नाच्नु र गाउनुमात्र संस्कृति होइन

देबी सुवेदी ‘बी’
पेन्सिलभानिया-अमेरिका

हाल अमेरिकामा नेपालीभाषी भूटानीहरूको जीवन, कला-संस्कृति, साहित्य अनि वास्तविकतालाई अध्ययन-अनुसन्धान गर्न खोज्ने व्यक्ति, संस्था अनि विश्वविद्धालयहरूको संख्या बड्दै गएको देखिन्छ । नयाँ पिढ़ीसँगको हावभाव, कुराकानीलाई आधार बनाएर लेखिएका लेखहरू, इन्टरनेटमा प्रशस्तै पढ्न सकिन्छ । यस्ता छुट्टा-छुट्टै विचार समावेश गरिएका लेखहरूले हाम्रा भावी सन्ततिलाई अन्योलमा पार्नसक्ने र हाम्रो जातीय पहिचान वा धर्म-संस्कृति विवादित हुनसक्छ ।

हालैमात्र हाम्रो संस्कृतिलाई अध्ययन गर्न चाहने तीन छुट्टा-छुट्टै व्यक्तिहरूसँग मेरो सम्पर्क भएको थियो । तिनीहरुमध्ये एक अंग्रेजी साहित्यमा पीएचडी गरेका पेन स्टेट यूनिभर्सिटीका प्राध्यापक पनि हुनुहुन्थ्यो । उहाँले हाम्रो संस्कृतिका बारेमा अध्ययन गर्न र हाम्रो वास्तविकतालाई समेटेर एउटा लिखत दस्तावेज तयार पार्न चाहना राख्नुभएको रहेछ । उहाँले मलाई पेन्सिलभानियामा रहेका विभिन्न भूटानी संगठनहरूले गरेका थुप्रै सांस्कृतिक कार्यक्रममा आफू समावेश भएको तर ती सांस्कृतिक कार्यक्रम भनी नामांकन गरिएका नाचगान कार्यक्रममा बजेका नेपाली र हिन्दी रिमिक्स गानाहरूबाट आफ्नो लेखलाई खास्सै सहयोग नपुगेको दुखेसो पोख्नुभयो । उहाँले आफूले एउटै बेदना बोकेका धेरै मानिसहरू चिनेको तर, केहीले नेपाली र केहीले भूटानी भनी परिचय दिएकाले आफूले लेख्दै गरेको दस्तावेजको शीर्षक नै अन्योलमा परेको बताउनु भयो । आफूमा पनि सांस्कृतिक ज्ञान अपरिपक्व भएकाले उहाँसँग फेरि भेट्ने सल्लाह लिएर विदा भएको छु । उहाँसँग फेरि भेटघाट गर्न कुनै कोसेली संकलनका लागि केही आफूभन्दा ठूलो उमेरका व्यक्ति, अनुभवी गुरुवर्गलाई फोन सम्पर्क गरें तर पनि उहाँको जिज्ञासालाई समेट्ने सम्पूर्ण सामाग्री तयार पार्नसकेको छुइनँ ।

यो घटनाले मेरो मनमा खुल्दुली मच्यायो । त्रैमासिक पत्रिका ‘भूटान’ अंक 1-को सम्पादकीयमा लेखिएको वाक्य याद आयो, ‘संस्कृति भनेको नाच्नु र गाउनुमात्र होइन ।’ कतै हामीले (एरीको भूटानी समाज) ले पनि नेपाली र हिन्दी रिमिक्स समावेश गरिएका नाचगान कार्यक्रमलाई सांस्कृतिक कार्यक्रम नै त भनेका थिएनौं ? अहिलेसम्म हामीले आफ्नो समाज र संस्कृति चिनाउन गरेका थुप्रै कार्यक्रममा के-के गर्यौं भन्ने कुरा सम्झनँ थालें । आफूहरूले गलत गरिराखेको आभास भयो र मनमा खिन्नता लागेर आयो, आफूहरूले पनि प्रत्येक नाचगान, कार्यक्रमलाई सांस्कृतिक कार्यक्रम नै भनेका रहेछौं ! प्रत्येक सांस्कृतिक कार्यक्रम भनी गरिएका कार्यक्रमहरूमा नाचगान नै समावेश गरेका रहेछौं । मनमा प्रश्नहरू उब्जिए, यदि नाचगानमात्र हाम्रो संस्कृति होइन भने, हामीले हाम्रो संस्कृतिलाई चिनाउन के गर्ने, कस्ता कार्यक्रमहरू ल्याउने ? पेन्सिलभेनियाको एरीमा हामीले सामाजिक पुराण लगायौं, बुद्ध जयन्ती मनायौं, दशैं-तिहार मनायौं, क्रिसमस मनायौं, ल्होसर मनायौं तर, यी सम्पूर्ण कार्यक्रमलाई समाजले धार्मिक कार्यक्रम भनेर नाम दियो । अब त्यसो भए सांस्कृतिक कार्यक्रम भनेको चाहिं खास के…प्रश्न फेरि पनि आफैंमा सीमित रह्यो ।

यसपछि मैले गत चारवर्षदेखि भूटानी शरणार्थीहरूसँग निकटमा रहेर काम गर्दै गरेका एरीका पाँच व्यक्तिहरूलाई, उहाँहरूले यो अवधिसम्म हाम्रो संस्कृतिको बारेमा के बुझ्नुभयो भनेर सोधेको थिएँ । उहाँहरूमध्ये एकजनाले केही भन्न खोज्नुभयो तर, बाँकी चारजनाले,‘भूटानीहरू राम्रो नाच्छन् र नाचगानमा धेरै चासो दिन्छन्’, भन्ने जवाफ दिए । विद्धार्थीहरूले विद्धालयमा भाग लिएकादेखि भूटानी समाजले गरेका प्रत्येक नाचगान कार्यक्रमलाई सांस्कृतिक कार्यक्रम भनी नाम दिइएकाले र प्रत्येक सांस्कृतिक कार्यक्रम भनी गरिएका कार्यक्रम नाचगान कार्यक्रम नै भएकाले होला यहाँका देशीहरूमा ‘भूटानीहरूको संस्कृति नाचगान हो’ भन्ने आभास भएको छ ।

अतः मेरो यो टिप्पणीको वास्तविकता के हो भने हामी युवावर्ग (जसद्वारा विभिन्न सिटीहरूमा भूटानी समाज गठन तथा सञ्चालन गरिएको छ) मा हाम्रो संस्कृतिका बारेमा कम ज्ञान छ । त्यसर्थ हामीलाई आफ्नै भाषामा सम्पूर्ण धर्म-संस्कृतिलाई समेटेर लेखिएको निर्देश पुस्तिकाको आवश्यकता रहेको छ, जसले हामीलाई सम्पूर्ण सांस्कृतिक ज्ञान प्रदान गर्न सकोस् । आफ्नो संस्कृतिका बारेमा अरु कसैले खोजेर लेखेका पुस्तक वा लेखहरूभन्दा आफ्नै विद्वान् हरूले लेखेका लेखहरू हाम्रा भावी पिढीलाई विश्वसनीय हुने भएकाले आफ्नो जातिको भाषा, संस्कृति, साहित्य अनि वास्तविकतालाई समेटेर पुस्तक तयार पार्न आ-आफ्नो मातहतबाट सहयोग र आत्मबल प्रदान गर्न यो लेखका पाठकलाई विनम्र अनुरोध गर्दछु । नेपालमा शरणार्थी हुँदा रोपेको भूटानी साहित्यको विरुवालाई हुर्काएर त्यसको फल पुस्तौंसम्म पुग्ने गरी राखेनौं भने हाम्रो भाषा-साहित्य अनि संस्कृति लोप हुने निश्चित छ । तन, मन र चिन्तनका साथ हामीले आफ्नो भाषा-साहित्य, धर्म-संस्कृति र वास्तविकतालाई जीवन दिने खालका कार्यमा लगाव राख्न अति जरुरी छ । नत्र भने हाम्रा भावी सन्ततिले लुप्तप्रायः हाम्रो संस्कृति र इतिहासलाई तीसौं शताब्दीमा खोज्नुपर्ला कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *