परिचयपत्र
नेत्र आचार्य/ टेक्सास
मैले मेरो खल्तीबाट मेरा परिचयपत्रहरु निकालें । भूटान पत्रकार संघ, बालसंगठन शनिश्चरे, चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवा, शरणार्थी परिचयपत्र इत्यादि । मसँग लगभग दशवटा परिचयपत्रहरु थिए, “भूटानी शरणार्थी” अंकित । संयोगवश मैले त्यही दिन आहुरा भूटानले दिएको टिसर्ट पनि लगाएको रहेछु । म ती परिचयपत्रका साथमा मेरो एउटा फाइलमा कैद भएका करिबन सत्रवटा प्रमाण र प्रशंसा पत्रहरु पल्टाउन लागें । मलाई नजिकबाट नियालिरहनु भएका मेरा प्रिन्सिपल सरले सोध्नुभयो-“सर, हजुर भूटानी हुनुहुन्छ र ?”मैले सहजै उत्तर दिएँ-‘हजूर, म भूटानी हुँ ।’
म आफूलाई भूटानी हुनुमा गर्व गर्थें र अझै गर्छु । नेपालको पर्वत जिल्लाको उपल्लो धाइरिङका नामले चिनिने एउटा गाउँमा म अध्यापनका क्रममा पुगेको थिएँ । नेपालका अधिकांश जिल्ला र गाउँहरुमा नेपालीभाषी भूटानीहरु शिक्षण पेशामा आबद्ध थिए । शरणार्थी शिविरमा पढाइ राम्रो हुने हुनाले हामीलाई अङ्ग्रेजी या कुनै विषयमा अफ्ठ्यारो थिएन । विशेषतः अङ्ग्रेजीमा बढी दखल भएका भूटानीहरु नेपालका कुनाकाप्चादेखि लिएर शहरी क्षेत्रसम्म अध्यापनका क्रममा जाने गरेका छन् । म पनि त्यही सिलसिलामा विभिन्न जिल्लाहरुमा पुगेको थिएँ । त्यसदिन, मेरा प्रिन्सिपल सरले मलाई भन्नुभयो-“भूटानीहरुलाई त धमाधम अमेरिकातिर लगिँदैछ भन्ने पो सुनेको थिएँ”, मैले जवाफ नदिई प्रिन्सिपलको मुखमा हेरें । उहाँ फेरि बोल्नु भो,“तपाईंचाहिं अमेरिका जानुहुन्न र सर ? हजूरहरूलाई त सित्तैको भिसा लाग्छ रे ?”
यसपटक जवाफ दिनैपर्ने भएर म बोलें, ‘मेरो प्रक्रिया पुग्न अझ एक साल जति लाग्छ त्यसैले, केही समय बिताउन र सेवा पनि गरौं भनेर तपाईंको स्कूलमा आएँ।’ खै किन हो केही हतास स्वरमा प्रिन्सिपल सर फेरि बोल्नुभो,“खै सर, मैले अमेरिका जान १४ लाख भन्दा बढी नै खर्छ गरिसकें तर दलालले सबै खाइदियो । मेरो सत्यानाश भयो । अब यही एउटा स्कूल र घर बाँकी छ । हजूरहरु जस्तो भाग्यमानी भइएन छ हामी त !” यस्तै गफगाफ हामीबीच चल्दै गए । उहाँले मेरो अमेरिका आउने प्रक्रिया सोध्दै जानुभयो । मैले पनि सबै बेलीविस्तार लगाउँदै गएँ । यत्तिकैमा मलाई फोन आयो, बुवाले घरबाट गर्नुभएको रहेछ । बुवाले फोनमा भन्नुभयो,‘हामीलाई यूएनएचसिआरले बोलाएको छ है, आउँदो हप्ताको बिहीबार । तँ जसरी पनि आउनुपर्छ ।’ ‘हुन्छ बुवा’, स्वीकृतिपछि मैले फोन राखें । त्यस बोर्डिङमा पढाउन थालेको मात्र एक साता भएको थियो । हाम्रो गफ अब फोनको खबरतिर मोडियो ।
हामीलाई भूटानबाट आएर नेपालको झापा र मोरङमा बसेदेखि मानवीय सहायता गर्दै आएको राष्ट्रसंघको एउटा भातृ संगठन यूएनएचसिआरले दोश्रो पटक अन्तरवार्ता लागि बोलाइएको कुरा स्पष्ट रुपमा मैले उहाँलाई बताएँ । मेरा लागि अमेरिका आउन खुशी र दुःख बराबर थियो । आफ्नो देश हराए पनि, म मेरो भाषा, धर्म, संस्कृति, रहनसहन सबै मिल्ने देशमा आएकोले त्यहीँ बस्न रुचाउँथें एक पक्षमा । अर्को पक्ष-सबै कुरा मिले पनि नेपालमा रहेका नेपाली नागरिकहरुले हामीप्रति देखाएको व्यवहार र भूटान सरकारले स्वदेशफिर्ती सम्बन्धी देखाएको उदासीनताले नेपालमा स्थायी बसोवास गर्न मन मरिसकेको थियो । प्रिन्सिपल सर भन्दै हुनुहुन्थ्यो-“सर, हजूरको त दिन खुल्यो । हाम्रो गति त हजूरले प्रत्यक्ष देखिरहनु भएकै छ । हामी यही पाखा-पखेरामा कुहिने भयौं ।” हरेस नखानलाई आग्रह गर्दै मैले कुनै दिन त्यही पखेरो अमेरिका बन्न सक्नेछ, स्वर्गझैँ हुनेछ भनेर उनको हौसला बढाउन खोजें । हामी देश नभएका अस्तित्वविहीन छौं । यता नेपाल सरकारले आन्तररिक सुकुम्बासी समस्यासम्म हल गर्न नसकी रहेको अवस्था छ । यो परिवेशमा हामीलाई नेपालमै बसोबास गराउन सक्ने कुरै भएन । भूटान सरकारले पनि वार्ताको नौटङ्की देखाई, हालसम्म जाली योजनाबाहेक केही गरेको छैन । यसै कारणहामी त्यो समुद्रपार मुलुकमा जान बाध्य छौं । यसरी परिस्थितिको व्याख्या गरिरहें उहाँका अगाडि । हामी दुवै गम्भीररुपमा यस्तै गफगाफ गर्दै गयौं । पुन: म मेरा कागजातहरु पल्टाउन लागें ।
उहाँलाई एउटा विचार आएछ; भन्नु भयो, “सर, हजूरलाई म नेपाली नागरिकता बनाइदिन्छु, मेरो जमीनको केही हिस्सा पनि दिन्छु, हजूरले एउटामात्र परिचयपत्र मलाई दिन सक्नुहुन्छ ? हजूरका यति धेरै रहेछन् !” म छाँगाबाट खसें । मेरो जिन्दगी, मेरो अस्तित्व तिनै कागजका टुक्राहरुमा अल्झिएको थियो । मसँग न भुटानी, न त नेपाली नागरिकता नै थियो । थिए त केवल “शरणार्थी” अंकित कागजातहरु । शरणार्थीहरु नेपालका नागरिक बन्न खोज्छन् तर, नेपाली नागरिकहरु भूटानी शरणार्थी बन्न खोजेको सुनेकै थिइँन । शरणार्थी हुनुको पीडा एउटा शरणार्थीलाई मात्र थाहा हुन्छ । १८/१९ बर्ष शरणार्थी भएर बाँच्नुको पीडा म उहाँलाई कसरी सुनाउँ ? मैले भनें,‘सर, शरणार्थी हुनुभन्दा एउटा गरीब देशको गरीब नागरिक हुनु नै भलो छ-भन्ने भनाइसुनेकोमात्र हैन, आफैंले भोगेको छु । हजूरको आफ्नो लगानीको स्कूल छ, घर छ, खेतबारी सबै छ, हजूर किन शरणार्थी परिचयपत्र माग्दै हुनुहुन्छ ?’ प्रिन्सिपल सरको तम्तयार जवाफ आयो,“मैले अमेरिका जान के-के गरें भन्ने त अघि नै भनिसकें, म अझै पनि अमेरिका जान चाहन्छु । एउटामात्र भूटानी या शरणार्थी परिचयपत्र भए म सिधै अमेरिका पुग्न सक्छु ।”
म अझ अचम्बित भएँ । मेरा बुवा, हजुरबुवा र जिजुहरु पनि भूटानमा जन्मिएका प्रमाण, दुई दशक लामो शरणार्थी शिविरमा रहेको प्रमाण भएको मलाई, यूएनएचसिआर, आइओएम् र नेपाल सरकारसहित लागेर अझ भूटानी शरणार्थी हो-हैन भनी प्रमाणित गर्न खोज्छ भने, हजूर कसरी भूटानी शरणार्थी बनेर अमेरिका पुग्नुहुन्छ ? मैले सोझो जिज्ञासा राखें । उहाँले भन्नु भो, “म बहराइन जान्छु र त्यहाँ पुग्नासाथ मेरो पासपोर्ट च्यात्छु अनि म मेरो झूटो कहानी शुरु गर्छु । शरणार्थी शिविरमा खान नपुग्ने हुनाले म भारत गएँ । भारतबाट साहुको मन जितेर म बहराइनसम्म आइपुगें । मेरो परिवारका सदस्यहरु, आफन्तहरु सबै अमेरिका पुगिसकेका छन् । म त्यहाँ जान चाहन्छु ”, इत्यादि । यो सबै कथा सुनिसके पछि मेरा परिचय प्रमाणपत्रहरु खल्ती र फाइलमा पुन: कैद गरें र भनें-म एकपटक शिविर पुगेर आउँछु । त्यसपछि, चाहिने राखौंला र नचाहिने म हजूरलाई दिउँला । उहाँले फेरि नागरिकता र जमीनको कुरा उठाउँदै, “हुन्छ” भन्नुभयो । म आफ्नो अस्तित्व वहाँलाई बेच्न असमर्थ थिएँ । मैले वहाँलाई त्यति आस्वासन दिएर आफ्नो बाटो लागें अनि कहिल्यै त्यो ठाउँ फर्केर गइँन ।