नेपाली

कवि
कवि

प्रतिमान सिवा
ओहाइयो, अमेरिका

कसैले झोसिदिँदा
सल्किहाल्ने,
कसैले हल्लाइदिँदा
छल्किहाल्ने,
कसैले ठोकिदिँदा
बजिहाल्ने,
के खैँजडी हौँ हामी नेपाली ? ?

एकले अर्कोसँग
भेट्नै नहुने,
एकले अर्कोलाई
देख्नै नहुने,
कसैले कुरा लाइदिँदा
बाझिहाल्ने,
कसैले चुरा लाइदिँदा
नाचिहाल्ने,
के खैँजडी हौँ हामी नेपाली ? ?

सत्य तथ्य बुझ्नु पर्दैन
भाषा साहित्य रुझ्नु पर्दैन
कसैले उचाल्दा उचालिने
कसैले पछार्दा पछारिने
के खैँजडी हो हामी नेपाली ? ?

जसले सजाए पनि हुने
जसले बजाए पनि हुने!!!
के खैंजडी हौँ हामी नेपाली ? ? ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *