नयाँ वर्ष
डी एन काफ्ले
एड्लेड अस्ट्रलिया
नयाँ वर्ष
भोलि पनि
एक अन्जुली आशाका किरणहरु
बोकेर सूर्य एकाबिहानै डाँडै-डाँडा ओरालो झर्नेछ
र गरिबको आँगनमा पुगेर खुइया-मार्ने छ
मन्दिरहरुबाट भक्तहरुले
प्रायस्चितका सङ्ख फुक्ने छन्,
र बिथोल्नेछन शान्ति झिस्मिसेमै
माथिङलबाट तप्केको
एक थोपा पागलपनमा
म निथ्रुक्क भिज्नेछु
भोलि पनि
अनगिन्ती पाइलाहरू गन्तब्य
खेद्न व्यस्त हुनेछन
बाटोहरुले यात्रािलाई जितेर
भोलि पनि धेरै पर पुगेका हुनेछन
सपनाहरू यसरी नै वर्जित हुनेछन
टाकुराहरुले समथर ताक्नेछन
बेसीफांटहरुले टाकुराको गीत गाउँनेछन
भोलि पनि
बगरहरुको तिर्खा मेट्न
खोल्सी, छहराहरु बैँस लर्काएर दौडनेछन
भिर-पहराको छाती माथि बाट
हिउँको न्यानोपनमा लठ्ठिएर
हिमाल सुत्नेछ आदिमकाल देखिको उश्ण निद्रा-तिर्खा
भोलि पनि
यी चम्पा, बेली र चमेलीहरु
यसरी नै मुस्कुराउनेछन-स-साना नानीहरूको मुस्कान चोरेर
र खस्नेछन-युद्धमा खसेको जवान झैँ
चरीहरुले उही गीत गाँउनेछन चिर्-वीर-चिर-वीर सदियौँ झैँ
रुख, पालुवाहरु यसरीनै सुसेलिरहनेछन दोबाटोमा बसेर
हावाको बर्बर्तामा कयन फूलहरू रुनेछन
कसैले नदेख्ने पाखन्डी समय यसरी नै
मानसिक ताडना दीईरहनेछ
ममा बिचार हरू यसरी नै आउनेछन, जानेछन
म भित्रको मान्छेको दम्भ यसरी नै हाबी हुनेछ
अज्ञानता र घमन्डले
भोलि पनि
म यसरीनै फुल्लिनेछु, गर्जिनेछु, थाक्नेछु
भोलि पनि
फेरी सगर बल्ने छ-खरानी बन्ने छ
भोलि पनि
फेरी यो मन जल्ने छ, पानी-पानी बन्ने छ
भोलि पनि
संसार उही हुनेछ,
सिमाना र पर्खालहरु उही हुनेछन
यो दुनियाँ उही हुनेछ
हिजो जसतै
अस्ति जसतै
पोहोर जसतै
सधैंँ झैँ
भोलि पनि
उस्तै उस्तै हुनेछन
हावा-
पानी –
ढुङ्गो
माटो
सपना-
बादल –
आकाश –
सूर्य, –
जुन,
तारा – सबै सबै
तर
मैले भने
भोलि सखारै आँखा खोलेर
क्यालेन्डर फेर्नुछ
भोलि सखारै आँखा खोलेर
बहाना गर्नुछ-
नयाँ सपनाहरुको
नयाँ जोसजाँगरको
नयाँ वर्षको