नब्बेका घाउहरू : एक चर्चा
तिलक राई
बेलडाँगी, शिविर झापा
“जय गोर्खाको घाउ जस्तै
सत्याग्रहको घाउ जस्तै
नब्बेका घाउहरू पनि
दुखिरहने, बल्झिरहने गर्छ
शरीरको दीर्घ गाढे घाउ जस्तै ।” (नब्बेका घाउहरू शीर्षक कविताबाट)
‘नब्बेका घाउहरू’ कवि दिल भूटानीद्वारा रचित कविता कृति हो । यो कृति साहित्य परिषद् भूटानले वि.सं. २०७८ मा प्रकाशित गरेको हो । यस ९९ पानाको पुस्तकमा कविले ३५ थान कविताहरू सङ्गृहीत गर्नु भएको छ । यस कृतिमा समावेश कविताहरू नब्बेलाई मुख्य आधार स्तब्ध बनाएर रचिएका छन् । ती प्रत्येक कविताहरूमा भूटानी समस्याको जडप्रति जोड दिँदै कवि उत्पीडितहरूको पक्षमा उभिएको पाइन्छ ।
९०को दशकमा राजतन्त्र विरुद्ध उठेको आन्दोलन तत्कालीन रूपमा राज्यले अवलम्बन गरेको जनविरोधी नीति मात्र नभएर वर्षौँ अघिबाट असन्तुष्ट रहेको श्रमिक जनताको आवाज थियो । त्यो जनआवाजलाई राज्यले बन्दुकको भरमा दमन गरेको कारण एक लाखभन्दा बढी भूटानी जनताहरू देशबाट उच्छेद भएर शरणार्थी हुन बाध्य पार्यो भने ८० हजारभन्दा बढी आफ्नै देशमा रहेर पनि विदेशीको रूपमा जीवन बिताउन बाध्य भएका छन् । अहिले भूटानी जनताले भोग्न परेको दुःख कष्ट ९०को राजनीतिक आन्दोलनको असफलताले दिएका घाउहरू हुन् र ती घाउहरू भूटानी समस्याको सम्बोधन ठिक ढङ्गबाट नभएसम्म चराई रहने छ । देशी–विदेशी प्रतिक्रियावादीहरूले उत्पीडित भूटानीहरुको सपना पूरा हुन नदिन घोर निराशा फैलाई रहेको यो समयमा पनि एक दिन भूटानको राजनीतिक व्यवस्था परिवर्तन निश्चित हुने आशावादको सुन्दर दीप कविले बालेका छन् ।
तस्विरः तिलक राई
यो कृतिलाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट अध्ययन गर्न र चर्चा गर्न उचित हुनेछ । दिल भूटानी समकालीन भूटानी साहित्यकार/कविहरूमा श्रमजीवी र उत्पीडित जनताहरूको पक्षमा कलम चलाउने प्रगतिशील मार्क्सवादी कवि हुन् । कविले यस रचना कृतिमा उठान गर्नु भएको विषय, विचार र पद्धति त्यही दिशामा निर्दिष्ट भएको पाइन्छ ।
यस २१औँ शताब्दीमा स्वच्छन्द (कुनै सामाजिक, राजनीतिक, आर्थिक साथै जनजीविकासँग कहीँ कतै नजोडिने अर्थ लाग्ने साहित्यको वकालत गर्ने) साहित्यको वकालत भइरहेको अवस्थालाई कविले ठाडो चुनौती दिँदै यस पुस्तकमार्फत साहित्य कहिल्यै स्वच्छन्द हुँदैन तर स्वतन्त्र अभिव्यक्तिको माध्यम बन्नु पर्छ भन्ने सन्देश प्रवाह गर्नु भएको छ । साहित्य–सिर्जना भनेको समाजको दर्पण हो र हरेक समाजलाई राजनीतिक प्रशासनले शासन गरेको हुन्छ । त्यस कारण राजनीतिक समाजबाट सिर्जना गरिएको कुनै पनि साहित्य राजनीतिबाट अलग हुँदैन । यस कृतिमा कविले जोड दिएर उठान गर्नु भएको मुख्य विषय नै भूटानी जनताले वर्षौँदेखि भोग्दै आएका राजनीतिक दमन र राज्य आतङ्कको कथा हो ।
भूटानी समस्या भनेको नै राजनीतिक समस्या हो । भूटानी शासकहरूले जति नै विश्व समुदायलाई ढाँट्नको निम्ति कथित प्रजातन्त्र घोषणा गरे पनि राष्ट्रिय खुसीयालीको नारा घन्काए पनि भूटानी जनताहरूले राज्यको शोषण र दमनबाट मुक्ति पाएका छैनन् । मानव अधिकार र प्रजातन्त्रको निम्ति आवाज बुलन्द गर्दा देशबाट उच्छेद भएकाहरू र राजनीतिक बन्दीको रूपमा यातना गृहहरूमा बन्दी भएकाहरूले के पाए ? उच्छेदितहरु शरणार्थी जीवन बिताउन साथै बन्दीहरू बन्दी गृहमा जीवन बिताउन बाध्य छन् । यस्तो अवस्थामा राजनीतिक परिवर्तन कसरी हुन सक्छ ? यो त निरङ्कुश सत्ताले आफ्नो सत्ता जोगाउन चालेको चालबाजी मात्र हो । तमाम उत्पीडित भूटानीहरुले यो षड्यन्त्रलाई बुझ्नु पर्ने हो तर अबुझ भएर ढुक्क भएको देख्दा कवि उनीहरूप्रति प्रश्न गर्छन् — राज्यको दमन र शोषण हिजो र आजमा केही अन्तर छैन । यस्तो परिस्थितिमा कुम्भकर्ण झैँ कसरी ढुक्कले निदाउन सकिन्छ ? कम्तीमा दुखे पछि ऐया ! आवाज निकाल्ने हिम्मत राख्नु चलायमान र ज्यूँदै हुनुको सङ्केत हो ।
अहिलेको प्रजातन्त्र त बुख्याचा मात्र हो । यसले भूटानी जनता र देशलाई स्वतन्त्र, सार्वभौम र समृद्ध बनाउन सक्दैन । किन भने, सभासद्, संसद् र मन्त्री मण्डल साथै सम्पूर्ण सरकारी संरचनाहरू राजाको निर्देशनमा चल्छन् । यहाँको संविधान नक्कली छ, जनविरोधी छ र प्रजातन्त्र पनि नक्कली छ । प्रजातन्त्र भनेको जनताद्वारा, जनतालाई र जनताको लागि भन्ने सामान्य नियम हो । तर भूटानको प्रजातन्त्र यस नियममा आधारित छ ? छैन । त्यसो भए प्रजातन्त्र शासकलाई चाहिएको हो कि जनतालाई ? शासकलाई मात्रै चैन हुने प्रजातन्त्र शतप्रतिशत नक्कली नभए के हुन्छ ? यस्ता अनेकौँ राजनीतिक प्रश्नहरू कविले सशक्त रूपमा उठाएका छन् ।
राष्ट्रिय खुसीयाली भनेको राजा, राजपरिवार र सीमित दरवारीयहरुका खुसीलाई जनताले गुलामी गरेर बढवा दिनु हो । न देशमा सुशासन छ, न कानुनी राज्य छ, न रोजगार छ या जनतालाई राज्यबाट कुनै जीवनयापनको पूर्ण प्रत्याभूति नै प्राप्त छ । राज्यको यस्तो विडम्बनाप्रति कवि आक्रोश प्रकट गर्छन् — जो खुसी हुनु पर्ने तिनै जनताको खुसी लुटेर दरबार खुसी हुँदा कसरी राष्ट्रिय खुसीयाली हुन सक्छ ? यस सवालको जवाफ तमाम उत्पीडित भूटानी जनसमुदायले खोज्नु जरुरी छ ।
कविले बढो कलात्मक तरिकाबाट भुईँ मान्छेहरूको अवस्थालाई यथार्थ चित्रण गर्दै हरेक नागरिक राष्ट्रिय राजनीतिप्रति सचेत हुनु पर्ने कुरामा जोड दिनुहुन्छ । भन्नेहरूले जे–जे भने पनि राज्यको सञ्चालक शक्ति भनेको राजनीतिक व्यवस्था नै हो । राष्ट्र विकास र समृद्ध हुनु नहुनुमा राष्ट्रिय राजनीति कस्तो छ भन्नेमा भर पर्दछ । भूटानको राजनीति भनेको वाङ्चुक वंशीय निरङ्कुश राजतन्त्रात्मक दरबार केन्द्रित छ जसले देश निर्माणको मुख्य शक्ति जनतालाई रैतीको रूपमा व्यवहार गर्दछ । यस्तो प्रणालीले देश विकासको पदमा अघि बढ्न सक्दैन र जनता खुसी नभएको देशमा राष्ट्रिय खुसीयाली हुने कसै गरे पनि सम्भव छैन ।
सदियौँ देखी जनतालाई लुटेर सीमित दरवारीय तथा शासकहरूको लुटको स्वर्ग स्थापित गरेको छ । यो व्यवस्थाले सामन्ती तथा दलाल नोकर शाही राजनीतिक प्रणालीलाई दरिलो बनाउन सहयोग गरी रहेको छ । जबसम्म यो व्यवस्था रहन्छ तबसम्म भूटानी जनताले कहिल्यै उन्मुक्ति पाउने छैन । यो व्यवस्थालाई फाल्न नयाँ राजनीतिक व्यवस्था ल्याउन जरुरी छ । नयाँ व्यवस्था ल्याउन सार्वभौम देशको जनतामा सार्वभौमिकता निहित हुनु पर्छ । जनता सार्वभौम हुन जनस्तरबाट जनतामा नै निहित जनवादी राजनीतिक सत्ता व्यवस्था जनताले नै स्थापित गर्नु पर्छ । तमाम किसान, श्रमिक, लिङ्ग, क्षेत्र तथा विभिन्न पेसाकर्मीहरूले आफ्ना हक र हितको निम्ति गरिने वर्गीय सङ्घर्षको दिशा पकड्नु जनवादी सत्ता व्यवस्था स्थापनाको पहल कदामी हो । यसरी सचेत जनताहरू एक जुट भएर उठ्ने हो भने राज्य व्यवस्था परिवर्तन गर्न कुनै ठुलो कुरा होइन । सामन्ती तथा दलाल नोकर शाही पुँजीपतिहरूको शोषण र विभेदकारी लुटको स्वर्ग एक दिन जनविद्रोहको ज्वालामुखीले ध्वस्त पार्ने कविको निश्चय छ ।
शा–वा–सुम र ड्रिग्लाम–नाम्जा जस्तो जनविरोधी नीति शासन प्रणालीको मुख्य कानुन बनाएर जनतामाथि दमन थोपर्ने शासक मध्येका एक दागो छिरिङलाई जापानले कुशल भूटानी शासकको उपाधि प्रदान गर्यो । जापानले सन् २०२१ मा यस्तो पुरस्कार प्रदान गर्ने घोषणा गरे पछि उत्पीडित भूटानीहरुले अन्तर्राष्ट्रिय समुदाय साथै शक्तिशाली भनिएको जापानको असली हबिगत दिनको घाम झैँ छर्लङ्गै थाहा पाएका छन् । जापानको खेदपूर्ण कार्यले शासकहरू बिच रहेको वर्ग सामन्तको राम्रो प्रमाण दिएको छ । उत्पीडित जनतालाई वर्गीय दम्भको बुटले कुल्चिएर शासकहरू भोजमा रमाउँदै छन् । हिरोसिमाको देश जसले चरम पीडा भोगेको छ तर उत्पीडित भूटानीहरुको चित्कार सुन्नुको सट्टा भूटानी शासक दागो छिरिङलाई पुरस्कृत गर्नु न्यायोचित छैन । भुईँ मान्छेको आवाज नसुने पनि सदियौँ सम्म प्रश्न उठाउने सामर्थ्य राख्ने छ भन्दै कवि जापानप्रति खरो प्रश्न तेर्साउँछ — जापान तिमीले दागोलाई तिम्रो राष्ट्रिय पदकले सम्मान गर्दा उत्पीडित भूटानी जनताहरूप्रति न्याय गर्यौ ?
भूटानी समस्या सुल्झिनुको सट्टा झनझन जटिल बन्दै जानुको कारण वर्गीय मुद्दालाई सटीक पहिचान र सम्बोधन गर्न नसक्नु हो । तसर्थ कवि भन्छन् — भूटानी समस्याको एक मात्र समाधान भनेको वर्गीय राजनीतिक निकास हो । कविले नब्बेका घाउहरू, मेरा कविताहरू, म कसरी निदाऊँ ?, रिमोट, ऐना, लुटको स्वर्ग, हिरोसिमा लगायतको कविताहरूमा प्रचुर मात्रमा राजनीतिक मुद्दालाई उठाएको पाइन्छ ।
सैद्धान्तिक रूपमा यो कृति मार्क्सवादी सिद्धान्तमा आधारित भएको पाइन्छ । वर्गीय समाजमा हरेक चिज वर्गीय हुने कविको स्पष्टोक्ति छ । त्यस कारण साहित्य पनि वर्गीय हुन्छ । यस कृतिमा सर्वहारा वर्गको जनजीविका र दैनिकीसँग सम्बन्धित विषय बस्तुलाई भरपुर उठान गरेको पाइन्छ । यो गतिशील साथै तमाम शोषित पीडितहरूलाई उठाउँदै व्यक्ति, परिवार, समाज र सिङ्गो राष्ट्रमा क्रान्तिको बिगुल फुक्दै प्रगतिशील जनताहरू चरा जस्तै स्वतन्त्र हुनु पर्ने कुरालाई उठाएको पाइन्छ । तर ती जनताहरूलाई निरङ्कुश राज्यसत्ताले कैदी बनाएर राखेको छ । यस्तो प्रतिबन्धप्रति कविले सम्पूर्ण उत्पीडित जनताहरूलाई अन्याय विरुद्ध एक ढिक्का भएर उठ्न आव्हान गर्नु भएको छ ।
तस्विरः नब्बेका घाउहरू आवरण
चेले विश्व साम्राज्यवादसँग लड्दा लड्दै आफ्नो जीवन अर्पण गरे तर उहाँले वर्ग दुस्मन अगाडी आत्मसमर्पण गर्नु भएन र नै विश्व सर्वहारा वर्गको एक आदर्श बन्नु भयो । विश्व साम्राज्यवादीहरू चेको भूतबाट नडराएको ढोँग गर्न विश्व भरी चेको तस्बिरको व्यापार गरेको पाइन्छ । यो साम्राज्यवादीहरूको निम्ति व्यापार भयो होला तर उनीहरूलाई थाहा छैन कि विश्वभरिको वर्गीय मुक्तिको सिपाहीहरूको आदर्श तस्बिर विश्व भरी फैल्याउन स्वयम् साम्राज्यवादीहरू नै लागि परेका छन् । यो एउटा खुसीको कुरा हो । चेको एक हँसिलो तस्बिरले विश्व क्रान्तिको रातो झन्डा फरफराई रहेको छ । वर्गीय क्रान्तिमा लागेकाहरूको निम्ति गौरव र आदर्शको कुरा हो ।
द्वन्द्वात्मक भौतिकवादको ज्ञानसिध्दान्त अनुसार सही विचार, उत्पादन–सङ्घर्ष, वर्ग सङ्घर्ष र वैज्ञानिक प्रयोगबाट प्राप्त हुन्छ । सामाजिक व्यवहारबाट प्राप्त सही विचारले मात्र वैज्ञानिक विश्व दृष्टिकोण पैदा गर्दछ । सामाजिक क्रान्तिको निम्ति सही दृष्टिकोण हुनु जरुरी रहेको छ भनी कविले विषय बस्तुलाई उत्कर्षमा उठाउनु भएको छ ।
भूटानी इतिहासमा आजसम्म जनताले कहिल्यै जीतको स्वाद चाख्न पाएको छैन । सन् १९४७ देखि वर्तमानसम्मको जनविद्रोहले हार मात्रै देखेका छन् । भौतिक रूपमा अल्पकालीन हार स्विकार्नु परे पनि क्रान्तिकारी योद्धाहरू कहिल्यै हार खाने छैनन् र उनीहरू सानो कागजको टुक्रामा लेखिएको पर्चा जस्तै खम्भ, भित्ता, सडक र गल्लीहरूमा वर्गीय चेतनाको मसाल बोकेर निरङ्कुश राज्यसत्ता विरुद्धको सङ्घर्षमा डटिरहने छन् । यो ननिभ्ने झिल्को हो । एक दिन समस्याको सुकेको डङ्गुरमाथि क्रान्तिको झिल्को खस्ने छ र निमेषभरमा जलाएर खरानी बनाउने छ । त्यही खरानीमाथि सर्वहारा वर्गको सत्ता स्थापित हुनेछ ।
निरङ्कुश राज्यसत्तालाई फालेर जनताको जनसत्ता स्थापना गरी वर्ग मेटाउने शहीदहरूको सपना अझै पूरा भएको छैन । भौतिक शरीर दुस्मनको गोली र बुटले छियाछिया पारेर ढाले पनि कसै गरी क्रान्तिकारी जनताको सपना ढाल्न सक्ने छैन । एक व्यक्तिको जीवन कालमा यो सपना पूरा नभए के भयो त, यो त पुस्तौँ पुस्त सपना बोकी उठिरहने छ र एक दिन पूरा हुनेछ भन्ने कुरामा कवि दृढ विश्वास व्यक्त गर्छन् ।
जन भावना र जन आस्थामा विश्वास राख्ने वर्गीय मुक्तिको योद्धाहरू आफ्नो विचार, सिद्धान्त र विवेकमा अडिग हुन्छन् । कसैको उक्साहट वा उत्साहमा काम गर्दैन बल्की उनीहरू परिस्थिति अनुसार आफूलाई बदलेर परिस्थितिको सामना गर्ने क्षमता राख्छन् । उनीहरूको जीवनमा एउटै यथास्थितिले राज गरी रहन सक्दैन । गतिशील जीवनलाई सञ्चालन गर्न वैज्ञानिक गतिशील सिद्धान्तलाई कविले चराहरू, चेको तस्बिर, दृष्टिकोण, ताल्चा, पर्चा लगायतको कविताहरूमार्फत दरिलोसँग उठान गर्नु भएको छ ।
भौगोलिक र जनसाङ्ख्यिक आधारमा सानो र थोरै भए पनि भूटान बहु जाति, बहु भाषी र बहुसाँस्कृति भएको देश हो । सन् १९०७ मा प्रत्यक्ष वंशीय निरङ्कुश राजतन्त्र स्थापना भएबाट नै दरबारले यी बहुभाषिक र बहुसाँस्कृतिक जनताहरूको अस्तित्व सामाजिक रूपमा स्वीकार गर्नको सट्टा विभेदकारी नीति अवलम्बन गर्दै आएको पाइन्छ । राज्यको दमन र शोषण चरम चुलीमा पुग्दै गए पछि सन् १९४७ मा विभेद विरुद्ध जनताले विद्रोहमार्फत आवाज उठायो । त्यस समयमा ‘जय गोर्खा’को नारा घन्काएर राज्यसत्ताको शोषण विरुद्ध जनताहरू (विशेष गरी दक्षिणको नेपाली भाषीहरू) जुरुक्कै उठेको पाइन्छ । वास्तवमा त्यो मुद्दा गम्भीर प्रकृतिको खास गरी ठोस भन्नु पर्दा राजनीतिक मुद्दा थियो । त्यस बखत जातीय मुद्दा त्यो पनि सामाजिक मुद्दाको रूपमा मात्रै उठाएको पाइन्छ । जय गोर्खा भनेको न सङ्गठित पार्टी थियो न त्यसले राजनीतिक मुद्दालाई उठाउन सक्यो । त्यसले केवल गोर्खा जातिलाई सामाजिक हैसियतमा स्वीकार गर मात्र भन्न सक्यो । त्यो विद्रोहले केही गर्न नसके पनि जनविद्रोहको बिउ रोप्न ऐतिहासिक रूपमा सफल भयो ।
जय गोर्खाको जनविद्रोहमा राज्य पक्षबाट कति निमुखा मान्छेहरू मारिए आजसम्म कुनै लेखाजोखा छैन । हिसाब छ त केवल महासुर क्षेत्री हत्याको मात्र । महासुरको हत्या पछि ‘स्टेट काँग्रेस’ पार्टीले राजनीतिक मुद्दा उठाउन खोज्यो । त्यही सिलसिलामा सर्वाङ्गमा सामूहिक हत्याकाण्ड मच्चाएर राज्यसत्ताले जनविद्रोहको आवाज सजिलै दमन गर्यो । त्यस पछिका दिनहरूमा राज्यसत्ताले जनस्तरमा कस्तो सामाजिक संस्कार स्थापना गर्यो भन्ने कुरा कविले आफू जन्मँदाको वातावरणलाई प्रस्तुत गरी सिङ्गो अवस्थालाई औँल्याएका छन् । निरङ्कुश राज्यसत्ताले यति धेरै त्रास पैदा गरेको थियो कि देशमा रहेका जातिहरूको सामाजिक संरचना र संस्कार जबर जस्ता परिवर्तन गरिदिएको थियो । एउटी आमा आफ्नो सन्तानलाई जन्म दिँदै गर्दा जति खुसी हुनु पर्ने हो त्योभन्दा बढी सामाजिक द्वेषको डरले आतिनु पर्ने स्थिति पैदा भएको थियो । त्यो स्थिति अहिलेसम्म कायमै छ देशमा । हामी उत्पीडित भूटानीहरुमा सामाजिक सद्भावको गहिरो चेत नआउनु विडम्बना हो । राज्यले फैलाएको सामाजिक द्वेष हामी बिचमा अझै धङ्धङे रहिरहेको पाइन्छ ।
हाम्रो समाजमा रहेका धेरै कमजोरीहरू मध्ये लालची प्रवृत्तिले गर्दा हामी हाम्रो लक्ष्यमा पुग्न नसकेको हो । अरू देशहरूमा सामाजिक क्रान्ति हुँदा शदीदहरुको सपना पूरा गर्न उनीहरूकै पदचाप पहिल्याएर अघि बढेको पाइन्छ तर हाम्रो सवालमा त्यसको विपरीत संस्कार रहेको छ । यो हाम्रो सामाजिक संस्कारको उपज भएको भन्दै कविले औँला उठाएका छन् ।
हुन सक्छ अल्प विकसित देशमा मानिसहरू अति लालची र अवसरवादी हुँदो हो र त सामाजिक धरातल कमजोर भएका भूटानीहरु पनि अछुतो रहन सकेनन् । विकसित देशको सपना देखे पछि कसैलाई सामाजिक सद्भाव, मूल्य र मान्यताको सीमाले रोक्न सकेन । परिवार टुटफुट पार्न तयार भए र परिवार मात्रै फुटेन सिङ्गो समाज झुरा झुरा भयो । भूटानी शरणार्थीहरू शरणागत देशबाट विश्वको विभिन्न देशहरूमा पुगे । हाल देशबाट पनि अस्ट्रेलिया र अमेरिका जानेको लर्को बढ्दो छ । यसप्रति कवि गम्भीर र चिन्तित भएको पाइन्छ ।
सामाजिक परिवर्तनको निम्ति मुद्दा उठाएर उभिएको एक योद्धालाई दुस्मनको गोलीले दिइने पीडा त केही होइन तर आफ्नाहरूले नै आफ्नो अभियानलाई दुत्कारेर एक्लो छोडेर जाँदाको पीडा कस्तो हुन्छ भन्ने बोध पाइन्छ जून तिमी भए पछि, महासुर, म जन्मँदा लगायतको कविताहरूमा ।
योद्धाहरू इस्पात हुन् जति चोट, हन्डर खाए पनि उति नै स्पातिलो बन्दै जान्छ । यस्तो परिस्थितिमा निराश होइन बरु उच्च मनोबलको साथ विसङ्गति र कुसंस्कार विरुद्ध निर्मम भएर लाग्नु पर्ने कविको सुन्दर सन्देश पाइन्छ ।
एसिया महादेशको दुई ठुला देशको बिचमा रहेको भूटान सानो भूपरिवेष्टित देश हो । यो कृषि प्रधान देश हो । ठोस रूपमा भन्नु पर्दा कुल जनसङ्ख्याको ९७ प्रतिशत मानिसहरूको आय श्रोत भनेको कृषि नै हो । जुलुमी सरकार विशेष गरी राजाले यो कुरालाई सैद्धान्तिक रूपमा स्वीकार गरे पनि व्यवहारतः स्वीकार नगरेको पाइन्छ । ९०को दशकबाट यता सरकारले ल्होत्छाम्पाहरूले कानुनी रूपमा उपभोग गर्दै आएका जमिन कटौती गर्ने काम तीव्र बनाएको छ । जुन जमिनमा राम्रो अन्न उत्पादन हुन्छ त्यही जमिन सरकारले जफत गर्ने र नगदे बाली सुन्तला साथै अलैँची बगैँचा पनि जफत गर्ने गरे पछि कृषकहरू कृषि उत्पादनप्रति उदास बन्दै गएका छन् । दिनदिनै कृषि योग्य जमिन बन्जर मरुभूमिमा परिणत हुँदै गएको छ । एक पछि अर्को तरिकाबाट बहु सङ्ख्या कृषकहरूलाई सरकारी नीति अन्तर्गत नै जमिनबाट अलग गरिरहेको छ । सरकारले जनताको आय श्रोत पूर्ण रूपमा बन्द गरेर सरकारी राजस्व चाहिँ हरेक बस्तुमा वृद्धि गरिरहेको छ । श्रमिक जनताहरूको ढाड सरकारी राजस्व र महँगीले सेकिरहेका छन् । यस्तो अवस्थामा सरकार कुल राष्ट्रिय खुसीयाली भएको हल्ला मच्चाएर ध्वानी प्रदूषण गरिरहेको छ । जो खुसी हुनु पर्ने हो उनै खुसी छैन भने राष्ट्रिय खुसीयाली हुने कुनै सङ्केत छैन ।
जमिन जोत्ने किसानहरूलाई आफ्नो जमिन जोतेर अन्न उत्पादन गर्न सरकारले प्रतिबन्ध गरेको छ । जुन देशको किसानहरू आँखा सामु बाँझो जमिन हेर्दै विदेशबाट आयातित तरकारीदेखि सबै खाँद्या वस्तुहरू खरिद गरी खानु पर्ने अवस्था हुन्छ भने उनीहरूको आर्थिक स्थिति कस्तो होला सहजै बुझ्न सकिन्छ । जबसम्म किसानहरूले जमिनको भरपुर उपयोग गरी स्वउत्पादन गर्न र असार पन्ध्रको हर्षोल्लासमा सहभागी हुन पाउँदैनन् तब आर्थिक रूपमा देश आत्मनिर्भर हुन सक्दैन । तमाम श्रमजीवीहरू रोएर दरबार हाँस्दा आत्मनिर्भर अर्थतन्त्रको जग बस्दैन बरु त्यसले परनिर्भरता र शोषण थोपर्छ । यस्तो विसं परिस्थितिबाट मुक्त हुन तमाम श्रमजीवी किसानहरू उठ्न कविको जोडदार आव्हान छ ।
नोकर शाही तथा दलाल पुँजीमा आधारित आर्थिक नीति अवलम्बन गरेको भूटान सरकारले सन् २०१० यता विश्व श्रम बजारमा भूटानी श्रमलाई समावेश गर्ने नीति ल्याएको छ । यसले देशमा दक्ष जनशक्ति, युवा शक्ति र स्वउत्पादनको खडेरी पैदा गरेको छ । वैदेशिक रोजगारीप्रति भूटानीहरु अति नै आकर्षित भएको पाइन्छ । देशभित्र रोजगारीको अभाव बनाइए पछि विदेशप्रति आकर्षित हुन स्वाभाविक हो तर दीर्घकालीन रूपमा यस्तो कार्य व्यक्ति, समाज र देश कसैको हितमा हुने छैन ।
हाम्रो जस्तो अविकसित देशको श्रमिकहरूले देशमै श्रम गर्दा भौतिक सुविधाको अभाव जेल्नु कुनै आश्चर्यको कुरा होइन । विकसित देशमा भौतिक सुविधा सम्पन्न भए पनि श्रमिक त श्रमिक नै हुन्छ र आफ्नो हैसियत कहिल्यै बदल्न सक्दैन । त्यस कारण वर्गीय मुक्तिको लागि स्वउत्पादनमा जोड दिँदै आत्मनिर्भर अर्थतन्त्र निर्माणको बाटोमा अघि बढ्नु नै सही मार्ग हुने कविको ठम्याइ छ ।
जनताको अवस्था र आवश्यकता के छ ? भन्ने सरकारलाई सरोकार छैन । सरोकार छ त केवल आदेश पालन गराउन र राजस्व असुल गर्न । यसरी जनतालाई आर्थिक रूपमा शिथिल बनाएर निरङ्कुश राज्यसत्ता झनझन दुन्दुभि रूपको प्रदर्शनमा उत्रिएको छ । यसको खिलाफ कविले असार पन्ध्र, बासी भातको दौड, नुनको चिन्ता छ र उपियाँ कवितामा जनवादी अर्थतन्त्र निर्माणको सवाललाई सरल र सुन्दर तरिकाबाट उठान गरेको पाइन्छ ।
भारतीय विस्तारवादले भूटानलाई वर्षौँदेखि उपनिवेश बनाउँदै आएको छ । भूटानको सम्पूर्ण प्राकृतिक श्रोत–साधन कब्जा गरेर जनतालाई दैनन्दिन गरिब बनाउँदै दरवारलाई अनुदान दिने भारत परजीवी भएको कविको किटान पाइन्छ । भारतले आफ्नो स्वार्थ पूरा नभएसम्म भूटानलाई परजीवी कीटाणुले झैँ चुसेर आर्थिक टाट र कङ्गाल बनाएर मात्र छोड्ने छ ।
यस कृतिमा समावेश हामी यहाँ छौँ, मेरा दुई मित्र छन् र महला शीर्षकका कविताहरूमा कविले देश प्रेम र प्रकृति प्रेमको भाव प्रचुर मात्र व्यक्त गरेको पाइन्छ । वास्तवमै भन्नु पर्दा यो कृति देश प्रेमको भावले उत्प्रेरित भएर कविले रचना गरेको पाइन्छ । फेरि प्रेम भन्दा फगत दर्साइने प्रेम नभएर यथार्थ परक ढङ्गबाट व्यवहारिक प्रेमको भावलाई जगाउन खोजिएको छ । देश/राष्ट्र भनेको भूगोल मात्र होइन । यो त निश्चित भूगोलभित्र बसोबास गर्ने मानिसहरूको जनसङ्ख्या पनि हो । निरङ्कुश राजतन्त्रले १/६औँ जनसङ्ख्यालाई देशबाट उच्छेद गरी विभिन्न देशहरूमा छरिन बाध्य बनाएको छ । यसले देशकै अस्तित्वमाथि सङ्कट पैदा गरिरहेको बेला मातृभूमिभन्दा बाहिर रहेका भूटानीहरुले आफ्नो अस्तित्व कायम राख्न जस्तोसुकै सङ्घर्ष गर्न तयार छन् । यो भूटानीहरुको देशप्रतिको उच्च सम्मान र आघात प्रेमको अभिव्यक्ति हो । देश प्रेमकै कारण कवि राज्यले लिएको नीति र दुई छिमेकी राष्ट्रहरूको रवैयाप्रति गम्भीर भएको पाइन्छ ।
देश बचाउने भनेको जनताले हो न कि राजाले । सन् २००६मा उत्तरी उच्च हिम चुचुरोसहित ८,१०६ वर्ग किलोमिटर चीनलाई हस्तान्तरण गर्दा देशमा राजा थिएन ? अवश्य राजा थियो तर आफ्नो जमिन जगाउन सकेन । यसको अर्थ के हो भने, जनता राजनीतिक रूपमा सचेत भएन भने जहिले पनि अरू विदेशी शक्ति राष्ट्रले भौतिक भूगोल खाइदिन सक्छ । तसर्थ तरुल जस्तो कुच्ची जाने होइन कि हरेक जनता डाइनमाइट जस्तो बन्न सके मात्र देशको रक्षा गर्न सम्भव भएको कविको दाबी छ ।
कोभिड—१९ विश्व महामारीले विश्वको विकसित भनिने र आणविक हतियारको घमन्ड प्रदर्शन गर्ने देशहरूलाई राम्रो चेतावनी साथै सबक सिकाएर गएको छ । त्यस कारण प्रकृति संरक्षण र प्राकृतिक मैत्री विकासबारे भुटान र भूटानी जनता सजक हुन जरुरी छ । यसरी नै भूटानी जनताहरू मुखमा पानी हालेर बस्ने र दरबारको स्वार्थ पूरा गर्न विदेशी इसारा अनुसार राष्ट्रिय प्राकृतिक श्रोत दोहन गर्दै जाने हो भने विश्व मानचित्रमा भुटानको अस्तित्व नरहने अवस्था नआउला भन्न सकिन्न ।
यो कृतिमा उठान गरिएको मुख्य मुद्दा भनेको राजनीतिक मुद्दा हो । भूटानी समस्या भनेको राजनीतिक समस्या हो र यसको हल पनि राजनीतिक नै हुनु पर्दछ । यसको निम्ति विभिन्न जाति, धर्म र समुदायको उत्पीडित जनताहरू राजनीतिक रूपमा सचेत भएर उठ्नु पर्दछ । जनता नै परिवर्तनको संवाहक हुन भन्ने सन्देश सम्प्रेषण गरेको पाइन्छ । यो वर्गीय समाजका साहित्यकारहरू सबै वर्गीय पक्षधर हुन्छन् । उनीहरूले नै समाजमा रहेका उत्पीडितहरूको जनजीविकासँग प्रत्यक्ष जोड्न सक्ने रचना सिर्जना गर्ने जिम्मेवारी बोध गर्नु पर्छ कविले भनेका छन् ।
‘नब्बेका घाउहरू’ पूर्ण मार्क्सवादी सिद्धान्तमा आधारित छ । यस सङ्ग्रहमा मार्क्सवादी सौन्दर्य चिन्तन निकै कुशल ढङ्गबाट कविले प्रस्तुत गरेको पाइन्छ । यहाँ भेटिएको सबैभन्दा सबल पक्ष के छ भने, कवि निश्चिन्त रूपमा दैनिक आफू वरिपरि घटेका घटनाहरू, बोलीचालीको सरल भाषा र शब्दहरूलाई प्रयोग गरी मार्क्सवादी विचार पाठकसामु पेस गर्न सफल भएका छन् । यस कृतिमा समावेश गरिएका रचनाहरूलाई पढ्दै जाँदा काहीँ कतै पनि मार्क्सवादी विचारलाई थोपरेको पाइँदैन तर गम्भीर रूपमा यसको सौन्दर्य साथै राजनीतिक सचेतनालाई केलाउँदा मार्क्सवादी मूल बाटोमा पुर्याउँछ । यो कविको सबल वैचारिक पक्षको नमुना हो ।
भूटानको निरङ्कुश राज्यसत्ताले सदियौँ देखि निमुखा जनतामाथि दमन गर्दै आएको छ । दमनकै कारण परिवर्तन कामी जनताहरू खुलेर बोल्न सकेका छैनन् । यसरी अत्याचार सहनु भनेको पनि अत्याचार गर्नु बराबर हो । त्यस कारण राज्यसत्ताले मच्चाएको दमन विरुद्ध नउठी मुक्ति नपाइने निश्चित छ । उत्पीडितहरूको अस्तित्व नामेट पार्न खुनी सत्ता काब्रो झैँ जरा फैलाउँदै हाम्रो दिमागमा आक्रमण गर्दै छ । तर त्यसलाई बन्चरो रुपी वैचारिक हतियारले एक एक गरी काटिदिनु पर्छ । त्यो काम हामी आफै गर्नु पर्छ । यसरी कवि आफ्नो कृतिमार्फत जनविद्रोहको राँको बाल्नु हुन्छ ।
जतिसुकै उत्पीडित वर्गको आस्था र भरोसालाई राज्यसत्ताले खरानी बनाए पनि परिवर्तन कामी योद्धाहरू निराशामा डुब्नु हुँदैन । किन भने, त्यो प्रतिक्रियावादी राज्यसत्ताको लागि मात्र खरानी हो । हाम्रो त त्यो इतिहास हो, कहिल्यै नमेटिने दस्ताबेज हो । जसले हामीलाई निरन्तर न्यायको बाटोमा अघि बढ्न झकझकाई रहनेछ ।
समग्रमा राजनैतिक, सैद्धान्तिक, सामाजिक र आर्थिक पक्षबाट हेर्दा कृति भुईँ मान्छेहरूको आवाज हो । विभेद, दमन र अत्याचार विरुद्धको आवाज हो । भूटानी सन्दर्भमा जनक्रान्तिको राँको बाल्न सक्ने कृति बनेको छ । यो कविता कृति प्रगतिशील कित्तामा उभिन सफल भएको छ भने भूटानी प्रगतिशील साहित्यको क्षेत्रमा एउटा दरिलो इँटा थपिएको छ ।