देश छोड्दाका पीडा

दुर्गा गुरागाईं
अष्ट्रेलिया

 

चलसम्पत्ति थ्यो घरबार थियो
धनमाल सबै जति थ्यो लुटियो।
अतिचार गर्यो पसि पल्टनले
कति शास्ति खटे निमुखा जनले।।१

कुटियो बलले कति प्राण लियो
यमलोक सरी जति दण्ड दियो।
घर गाउँ भरी सरि जेल थियो
बलपूर्वक दिन्-दिन ज्यान लियो ।।२

लुटियो धनमाल् कतिको ममता
नर हात कसी लुटिए वनिता।
खत घाउ अझै कति छन् तनमा
डर त्रास अझै भय छन् मनमा।।३

कतिका धनमाल घरबास कतिको
लुटपाट भयो घर सम्पतिको।
घर दन्दनि बल्न गए सबका
जति लुट्नु थियो लुटिए जनता।।४

कति बन्दुक बारुदले भुटिए
घर गाउँ पसी महिला कुटिए।
विधवा बनिए असहाय भए
कति काख छुटी टुहुरा बनिए।।५

घरमा सबका कर पाउ कसे
धन लुट्न सबै घर भित्र पसे।
कतिका गहना धन माल लुटियो
घर गाउँ पसी जनता कुटियो।।६

नेपालमा शिविरमा बस्दाका दुख कष्ट र भोगाइ ।

घर देश गुम्यो सब थ्यो सकियो
अति कष्ट खपी कुटिमा बसियो ।
खर बाँस सिटा नत घाम् छलियो
घरि त्यो टहरो दनदन् बलि गो।।७

भल भेल र बाड हुने तटमा
घरि पाक्छ कि झैँ हुनगै तनमा।
कण शीत झरी घर भित्र घरी
घरि वेग हुरी घरिको भुमरी ।।८

नत थ्यो कपडा फल फूल मिठा
जति चामल थ्यो सरि थ्यो कनिका।।
नत चप्पल थ्यो नत द्रव्य भुजा
नत खान मिठो नत न्यानु लुगा ।। ९

घरि वृक्ष ढली कति ज्यान किच्यो
घरि गाँस बिना दिनरात बित्यो।
कति कम्प भयोे डरले तनमा
भय त्रास अझै कति छन् मनमा।।१०

भुमरी घरिको घरि घाम चिसो
झरि तप् तपी झर्छ घरै भरि त्यो।
कति दु:ख भयो मन ताप भयो
दिल दुख्छ अझै इतिहास भयो।।११

दुखका भरमा दिनरात कटे
जलपान बिना कति मास बिते।
वन वृक्षमुनी कति बास भयो
दिल दुख्छ अझै इतिहास भयो।।१२

विधिले नत हो कित भाग्य ठग्यो
कि त राहु दसा शिर माथि चड्यो ।
कति ज्यान गयो बरबाद भयो
दिल दुख्छ अझै इतिहास भयो।।१३

 

छन्द -तोटक

Don't have a Facebook account? Please, use the form below with other options!