दर्शक
विद्या शर्मा
काठमाडौं
घर छेउको साँघु बडो गर्जनले गड्गडाउँदै थियो । भूकम्पमा टुक्रिएका अनि कुहिन नभ्याएका अवशेष बोकेर त्यो बूढो साघूँ लामो यात्रामा निस्किएझैँ लाग्थ्यो । पोहोरपरार मीठो लाग्ने त्यो संगीत आज कर्कस लाग्दै थियो । हामी उँभोतिर थियौं । झर्झर झरीमा हामी आँसु मिसाउँदै थियौं । अगस्ति झरी, हाम्रा घरका अवशेष, सपना अनि पुर्ख्यौली धरोहर एकएक गरेर टिप्दै थियो । बगाउँदै थियो । पर, कता हो कता हुत्याउँदै थियो ।
डाँडाको टुप्पोमा गोटा ६०१ अवलोकनकर्ता थिए । मयलपोसमाथि पारदर्शी बर्सादीमा ढल्केका उनीहरू, बर्सातको बडो मजा लिँदै थिए । अभद्र ती भद्रहरु भद्रताको नाकामा थिए । अनि कोकोहोलो हाल्दै थिए । भन्दै थिए,
“उ हेर त.. भत्केको घरको ढुंगा माटो सप्पै आयो । अब सफा हुन्छ हाम्रो नेपाल..”
“ए लौन ! जिम्दार बाको मटानको कठबारै ल्यायो..”
“हाहा.. शिवलिङ्ग बगेको हेर न त्याँ’..”
“होइन, जन्ता असाध्यै धेरै दुःखमा छन् । एउटा छुट्टै सहयोगको हेतुले आयोग गठन गर्नुपर्छ अनि राहत दिनुपर्छ..”
“विदेशी दातासँग अनुदान माग्नुपर्छ..”
“भुकम्प पिडितलाई भन्दा हाल बाढीपिडितका लागि केही गर्नुपर्छ..”
“संसदमा कुरा उठाउनु पर्छ अब..” “मैले पढ्या स्कुलको छत पनि ल्याएछ । सुरुमा त शिक्षाको क्षेत्रमा लगानी गर्नुपर्ने पो देखिन्छ..”
“आमै ! ढिकी पनि बगाउँदो रेछ । बाफ्रे कत्रो बेग..”
सबका आआफ्ना तर्क थिए । बेग्लाबेग्लै मतहरु थिए । पिडा हेरे, वस्तुस्थिति बुझे, दुईचार ओटा सेल्फी हाने, भरौटेलाई विविध पोजमा फोटो खिचाए अनि जुत्ताको माटो बगलीको रुमालले पुछे । एक पटक खुट्टा बजारे अनि बर्सादी ड्राइभरको हातमा थमाए । अनि चिल्लो गाडीमा बसेर उनीहरू फर्किए, उहीँ हिलाम्मे कच्ची बाटो हुँदै । समाचार थाप्न आएकाहरुले पनि आआफ्नो नुन अनुसारको काम गरे ।
हामी दर्शक थियौं या उनीहरू ! मैले बुझ्न सकिनँ अनि चाहिनँ पनि । रिठ्ठे दाइ, च्यामे दाइ, अर्जुन काका, खोलापारिका रिमाल भन्दाई, जुठी बज्यै अादि ईत्यादिको पछि लागेर अस्थायी टहरो बनाउनका लागि बाँस काट्न म पनि पछि लागेँ । स्थायी घर भुकम्पमा अनि अस्थायी “कटेज” बाढी हुँदै हामी विकास पथको छलाङ मार्दै थियौं । भाईचाराको उदाहरण पस्किँदै थियौं । साझा एउटा लम्बेतान टहरा बनाएर, जहाँ काले दाइ, सर्किनी काकी, टपरे बाहुन अनि बाँकी जम्मै अटाउनु थियो ।
अघि भर्खरैको खहरेले बगाएको घुम सम्झिँदै अनि झरीको मजा लिँदै म पनि खुर्पा बोकेर सिम्ला पाखातिर लागेँ, आखिर छतको जोहो गर्नु जो थियो..