नाटक
डिल्लिराम रेग्मी
ओहायो, अमेरिका
म सपना धेरै देख्दिन
त्यसैले हो कि सायद
देखिएका सपना मेरा बेग्लै परिबेसका हुन्छन्।
अर्को एउटा सपना
म ओस्लोको नेसनल थिएटरमा
एउटा नाटक हेर्न बसेको छु(ओस्लो त्यसै पनि संसारकै ठुलो नाट्य सहर)।
पर्दा उघ्रिन्छ जब
मञ्चको दायाँतर्फको कुनामा
एउटा पात्रलाई मृत्युदण्ड दिन ठिक पारिएको छ
बायाँतर्फको कुनामा
एउटा टेबल र कुर्सी देखिन्छ
मञ्चको ठ्याक्कै बिच भागमा
एउटा बुद्धको मूर्ति देखिन्छ।
मृत्युदण्ड, बुद्धको मूर्ति र एउटा सुनसान टेबल र कुर्सी
सायद,
त्यो झुन्ड्याइन ठिक पारिएको मानिस
शान्ति र स्वाभिमान फैलाउने र सिकाउने
समाजको एउटा निडर-लिडर हुनुपर्छ।
सायद देशका लागि घातक भएको थियो
या समाजकालागि बदलाव
या सायद दुई वटै।
त्यो मञ्चमा दण्ड दिन लागिएको मानिस
उ हुनु र नहुनुको
बिचको प्रश्नमा म धेरै अलमल्ल परेको छु यस बेला
यत्तिकैमा- “यसलाई फाँसी लगाईयोस तुरुन्तै,
यो एउटा मर्दैमा देश सुकेर जाँदैन
नाथे यो एउटा नभए केही खती हुँदैन”।
एउटा चर्को आवाज सुनिन्छ मञ्चमा
म नाटक हेर्न बसेको
मञ्चको त्यो दृश्यले
मेरो मस्तिष्कमा बिसे नगर्चिको दृश्य उभ्याइदियो
बिसेले भनेका शब्द एका-एक आउन थाले,
“नाथे स्वास्नी मेरी न हो मारिएकी,
नाथे छोरी मेरी न हो बलत्क्रित भएकी,
नाथे मेरो न हो जलेको झुप्रो”?
‘नाथे स्वास्नी ‘, नाथे छोरी’, ‘नाथे झुप्रो’-बिसेका यी शब्दहरू
र ‘नाथे यो एउटा मर्दैमा’- शब्दहरू
उस्तै-उस्तै जस्तै लाग्छ मलाई।
मेरो शरीरमा सिरिङ्ग काँडा उम्रिए
मानिस कसरी यति आतङ्क हुनसक्छ?
अहिले आतङ्क मच्चाइरहेछ मानिस
आतङ्कले बदलाव ल्याउला र?
कसैको ज्यान सडकको नालामा
घाँटी दबिएर गयो-पानी सम्म पिउन नपाई
कसैको लास खोलाको बगरमा भेटियो
कसैले जुलुसमा ज्यान गुमाए
यी सबैमा एउटै समानता छ- सबै मानिसले रचाइएका खेल
र मानिसकै ज्यानको खेल
सबैले आतङ्क नै त मच्चाएका हुन्
मानिस कसरी यति आतङ्क हुन सक्छ
आतङ्कले बदलाव ल्याउला र?
एक गर्ववति हात्तीले
आफैले खाएको खानाले आफ्नै ज्यान गुमाउनु पर्यो
त्यो पनि गर्वमा भएको बच्चा सहित
गलत मात्र यो कि – मानिससँगको विश्वास
मानिस कसरी यति आतङ्क हुन सक्छ
आतङ्कले बदलाव ल्याउला र?
आतङ्कले विवाद ल्याउँछ
अनि भेदभाव ल्याउँछ
अनि अरू धेरै आतङ्क भित्र्याउँछ।
कहीँ अनैतिकता हुन्छ भने राष्ट्र रुनु पर्छ
राष्ट्रलाई रुवाइनु हुँदैन
आतङ्कले बदलाव ल्याउँदैन……..।।।