ईश्वर, भगवान, धर्म र प्रार्थनाका कुरा
भक्त घिमिरे -पेन्सिलभेनिया/अमेरिका
हामी यहाँनेर धर्म र प्रार्थनाको कुरा गर्न लागिरहेका छौं । धर्म भन्ने शब्दका अनेकन परिभाषाहरु छन् । जस्तैः कर्तव्यनिष्ठ दायित्वको अभिभारा; निराकार ब्रह्मको खोज र पहिचान आदि आदि । तर, सामाजिक बुझाइमा धर्मको अर्थ सामान्य चालचलन र संस्कृतिका रुपहरु मात्र हुन् । आज समाजको तहमा बुझिने धर्म र प्रार्थनाको कुरा गरिँदैछ ।
धर्मको नाममा चलेका जुनसुकै समुदाय, सम्प्रदाय वा विश्वास-परम्पराहरु हुन्, ती सबैमा रहेको एकरुपता भनेको ‘प्रार्थना’ हो । सबैले आ-आफ्ना इष्टदेवको कल्पना गरी एकैप्रकारले प्रार्थना गर्दछन् । सबैले प्रार्थनामा माग्ने कुरा पनि एउटै हो, ‘सुख’ । मुक्ति, मोक्ष, निर्वाण, परिनिर्वाण, बैकुण्ठप्राप्ति, स्वर्गप्राप्ति आदि आदि नामबाट त्यो सुखलाई सम्बोधन गरिएको छ ।
सबैले भन्न खोजेको तात्पर्य के भने यो धर्ती साह्रै दुःखदायी भयो, सुखप्राप्त भएन । आनन्द मिल्दै मिलेन ! त्यही कारण यहाँबाट मलाई लैजाऊ, हे ईश्वर मलाई यस धर्तीझैं व्यावहारिक जीवन भोग्ने ठाउँबाट अलग, टाढा कतै लैजाऊ जहाँ सुखै सुख छ; आनन्दै आन्द छ ! जहाँ पुगेर मैले कुनै दिन शान्ति खोज्नु पर्दैन, आनन्द पाउन तड्पिनु पर्दैन !
प्रार्थनाको लाक्षणिक अर्थभाव यति नै हो । तर, के मान्छेले वास्तवमै त्यही मुक्ति वा मोक्षको लागि प्रार्थना गरेको छ त…? यो गम्भीरको प्रश्नको समाधान कहाँ छ ?
त्यसमाथि अझ मानिसहरु ईश्वरलाई पनि हैन, ‘भगवान’को आराधना गर्दछन् । भगवान भनेको को हो भन्ने कुरामा विश्लेषण कोही गर्न चाहँदैन ! आराधना गरिने त्यो भगवानका काल्पनिक रूपहरु पनि बेग्ला बेग्लै छन् । तर, सामान्यतः त्यो आराधना वा प्रार्थनामा मागिने कुरा सबैका एउटै हुन्,“मलाई सम्पत्ति पुगेन भगवान; सम्पत्ति देऊ, आफूलाई सम्पत्ति दिएरमात्र भएन, अर्काको घटाइदेऊ र मभन्दा तल पारिदेऊ । छोरा-छोरी भएनन्, जन्माई देऊ, त्यतिले मात्र पुगेन, मेरा सन्तान अरुका भन्दा भलाद्मी बनाइदेऊ । रोगी भएँ, रोग हटाइदेऊ, मलाई संसारमा नामी बनाइदेऊ, सबैले मेरो जयजय गाउन्, शत्रु कोही नबनून्, बनीहाले पनि तिनीहरु निस्तेज रहुन् !”
जुनसुकै समुदाय वा सम्प्रदाय होस्, उनीहरुले ईश्वर कल्पिएको प्रतीमाका अगाडि आँखा चिम्लिएर, हात जोडेर माग्ने कुरा यस्तै यस्तै हुन्छन् !
यहाँनेर गम्भीर भएर सोच्नुपर्ने कुरो के छ भने मान्छेले कुनै दिन यही संसारमा उसले चाहेको सुख-आनन्द प्राप्त गऱ्यो भने त्यसपछि पनि यो धर्तीबाट मुक्ति चाहन्छ के ? कल्पनामा सिँगारिएको स्वर्ग वा बैकुण्ठ यही धर्तीमा भेटियो भने के मान्छे त्यहाँ सन्तुष्ट रहिरहन सम्भव छ ?
यही सिलसिलामा चेतनशील व्यक्तित्वले सोच्नुपर्ने कुरो छः शास्त्रीय आदर्शले हामीलाई भनेको छः-
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि।। श्रीमद् भगवद्गीता २.४७।।
यो श्लोकले भनेको कुरा के हो भने,“कर्तव्य कर्म गर्नु तिम्रो अधिकार हो तर, त्यो कर्मको फलमा तिम्रो कुनै अधिकार छैन । त्यसकारण तिमी कर्मफलको आशा राखेर, त्यसका निमित्त केही नगर …निष्क्रिय रहेर अकर्मण्यताको दास पनि नबन …!”
त्यसो भए के आफैंले एउटा कुनामा, प्रतीमा वा तस्वीरमा कैद गरिराखेको एउटा निरीह आकृति (कल्पनाको ईश्वर वा भगवान)- समक्ष आफ्नो इच्छा, मनोकांक्षा पूरा गरिदिन विन्ति गर्नु, माग गर्नु, गिड्गिडाउनु मोक्षप्राप्तिको उपाय हो त ? गीताले भनेको कर्मको अधिकार यही हो त ? सांसारिक यश, सुखभोग, सन्तानप्राप्ति, सम्पत्तिको कुरालाई एकक्षण परै राखौं । मोक्ष, स्वर्ग, बैकुण्ठ आदि जेसुकैको कामना गर्नु पनि कर्मकै अधिकार हो त ? यसो गर्दा फलको आशा भयो कि भएन ?
आखिर मानिसले प्रार्थनामार्फत गर्नुपर्ने त कृतज्ञता अर्पण, धन्यवाद ज्ञापनमात्र होइन र ? अध्यात्मदर्शनले प्रकृतिको माध्यमबाट समग्र मानवको कल्याणतर्फ उत्प्रेरित गर्दछ भने आधुनिक विज्ञानले धेरै नयाँ नयाँ आविष्कारहरु गरिसके पनि प्रकृतिको सहायताबिना कुनै पशु वा वनस्पतिको बीज आफैं जन्माउन सकेको छैन । आधुनिक विज्ञानले जल उत्पादन गरेको छैन, यसले हावा निर्माण गरेको छैन । हामी निर्मल प्रकृतिमा निशूल्क सास फेरेर जिउँछौं । निशूल्क जलले तृष्णा मेट्छौं । पशु र वनस्पतिको उपभोग गरी हामी आफ्नो ज्यानलाई स्वस्थ/ तन्दुरुस्त बनाउँछौं । यति सबै भएर पनि अध्यात्म होस या विज्ञान दुवैले मृत्युलाई रोक्न सकेका छैनन् ।
हाम्रा लागि प्रकृतिबाट निशूल्क उपलब्ध यी सब सुविधाहरुको लागि प्रार्थनामार्फत यस प्रकृतिस्वरूप विराटतालाई धन्यवाद दिनुपर्ने होइन र ? चार पैसे भेटी र धूपको धुवाँले अघाएर खुशी हुँदै त्यो प्रतीमाभित्र कैद भगवानले दिएको हो कि प्रकृतिले दिएको हो हामीलाई यी सब कुरा ?
शास्त्रले प्रकृति र पुरुष दुवैलाई दैवी गुण वा दैवीशक्ति मानेको छ । अर्थात रज र बीज नै ईश्वर, भगवान, प्रमात्मा, ब्रह्म जे जे भने पनि सबैथोक हुन् । रज भनेको प्रकृति तत्व र बीज भनेको पुरुष तत्व !
विचार गर्नुस त आखिर प्रकृतितत्वमा बीजको आरोपण भएर भौतिक निर्माण नभई; त्यस भौतिक आकृतिमा चेतनतत्वको विकास नभई, त्यो चेतनमा ईश्वरीय कल्पना कसरी स्थापित हुन्छ ? आखिर चेतनाबिनाको ईश्वर अस्तित्व कहाँ सम्भव छ र ? पशुको कुरै नगरौं, सुस्त मनस्थिति भएको मान्छे नै छ भने पनि उसले ईश्वरको कल्पना गर्न सक्तैन । यद्यपि, उसलाई बाँच्नलाई खानुपर्छ भन्ने थाहा हुन्छ ! उसले खाने सारा चीज प्रकृतिले प्रदान गर्दछ ।
यसरी प्रकृतिलाई नै ईश्वरतत्व मानेमा खासगरी मान्छे आफैं ईश्वरको सन्तान हुनेछ । भगवान त ऊ स्वयं बन्नसक्छ ! उसमा जगतका सबै चराचरमध्ये अधिक बौद्धिक चेतना उपलब्ध छ भनिएको छ । त्यसकारण उसले जगतको कल्याण गर्ने उपायहरु सोच्न सक्छ । यो धर्ती र मानवीय समाजलाई अलकापुरी, इन्द्रप्रस्थ, स्वर्ग, द्वारिका, कैलाश अथवा रौरव वा कुम्भीपाक जे बनाउन चाहे पनि त्यो गर्न मानिसको चेतनाद्वारा सम्भव छ । यही कारण शास्त्रले “अहं ब्रह्मास्मि, तत् त्वम असि’ (म नै ब्रह्म हूँ; तिमी पनि त्यही हौ)” भनेको हो ।
आखिर मान्छेहरु केलाई भगवान् सम्झिएरहेका छन् ? भनिन्छ संसारमा भौतिक शरीर धारण गरी जन्म लिएर आएको अनन्त, निराकार, अविनाशी ईश्वरको साकार रुप भगवान हो । अनि शास्त्रको दिग्दर्शनमा मानव पनि त्यही ईश्वरको सृष्टि हो ।
अतः भगवान पनि मानव नै हो । भगवानको सम्बन्धमा शास्त्रहरुको एकमुष्ट भनाइ के छ भने कुनै निश्चित परिस्थितिमा ईश्वरीय गुणहरुको अंश दिएर जगतको कल्याण गर्न पठाइएका सन्देशवाहकहरु नै भगवान हुन् । अथवा ईश्वरीय अनुकम्पाले आफ्नै इच्छा अनुसार कुनै निर्दिष्ट, अस्थायी र अल्पकालीन उद्देश्यका लागि आफैं नश्वर शरीर धारण गरेर भगवान बनी यस धर्तीमा आएका हुन् । ईश्वर स्थायी ऊर्जाशक्तिको नाम हो भने भगवान अनित्य हो । मान्छेजस्तै जन्मने र मर्ने जीव हो भगवान । वर्तमानमा विगतका कुनै पनि भगवानको अस्तित्व उपस्थिति यो धरामा छैन । तर, ईश्वर अहिले पनि विद्यमान छ-सधैं रहन्छ; शास्त्रहरुको निष्कर्ष यही हो ।
यद्यपि, मान्छेहरु भगवानको नाम दिएर विशाल ब्रह्माण्डको निर्माता ईश्वरलाई आफ्नै अल्पचेतनाको चौघेरोमा थुनी आफ्नै सोचाइको सीमाभित्र कैद गरिदिन्छन् । जल-अन्न भगवानलाई चढाएको वा अर्पण गरिएको भनिन्छ ! भगवानलाई विश्राम गराइएको भनिन्छ !
के, चमेरोजत्रो मान्छेले त्यो विशाल, अनन्तपराशक्ति ईश्वरलाई खुवाउन, सुताउन सम्भव छ ? त्यसो गर्न आवश्यक छ ?
पूर्वीय दर्शनले यस चराचरमा पाँचवटा मूल अस्तित्वलाई स्वीकारेको छ ।
१. ईश्वर
२.जीव
३. प्रकृति
४. काल
५. कर्म
यी माथिका कुनै पनि एक चीज नभई अर्कोको अस्तित्व कायम हुँदैन । शास्त्रीय मतको आधारमा ईश्वर नभई अन्य चार कुराको अस्तित्व हुँदैन । अनि जीव, प्रकृति, काल र कर्मबिना ईश्वरको पहिचान पनि सम्भव हुँदैन ।
अतः जीव र प्रकृति नहुने हो भने ईश्वरको परिकल्पना कसले गरोस् ? काल र कर्म पनि चेतनाबाट प्रतिपादित परिकल्पनाकै उपज हुन् !
त्यसोभए यो भगवान् भन्ने चीज यी पाँच तत्वमध्ये कहाँनेर पर्छ ? ईश्वरत्वको स्थानमा मानिसले भगवान शब्दको दुरुपयोग गरिरहेको बुझिन्छ । माथि नै वर्णन गरिएको छ- ईश्वर र भगवान एउटै होइनन् ! यो कुरा मनन गरिएमा हाम्रो शास्त्र र सभ्यता पौरखी हुनेछ । हामी दर्शनचिन्तन र वैज्ञानिक तथ्यहरुको निकटमा पुग्नेछौं ।
विषयको सन्दर्भमा ईश्वर र भगवानबीच पार्थक्यको कुरो आइहाल्यो । यसबारेमा पनि अलिकति चर्चा गरौं न त ।
ईश्वरः
ईश् यानिकि नियन्त्रण गर्नु । संस्कृतको ईश् धातुमा वर् प्रत्यय जोडेर बनेको यो शब्दको अर्थ नियन्त्रणकर्ता वा नियन्त्रकको रूपमा पेश भएको छ । वैदिक ग्रन्थहरुले भनेका छन्- सम्पूर्ण स्वरुप, आद्य शक्ति या शिवको अनन्त व्यापक स्थिति नै ईश्वर हो । यो त्यो शक्ति हो जुन अजन्मा-अमर-अविनाशी छ अथवा काल (समय) भन्दा पहिले यो शक्ति विद्यमान थियो र कालको अन्त्यपछि पनि विद्यमान रहनेछ । कुनै एक क्षेत्र, एक विचार, एक वस्तुमा सीमित नरहने ईश्वर असीमित छ, अपरिमेय, अनन्त छ । रूप आदि (वर्ण, गंध व स्पर्श) भन्दा पर ईश्वर निराकार छ ।
भगवानः
भगवान शब्दका तात्पर्य त धेरैखाले छन् । पहिलो भ बाट भूवन वा भूमि बन्दछ । ग बाट गगन बन्दछ । वा बाट वायु र न बाट नक्षत्र बन्दछ । यो एक खाले तात्पर्य भयो । अर्को पनि यस्तैखाले परिभाषा छ । त्यो के भने आकाश, वायु, अग्नि र जल चार तत्वले पृथ्वीलाई सिंचन गरेपछि नै नयाँ सिर्जनाको आविर्भाव हुन्छ । त्यो संयुक्त सिंचनशक्ति नै भगवान हो । यसैलाई आधार बनाएर शास्त्रहरुले ‘सृष्टिको स्रोत पञ्च महाभूत’ भनेका छन् । पञ्चमहाभूतमा पृथ्वी, जल, अग्नि, वायु र आकाश नै पर्दछन् ।
उपनिषदहरुको निष्कर्षमा ईश्वर र भगवानबीचमा ठूलो भिन्नता देखाइएको छ । ईश्वरभन्दा विरपरीत भगवानचाहिं साकार हो, सीमित शरीर वा आयुष्यमा समेटिएको हुन्छ; ऊ हामीजस्तै बाँच्छ र मर्छ पनि । त्यसैकारण हामी भगवानको जन्मजयन्ती, निर्वाण आदि तिथि उत्सवहरु मनाउँछौं । परम्पराको आधारमा विष्णु, राम, कृष्ण, बुद्ध आदि भगवान भनिएका छन् । जसको सिद्धान्तमा कुनै निश्चित परम्परा, अष्टकर्म प्रतिपादन हुन्छ र अन्तमा विनाश भएर जान्छ । ती सबै सिद्धान्तकारहरु ईश्वर नभएर भगवानमात्र हुन्छन् । बौद्ध परम्परासँगै गौतम बुद्ध भगवान भए । ईशाई परम्परासँगै जिसस क्राइस्ट यशु भगवान भए । सिख परम्परासँगै नानक देव भगवान भनिए । ‘अहं ब्रह्मास्मी’ म स्वयं ब्रह्मा हुँ (हुनसक्छु) भन्ने हिन्दूशास्त्रको सन्देश र ‘तिमी स्वयं बुद्ध बन्नसक्छौ’, भनेर बुद्धले दिएका सन्देशहरुमा पनि यिनै माथिका प्रसंगहरु जोडिएका छन् ।
भगवान एक विशेष व्यक्ति हो जो अफूभित्र रहेको ईश्वरबारे अनुभव गर्न सक्छ । भगवान हम्रो पालक नभएर हामीजस्तै नश्वर शरीरधारी प्राणी हो तर, ऊ हाम्रो लागि मार्ग-दर्शक हुनसक्छ । किनकि भगवानले मनुष्यलाई आफ्नो देहमा ईश्वरको विद्यमानता रहेको कुरा अनुभूत गर्नसक्ने बाटो बताउन सक्छ । यही भएर वेदलाई अंग्रेजीकरण गर्नेहरुले ईश्वरलाई GOD र भगवानलाई LORD भनेका छन् ।
यी त भए शास्त्रीय कुरा । अब अर्को भाषा-विज्ञानको सन्दर्भ पनि छ ।
‘भग’ स्त्रीजनित शब्द हो । स्त्रीको यौनांगदेखि प्रजनन् दक्षतासम्म बुझाउँदछ यस शब्दले । केही शब्दकोशहरुले भग शब्दको पुल्लिंगी पर्यायका रूपमा सूर्य, चन्द्र, धन, इच्छा र सौभाग्यलाई पनि देखाएका छन् । यही भग शब्दमा ‘वान’ प्रत्यय जोडिए र भगवान बनेको छ । ‘वान’ भनेको कुनै चीजको युक्तता हो । जस्तै कुनै क्षमता वा शक्तिको विद्यमानता देखाउने स्थिति । शक्ति भएकोलाई शक्तिवान, बल भएकोलाई बलवान, क्षमता भएकोलाई क्षमतावान, वीर्य भएकोलाई वीर्यवान, गति भएकोलाई गतिवान, विद्या भएकोलाई विद्वान, भाग्यमानीलाई भाग्यवान, निष्ठा भएकोलाई निष्ठावान, धैर्य भएकोलाई धैर्यवान आदि आदि । यसरी ‘भग’ र ‘वान’ को सन्धि कायम भएर ‘भगवान’ शब्दको व्युत्पति भएको हो ।
प्रमात्माः
परम र आत्माको सन्धिबाट परमात्मा शब्द बनेको छ । परम भनेको प्रथम, पहिलो, विशिष्ट अथवा सर्वोच्च हो । आत्म भनेको चैतन्यसित सम्बन्धित शब्द हो । शास्त्रहरुमा यसैलाई प्राणशक्ति पनि भनिएको छ । अनि यसैलाई ईश्वर शब्दको पर्यायका रूपमा पनि प्रयोग गरिएको छ ।
देउता वा देवताः
निराकार, अक्षररूप परमब्रह्माले निश्चित प्रयोजनस्वरूप नश्वर अथवा भूलोकमा लिएका सगुण/ साकार रुपहरुलाई देवता वा देउता भनिएको छ । पुराणका कथाहरुमा धेरैजसो अजम्बरी वरदान पाएका असुरहरुलाई मार्ने लक्ष्यमा बारम्बार देउता बनेर ईश्वरले अवतार लिएका भन्ने प्रसंग छन् । यसमा विश्वास गर्ने वा नगर्ने प्रार्थी स्वयंको कुरो हो ।
दैवः
दैव भनेको त गुण हो । सरल अर्थमा यो शब्दले कुनै पनि देवतासित सम्बन्धित कर्म भन्ने बुझाउँछ । ईश्वर, प्रमात्मा, भगवान अथवा अलौकिक गुणको लागि भनेर जुन कार्य वा कामना गरिन्छ त्यसैलाई दैव भनिन्छ । गाउँले बोलीचालीमा यसलाई इक् प्रत्यय जोडेर दैविक पनि भनिन्छ जुन नयाँ व्याकरणको अतिरिक्त विशेषणमात्र हो । दैव भन्ने शब्द राम्रो वा नराम्रो दुवै अर्थमा प्रयुक्त भएको छ । जस्तैः ठूलो जनधनको क्षति भएमा ‘यसलाई दैव लागेछ’ भन्छन् । अथवा त्यस्तो नहोस् भन्नेपर्ने ठाउँमा,‘यसलाई दैव नलागोस्’ भन्छन् । तर, निष्कर्षमा यो शब्द पनि ईश्वरीयत्वसितै सम्बन्धित छ ।
ल अब यी सबै परिभाषित विशेषताहरु बिर्सिएर एकक्षणलाई समाजकै कुरामा केन्द्रित बनौं । ठिकै छः ईश्वरलाई नै भगवान भनेर बुझेछ रे मान्छेले । जे भने पनि मान्छेले आफ्नो पौरखले आर्जेको के चीजचाहिं उसलाई चढाउन सक्छ ? दूध चढाउँछ, गाईको ! फूल चढाउँछ बगैंचाको ! पानी चढाउँछ नदी, खोला, धारा-कुवाको ! अन्न-फलफूल वा लता-मिष्ठान्न जे जे चढाए पनि ती मान्छेले आफैं आर्जेका वस्तु होइनन् । प्रकृतिले सिर्जिएका चीजबीजमाथि अधीन जमाएर धाकसँगले ‘मेरो’ भन्ने ? अनि त्यही चीज चढाएँ भनेर गजक्क हुने ? चढाउनकै लागि मान्छेले आफ्नो पौरखको रूपमा के के चाहिं चढाउन सक्ला ? आफूलाई पर्याप्त पुगेर हिसाब नगरी अरुलाई बाँड्ने गरी मान्छेको निजी आविष्कार र उत्पति के छ यो संसारमा ? अथवा गीताले भनेको जस्तो कर्मफलको आशा नराखी, मान्छेले कुनै लोभ नराखी अर्पण गर्नसक्ने, गर्नुपर्ने विषय-वस्तुहरु के के छन् ?
यस्ता तमाम ज्ञानसागर हाम्रो दर्शनशास्त्रमा हुँदाहुँदै विश्व परिचालन गर्नसक्ने हाम्रो चेतन-उर्जामा चारपैसे भेटीको खिया लागेर पत्रु भइरहेको छ । द्रव्याशक्ति र भौतिक विलासिताको लालचमा हाम्रो विवेक नै बन्दकी बनिसकेको छ । अनि तिनै द्रव्याशक्त अपांग चेतहरु ‘भौतिकवादले संसार बिगाऱ्यो’ भनेर रोइकराइ गरिरहेका छन् । अनि, अध्यात्मको रक्षा र वृद्धिको लागि हैंसेको बल लगाउनेहरु नै अध्यात्म के हो बुझिरहेका छैनन् । अध्यात्मलाई भौतिकतत्वका विपरित, विरोधी वस्तुका रूपमा, विरोधी चेतनाका रूपमा व्याख्या गरिरहेका छन् । वास्तवमा भौतिक विज्ञानबिना अध्यात्म पनि अपुरै छ । हतियारलाई नै विज्ञान मान्ने हो भने पनि विष्णुसित कौस्तुभ मणि र शंख छन्, शिवसित त्रिशूल र मुण्डमाला छन्, कृष्णसित बाँसुरी र सुदर्शन चक्र छन्, रामसित धनुष्वाण छ, ब्रह्मासित ब्रह्मास्त्रहरु छन् ।
कसै गरे पनि आध्यात्म र भौतिकता एक्ला एक्लै छैनन् । अध्यात्मका विपरित भौतिकवस्तु मात्र हानिकारक छैन । बरु, मान्छेको चेतना हानिकारक छ । बन्दुक राखेको ठाउँबाट आफैं उठेर पढ्किन्छ र? कल्याणकारी सोचे मानिस भगवान बन्छ, विज्ञानको उपयोग हुन्छ; होइन भने विनाशकारी सोचमा ऊ राक्षस बन्छ । मानव आफैं हरेक आविष्कार र विनाशमा दायी छ । पदार्थ कहिल्यै चेतनाजतिको हानिकारक हुँदैन । तर, यहाँ बिडम्बना के छ भने भौतिक सञ्जालकै सहायता लिएर हामीलाई ‘आत्मजागृतिका अभिप्रेरक’ सन्देश सुनाउनेहरु भौतिकवादको विरोध गरेर शिशुहरुलाई सुनकेशी रानीको दन्तेकथा सुनाएझैं विज्ञानविरुद्ध अभिमानी बनाउँदै अमूल्य समयको बर्बाद गरिरहेका हुन्छन् ।
विभिन्न आडम्बरी विश्वास परम्परा, समुदाय र सम्प्रदायहरु बनाउने; समाजमा अनेक विभेदकारी वितण्डा मच्चाउने; धर्मको बहाना गर्दै समाजमा जात, वर्ण, वर्ग, लिंग, माला, टीकासम्मको भेद छुट्याएर अर्कोभन्दा आफू ठूलो र गतिलो, भगवानको साख्खै ज्वाइँ-भाञ्जा पर्ने अथवा नाता नै नपरे पनि छिमेकीसम्म ठान्ने अनि आफूभन्दा अर्को विश्वासपरम्परा, वर्ण, वर्ग वा सम्प्रदायमा रहेको अर्को मानिसप्रति हेयभाव राख्ने आदि वर्तमान समाजका अभ्यासहरु ‘कर्मको अधिकार’भित्र पर्छन् कि पर्दैनन् ?
उच्चसभ्यता र संस्कृतिको अभ्यास गर्दै सम्पूर्ण मानव जगतलाई आफ्नो ठान, त्यति गर्न नसके पनि कम से कम आफूजस्तै संस्कार भएका जतिलाई त आफ्नै मान न ! किन भित्रभित्रै छिःछिः र दूरदूर गर्छौ अनि बाहिर अरुले देख्ने ठाउँमाचाहिं चेप्रे घसेर लोकाचार देखाउँछौ ? “भगवानले ब्रह्माण्डका सबै कण-कणमा नजर पुऱ्याउँछ; मनभित्रको कुरा पनि भगवानबाट लुक्तैन”, तिमी नै भन्छौ! अनि कथनी र करणीको आकाश-पाताल तिमी नै छुट्याउँछौ ! “किताबका भ्याण्टा र बारीका भ्याण्टा” बीचको भिन्नता यहीँ नेर छ ।
‘बसुधैव कुटुम्बकम’को सन्देशमार्फत संसारलाई ‘स्वर्ग’ बनाऊ है भनेर शास्त्रले दिएको अर्तीलाई ‘मरेपछि मात्र पुगिने काल्पनिक स्वर्ग’को सिँढी बनाएर ‘जगत मिथ्या’ को विषवृक्ष कसले रोपेको हो? आफू रहेको संसारलाई आफैं स्वर्ग बनाएर सारा दुःख, कष्ट, इर्ष्या, द्वेष, भेवभाव रिसरागविहीन समतामूलक समाज निर्माण गर है भन्दै शास्त्रहरुले दिएका उपदेशहरुमा अनेक विंगा थपेर क्लिष्ट र जटिल बनाउँदै; कसैले नबुझ्ने, कसैले पढ्नै नहुने, कसैले छुनै नहुने जस्ता अवैध फतवा क-कसले जारी गरेका हुन् ?
यसरी आफ्नै भँडारमा मानवताको ज्योति निभाएर अन्धकार बनाउने, घरलाई खण्डहर बनाउने वा रछ्यानलाई फोहोर नाली झैं बनाउने अनि ईश्वर पुकारेर ‘मलाई यहाँबाट मुक्ति देऊ’ भन्दै कोहोलो मच्चाउँदा के ईश्वर आएर तिमीलाई बोकेर यो दुःखको खोला तारिदिन्छ ? ईश्वर तिम्रो हली बसेको छ र तिमीले अह्राएको आदेश मान्न ठिक्क हाँजिर होस् ? ईश्वर तिम्रो नोकर हो र जतिबेला तिमीले जे भन्यो त्यही पुऱ्याउने, जे माग्यो त्यही दिने ?
“मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि”, भनेको यही हो ?
जति नै धर्मका बखान गरे पनि, जति नै रामनामका बर्की ओडे पनि, जति नै सम्प्रदायका कच्छाड फेरे पनि, जति नै ठूलो स्वर १००८ मन्त्रसहित प्रार्थना गाइए, जतिसुकै ठूलो आकारमा ‘बडगली’ वा ‘तिंगली’ तिलक धारण गरे पनि, मर्कटा र मार्जला न्यायका जतिसुकै बखान लाएपनि सम्पूर्ण उन्मुक्ति अथवा मोक्षको लागि अबको बाटो भनेको कुनै भेदभावरहित मानवसेवा र सत्कार नै हो । प्रत्यक्ष लाभ लिने आशाबिनाको सेवाद्वारा स्थापित शान्ति र सद्भावना नै वैश्विक आनन्दको एउटामात्र बाटो हो !