नेपाली भाषा र अस्तित्व
धर्मेन्द्र तिम्सिना “क्षितिज”
ओहायो, अमेरिका
मेरा बुबाले भन्नुभएको “वहाँले आफ्नो देश, आफ्नो भाषाको लागि छोड्नुभएको रे” । भूटानी निरङ्कुश शासकद्वारा नेपाली पुस्तकहरू जलाइँदा, हाम्रा हलो जोत्ने बुवाका अनि घाँस काट्ने आमाका हातहरू एक भएर उठेका थिए रे । फलस्वरूप कति चेलीको अस्मिता लुटिएको, कति भाउजूको सिन्दूर पुछिएको अनि कति काका, दाजु र मामाहरू जेलमै मारिएको इतिहास जीवित छ हामीसँग ।
हिजो जे भयो, अब त्यस्तो नहोस् । हिजो जे खोसियो अब त्यो नखोसियोस । हामी १९९० देखि आजसम्म आइपुग्दा, के गुमायौँ ? के कमायौँ ? अनि के गुमाउँदैछौं ? भनेर सोच्ने समय आएको छ । अब पनि यस विषयमा सोचेनौँ भनेँ, हाम्रो अस्तित्व नरहन सक्छ । अस्तित्व भन्नाले सास गएर मरिन्छ अथवा कसैले मार्छ भन्न खोजेको होइन । हामी जनावरतुल्य हुनेछौँ भन्न खोजिएको मात्र हो ।
हिजो आफ्नो भाषा बचाउन हामी शरणार्थी बन्नुपर्यो । अझै पनि हाम्रा आफन्तहरू आफ्नै माटोमा फर्कने आशामा त्यही झुपडीमा बसिरहनु भएको छ । वहाँहरूको त्याग र तपस्यालाई हामीले सधैँ उच्च सम्मान गरिरहनु पर्दछ । अर्कोतिर हामी “तेस्रो मुलुक पुनर्वास रोज्नेहरु” आफ्नो इच्छाअनुसार संसारका विभिन्न मुलुकमा पुगेका छौँ । यसरी हाम्रो पहिचान संसारभर छरिँदै गर्दा आफ्नो अस्तित्व कसरी जोगाउन सकिन्छ भन्ने कुराको हेक्का राख्न जरुरी छ । जुन कार्य एकजनाबाट सम्भव छैन, त्यसैले सबै एकजुट भएर उभिनु जरुरी छ । घरमा पुराण लगाउँदैमा, छोराको व्रतबन्ध गराउँदैमा, घरमा नवग्रह शान्ति गराउँदैमा, मन्दिरमा घण्टी बजाउँदैमा, चर्चमा बाइबल नेपालीमा सुनाउँदैमा, ठुलो स्वरमा गीता र बाइबलका भजनहरू घोक्दैमा, हाम्रो अस्तित्व बाँच्दैन । अस्तित्व बचाउनु छ भने, नेपाली भएर बाँच्नु छ भने अब हामी सबै मिलेर नेपाली भाषा जोगाउन जरुरी छ । हाम्रा आउँने पिँडीहरूलाई आफ्नो भाषा बचाउने प्रेरणा दिन जरुरी छ, सिकाउन जरुरी छ ।
बदलिँदो परिस्थितिसँगै हाम्रो खानपिन बदलिएको छ, हिजो दुइछाक टार्न धौधौ हुने हामीहरू आज फालाफाल बास्मती चामल र मासु खाने भएका छौँ । हिजो चाडपर्वमा मात्र नयाँ कपडा फेर्नेहरु आज दिनैपिच्छे महँगा कपडा रोजिछाडी लगाउने भएका छौँ । हिजो निगुराको झोलसँग बगडा डकार्नेहरु आज पिज्जा र बर्गर डकार्ने भएका छौँ । हिजो बाङ्गा बजारमा गएर फोन रिसिभ गर्नेहरु आज आइफोन टेन चलाउने भएका छौँ । हामीमा धेरै परिवर्तनहरू आएका छन् । समय र ठाउँ अनुसार सोचेभन्दा धेरै परिवर्तनहरू भएका छन् तर क्षणभरको खुसीका लागि ।
अब भौतिक परिवर्तन धेरै भइसकेको छ । यो परिवर्तनसँगै हामीले हाम्रो चेतनालाई परिवर्तन गर्नुपर्ने समय आएको छ । आफ्नो भाषा कसरी बचाउन सकिन्छ भनेर सोच्ने समय आएको छ । आउनुहोस् हातमा हात, काँधमा काँध लगाएर अगाडी बडौं । यसका लागि अमेरिकाका विभिन्न सहरमा नेपाली कक्षाहरू सञ्चालन भइरहेका छन् । सबैले चासो देखाएर सहयोग पुर्यायौं भने हामीले हाम्रो भाषा अवश्य जोगाउन सक्दछौँ । उदाहरणका लागि कोलम्बस सहरको BHUTANESE COMMUNITY OFFICE मा हरेक आइतबार दिनको १०-१२ बजेसम्म कक्षा सञ्चालन भइरहेको छ । थाहा पाउनुभएको छैन भने आइतबार 4646 Tamarack BLVD Columbus Ohio मा आउनुहोला । हामीले यस नेपाली कक्षालाई २०१४ सालदेखि निरन्तर सञ्चालन गर्दै आएका छौँ र अहिले Reynoldsburg Ohio मा पनि सोही समयमा कक्षा सञ्चालन भइरहेको छ । यसै गरी अमेरिकाको विभिन्न सहरहरूमा यस्ता कक्षाहरू सञ्चालन भैरहेका छन् । त्यसैले जो जहाँ हुनुहुन्छ त्यहाँ नेपाली कक्षा सञ्चालन भइरहेको छ भने आफ्ना छोराछोरीहरूलाई पढाउन लैजाऊँ, छैन भने आफैँ सञ्चालन गरेर समाजलाई केही राम्रो गरेर देखाऊँ ।
छोराले अङ्ग्रेजी फरर बोल्दा गर्व गर्ने पण्डित, पास्टरहरु ! आफू चाहिँ कविता, कथा, नाटक लेख्ने अनि छोरीले चाहिँ नेपाली बोल्न जान्दिन भन्दा छाती फुलाउने साहित्यकारहरू,गायक अनि संगीतकारहरु ! समाजमा के के न गरेको छु भनेर ढोल पिट्ने अनि एउटा भुत्लोसम्म नहल्लाउने बुद्धिजीवीहरू, एक पटक दिमाग घुमाएर सोच्नुहोस्, हिजो हामी किन देश निकाला भयौँ अनि यहाँ कसरी आइपुगेका छौँ । हिजो आफ्नो भाषा बचाउने क्रममा नेपाल आइपुग्यौँ अनि अहिले संसारका विभिन्न मुलुकहरूमा छौँ । हिजो हाम्रो भाषामा बन्देज लगाइएको थियो आज खुल्ला छ । कतै बन्देज छैन, कतै असहज परिस्थिति छैन । हिजोको जस्तो अभाव छैन, हिजोको जस्तो डर अनि त्रास छैन, हिजोजस्तो लुकेर हिँड्नुपर्ने अवस्था छैन । सबै अनुकूल भइरहेको छ । अनि अब पनि हामीले केही गरेनौँ भनेँ हाम्रा आउने पिडिको भविष्य कता जाला ? आफ्नो पहिचान जोगाउन सकिएला कि नसकिएला ? यस्ता कैयौँ प्रश्नहरू हाम्रो समाजका अनुत्तरित प्रश्नहरू भएर हाम्रो आँखै अगाडि तेर्सिएका छन् तर हामीले आँखा चिम्म गरेर हिँडिरहेका छौँ । यसका लागि सबैले सोच्नुपर्ने समय आएको छ । आउनुहोस् सबै एक भएर जुटौँ अनि भाषा बचाउने अभियानमा लागौँ ।
अन्त्यमा गाउँनेहरु, लेखकहरू, बुद्धिजीवीहरू, सामाजिक अभियान्ताहरु सबै एकैठाउँ उभिने समय आएको छ, सबै एक भएर आफ्नो अस्तित्व बचाउँनुपर्ने समय आएको छ । त्यसैले आजैको दिनबाट छातीमा हात राखेर यस्तो कसम खाऊँ कि जसले हाम्रा आउँदा पिडिहरुलाई आफ्नो भाषा बचाउन मद्दत पुगोस् ।
जय भाषा, जय अस्तित्व