो, आँसु र पीडाले भरिएको कथा हो । दुःखबाट निसृत काव्यचेतना दुखान्तको वर्णनमा मात्रै सीमित छैन, साहस र उत्प्रेरणा पनि कविचेतनामा पर्याप्त छ ।”

भूटानको साहित्यिक सेरोफेरोमा नेपालीभाषाको मात्र वर्चस्व रहिरहेको वर्तमान परिवेशमा पोखरेलले अंग्रेजी भाषाको कृति प्रकाशन गरेर स्थानीय अमेरिकी पाठकहरु समेतलाई भूटान र भूटानीहरुको विषयमा बुझ्न सजिलो बनाइदिएको डा. टेह्री क्हुनले बताए ।

कार्यक्रममा गीतकार, संगीतकार तथा गायक श्री मनोज राईले आफ्ना गीत गाएर रौनक थपेका थिए भने मनोज ढकाललगायतले आ-आफ्ना गीतहरु प्रस्तुत गरे । टेक्सास राज्यबाट आएका डीबी बराइलीले भने कवि तथा “The pathetic Journey” का कृतिकार नारद पोखरेल रचित “भूगोलभित्र खोजिन कि जूनको ज्योति लिई” बोलको गीत गाएका थिए भने यसरी नै प्रभू शंकरले पनि श्री पोखरेलकै “हामी भूटानी पुर्खा हाम्रो नेपाली” र “माया कहिले विष बनी मुटुलाई नै टुटाइदिने” बोलका दुईवटा गीतहरु गाएका थिए । कवि तथा गीतकार नारद पोखरेलका अन्य गीतहरु भूटानी सांगितीक आकाशमा चलायमान व्यक्तित्वहरु अम्बर सुब्बा र अर्जुन रसाइलीले पनि गाउने तयारीमा रहेका जनाइएको छ ।

अमेरिकाबाट सञ्चालित ह्वाइट हिमाल टेलिभिजनले “सम्प्रेषण” कार्यक्रममार्फत परिषदको यस सम्मेलनलाई सबैसामु पुऱ्याउन सहयोग गरेको थियो ।

यस कार्यक्रमलाई सफल पार्न पिट्सबर्ग भूटानी समाजले विशेषभूमिका खेलिदिएकोमा धन्यवाद ज्ञापन गर्दछौं साथै विशेष व्यवस्थापनमा भार बहन गरिदिनुहुने साहित्य परिषद् निर्देशक मण्डली सदस्य कवि श्री सञ्चमान खालिङ र रुप पोखरेलको योगदानप्रति साहित्य परिषद-भूटान आभार व्यक्त पनि गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *