पहिचानका लागि अन्तराष्ट्रीय संगठनको खाँचो, चुनौतिहरु र सम्भावनाहरू
सुदर्शन प्याकुरेल
ओहायो, अमेरिका
आज अमेरिकाभरि करिब एक लाख पचास हजारको हाराहारीमा नेपाली भाषी स्थायी रुपमा बसोबास गर्छन् भने झन्डै त्यति नै अस्थायी रुपमा बसोबास गरेको आँकडा देख्न पाइन्छ । साथै क्यानडा, अस्ट्रेलिया र अरू युरोपियन देशहरूमा पनि नेपाली मूलका आप्रवासीहरू प्रशस्तै भेटिन्छन् । बेलायतसँग भने नेपाल र नेपालीहरूको २०० वर्षभन्दा पुरानो नाता रहेको छ र त्यहाँ करिब पचास हजारको हाराहारीमा नेपालीहरू स्थायी रूपमा बसोबास गरिरहेका छन् । बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरू र तिनका परिवारलाई स्थायी रूपमा बसोबासको लागि खुला गरेको छ । समग्रमा हेर्ने हो भने आज नेपालमा भन्दा नेपाल बाहिर स्थायी र अस्थायी रूपमा बसोबास गर्ने नेपालीहरूको जनसङ्ख्या ठुलो हुन सक्छ किनकि आधिकारिक तथ्याङ्क नै आधा भन्दा धेरै देखिन आउँछ र जुन नेपालको जनसङ्ख्या तथ्याङ्कमा पनि हेर्न सकिन्छ र हामीले सरसर्ति तीन-चार पिँडीअघिदेखि बाहिर बस्नेहरूको सङ्ख्या जोड्दै आउने हो भने पनि यो कुरा स्पष्ट हुन आउँछ । तथ्याङ्क वा सङ्ख्याको आधारमा होइन, सांस्कृतिक र भाषिक पहिचानको आधारमा हेर्ने हो भने नेपालभित्रभन्दा नेपाल बाहिर बस्ने नेपालीहरूको पहिचान के हो र के हुनु पर्दछ साथै बदलिँदो समय र परिस्थिति अनुसार कुन कुरालाई छोड्ने, कुन कुरालाई लिने अनि कुन कुरालाई परिमार्जन गर्दै लैजाने भन्ने यस लेखको मूल चासोको विषय हो ।
अमेरिकाको सन्दर्भमा हेर्दा नेपालीहरूको सङ्ख्यामा चार देशहरूबाट आउने नेपालीभाषीहरुको योगदान रहेको छ । भुटान, नेपाल, भारत र बर्माबाट आउने राष्ट्रियताका आधारमा हेर्दा विभिन्न देशका नेपालीहरू अमेरिकी राष्ट्रिय मूलधारमा हराउँदै छन् भने पुरानो पहिचान छुट्दै छ र नयाँ पहिचान जोडिँदै गएको अवस्था छ । यो बदलाव समय सापेक्ष हो तर आज यो विषयमा गम्भीर छलफलको खाँचो छ । हामी जुन देशको भए पनि आज नयाँ मुलुकमा हामी नेपाली, भूटानी, भारतीय र बर्मेली छैनौ । यहाँको राजनीतिक सामाजिक र आर्थिक संरचना बेग्लै छ । तर ऐतिहासिक रूपमा हामी एक अर्कासँग एकदमै जोडिएका छौं । हामी आज जहाँको राष्ट्रियतासँग जोडिए पनि समग्रमा हाम्रो पहिचान हामीले बोल्ने भाषा,संस्कृति अनि परम्परासँग जोडिएको छ । त्यसैले हामी जे जस्तो भए पनि हाम्रो परम्परा संस्कृति र भाषा बचाउनको लागि हाम्रो सामूहिक पहिचानको खाँचो छ । हामी नेपाली भाषी संसारका जुनै मुलुकमा स्थायी या अस्थायी रूपमा बसोबास गर्दै आइरहेका छौँ, हामीले संयुक्त रूपमा आफ्नो पहिचानका लागि सांगठानिक रूपमा एक हुनुपर्ने अवस्था सिर्जना भएको छ। त्यसैले हामीमा एक संयुक्त अस्तित्वको खाँचो छ ।
केही बुद्धिजीवी वर्ग भन्छन्- सबैलाई एउटै शब्दमा नेपाली भने हुन्छ । त्यो तर्कसङ्गत पनि छ । जहाँबाट आए पनि नेपाली भन्ने पहिचान एक “कमन डिनोमिनेटर” को रूपमा देखिन्छ । जसमा हाम्रो संस्कृति,भाषिक स्तम्भ छन् तर नेपाली मात्रभन्दा यो विषयलाई एकातिर साधारण रूपमा भनिने एक पहिचान बन्न जान्छ भने अर्कोतिर लगावको द्वन्द्व पनि देखिन्छ । फेरी बहस हुन सक्छ, नेपालीत्वमा मूलभूत अधिकार कसको त ? नेपालबाट आउने नेपालीहरू मात्र ? या सम्पूर्ण नेपाली भाषीहरूको ? के सबैलाई नेपाली मात्र भन्ने ? वा अरू केही पहिचान जसले सबैलाई समावेश गर्नसक्छ । नेपालबाट आउने नेपालीहरूले अरू नेपालभाषी नेपालीहरूलाई नेपाली भाषी मात्र हुन् तर उनीहरू नेपाली होइनन् भनेर विभिन्न कार्यक्रम या सोसल मिडियामा भन्ने लेख्ने गरेको पनि पाइन्छ । र यो राष्ट्रियतासँग जोडिएको नेपाली जस्तो मात्र देखिन्छ । त्यसैले अहिलेको परिवेशमा नेपाली शब्दको परिभाषा साँघुरो छ । भाषा राष्ट्रियताको आधारमा परिभाषित गरे यो विवादको विषय बन्न सक्छ । र सबैलाई एउटै छातामुनि राख्न एकदमै गाह्रो काम हुनसक्छ । तर अबको बहस वा कार्य हुनु पर्छ एकीकृत पहिचान र जसको लागि हामी लेखाइ वा बोलाइ मात्र नभई भित्री आत्मादेखि एकीकृत हुनु जरुरी छ । जबसम्म हामीले हाम्रो भित्री आत्मादेखि एक अर्काको अस्तित्वलाई स्वीकार गर्न सक्दैनौ वा भनौँ भित्रैदेखि हामी सबै एकै हौँ र हामी सबैको अस्तित्व वा उद्गम एउटै हो भन्ने आउँदैन । हामीले जति नै बहस गरे पनि सबै कुरा फिक्का हुन आउँछ ।
यसै एउटा छोटो प्रसङ्ग जोड्न चाहें , जसमा रास्ट्रिय पहिचान भनेको राष्ट्रभन्दा पृथक र अलग हुन्छ । आज पाँचौ पुस्तादेखि भूटान, भारत र बर्मामा बस्ने नेपाली भाषी आफुलाई सगर्व नेपाली भनेर परिचित गराउन चाहन्छन् । उनीहरुले भाषा संस्कृति र परम्परालाई विषम परिस्थितिमा पनि जोगाएर राखे र त्यो क्रम पुस्तौंसम्म कायम रहदै आएको छ । तर अर्को दृस्टिकोणबाट हेर्दा,भारतबाट नेपाल ब्यापारको लागि आएका मानिसहरुपनि दोश्रो पुस्तादेखि आफुलाई नेपाली भनेर चिनाउछन् र त्यो उनीहरुको अधिकार पनि हो । त्यो रास्ट्रियतासँग जोडिएको नाता हो । र तिनै भारतीय मूलका नेपाली फेरी भारत नै गएर बसोबास गर्न थाले भने आफुलाई नेपाली भनेर चिनाउन हिचकिचाउछन् वा नेपाली भन्दैनन् । एक दशक भारत बसेको क्रममा यस्ता प्रसस्तै उदाहरणहरुको म साक्षी बनेको छु । जसले मेरो नेपाली मान्ने आधारलाई थप बलियो बनायो ।
यी सबै दृस्टिकोणबाट हेर्दा नेपाली पहिचानको आधार गहिरो र पुरानो छ । तर स्थलगत छैन । तरपनि नेपाली भाषीहरुलाई एउटै समुदायमा राख्न सकिदैन र मिल्दैन पनि । भाषिक र सांस्कृतिक पहिचान जो सम्पूर्ण नेपालीहरुको हो यसलाइ दुइ किसिमबाट हेर्नसकिन्छ:
१.निजी /व्यक्तिगत पहिचान २. सामुदायिक/सामाजिक पहिचान :
व्यक्तिगत रुपमा को कसरी आफुलाई चिनाउन चाहन्छ त्यो नितान्त व्यक्तिगत कुरा हो । त्यसमा कसैले सरोकार वा चासो राख्नुपर्छ जस्तो लाग्दैन I मेरो व्यक्तिगत सम्बन्ध भूटान, नेपाल, भारत र अन्तत आज अमेरिकासँग पनि गाँसिन आइपुगेको छ । तर सामुदायिक आधारमा म भूटानी नेपाली हुँ I मेरो समुदायको सामाजिक पहिचान भुटानी नेपाली नै हो र भुटानी नेपाली आप्रवासीहरु नेपाली आप्रबाशी (NRN ) होइनन । त्यसै नै भारत र बर्माबाट आउने नेपाली भाषीहरुले पनि आफुलाई त्यही अनुसार परिचय गराउछन् र आफ्नो सामाजिक र क्षत्रीय पहिचान बचाऊन सकेकोमा गर्व गर्दछन् ।
यी सबै सन्दर्भलाई अमेरिकाको स्थितिबाट हेर्दा हामीले सोच्नु र चिन्तन गर्ने बेला आएको छ । हामी जुनक्षेत्र या देशबाट भए पनि हाम्रो सामुदायिक र सांगठनिक पहिचान र त्यसको भूमिकाको खाँचो देख्दछौं ।
आप्रवासी नेपालीहरुको छाता संगठन NRN मा भुटानी, भारतीय र बर्मेली नेपालीहरुको स्थान र परिभाषा सायद कुनै पनि कोणबाट अटाउन सक्दैन । आजसम्मको सन्दर्भ र पृष्ठभुमि हेर्दा अटाएको जस्तो पनि लाग्दैन । NRN को छत्र छाँयाभित्र सामुहिक/सामुदायिक पहिचानलाई नै खत्तम गराँदछ । हुन त भूटानी, भारतीय या बर्मेली नेपालीहरु आफुलाई नेपाली नै भनेर परिचय गराउदछन् र नेपाली नेपालीमा त्यस्तो ठुलो मत पनि राख्दैनन् । तर नजिकबाट हेर्दा उनीहरुको छुट्टै पहिचान छ। जो पृथक छ, जसरी नेपाली- नेपालीहरुको छ । उदाहरणको लागि हेर्ने हो भने आज अमेरिकामा पनि भूटानी नेपालीहरुले साहित्य कला र संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान राखेका छन् । जहाँ ठुलो समुदायमा बस्छन त्यहाँ आफ्नो मूल झलकलाई धेरै हदसम्म कायम राखेका छन् । जस्तै मोती जयन्ती,भानु जयन्ती, लगायत अन्य कुनै चाड पर्वहरूमा एउटा अलग्गै हिसाबले आफ्नो संस्कृति, परम्परा र भाषालाई बचाउने काम गर्दै आइरहेका छन् ।
जे सुकै कुरामा अल्झिए पनि आज अमेरिका अथवा विश्व परिवेशलाई हेर्दा एउटा सामुहिक प्रतिनिधित्वको खाँचो छ । र त्यो आवश्कता दिन दिनै टडकारो बन्दै गएकाे छ । यो समयको माग हो र बदलिदो राजनैतिक सोचको पनि ।
हाम्रो सामुहिक पहिचान मुलत पहिलो पिंढीसँग जोडिए पनि दोश्रो पिंढीले भने आफुलाई कसरी पहिचान गराउन चाहन्छ, भन्ने बिषय छुट्टै छ । त्यो समयले निर्धारण गर्ला तर हामीले पूर्वधार विकासमा पक्कै काम गर्नु पर्ने हुन्छ । यो पक्ष त हामीसँग छंदै छ साथै अर्को पक्ष भनेको बहस या वकालत हो । दोश्रो पीढीका नेपालीभाषी अमेरिकनहरु एउटै छाता र समुदायभित्र अटाउन सक्ने पूर्वधार र सम्भावना हामीसँग प्रसस्तै छन् । जति पनि ती पूर्वधार र सम्भावनाहरुलाई साँघुरो नबनाएर फराकिलो बनाउनु जरूरी छ । अब ती पूर्वधारहरु के के हुन् त ? सम्भावनाहरु के के हुन् त ? भाषिक र सांस्कृतिक पहिचान । इतिहास पनि एउटा बलियो आधार हो । तर इतिहास राष्ट्रसँग जोडिएको हुँदा त्यसको भूमिकामा भने सोच विचार गर्नु जरूरी छ । एउटा सानो उदाहरण हेरौं , आज नेपालबाटै आउने नेपालीहरुमा खुल्ला मतभेदका कारण राजनैतिक आधारमा आफ्नो पुरानो पहिचानलाई कायम राख्न खोज्नु, विभिन्न राजनीतिक दलका नेता वा मन्त्री बोलाएर पाँच तारे होटलमा विभिन्न अन्तरक्रिया राख्नु, विभिन्न राजनैतिक मतभेदका आधारमा मान्छेलाई निषेध गर्नु, विभिन्न राजनैतिक पार्टीको पक्षमा वकालत गर्नु । यस्ता राजनैतिक आस्था र विश्वासलाई एकातिर राखेर सम्पूर्ण नेपाली भाषीहरुलाई समेट्न सकियो भने पक्कै पनि आफ्नो भाषा, पहिचान र संस्कृतिलाई एउटै छाता संगठनबाट जगेर्ना गर्न सकिन्छ । अन्तरास्ट्रिय परिदृश्यमा आफ्नो बलियो उपस्थिति जनाउन सकिन्छ । प्लेटोले भने झैं” मानिस सामाजिक प्राणी हो” तर हामीले निजी जीवनमा राजनीतिक बिषयलाई भित्राएर बहस गर्यौ भने पक्कै पनि कलह उत्पन्न हुनसक्छ । तसर्थ राजनीतिक बिषयलाई सकेसम्म टाढा राख्नु नै बेश हुन्छ ।
दक्षिण एसियामा पाकिस्तान र नेपाल अन्तरास्ट्रिय कुटनीतिमा असफल देखिनुमा विदेशमा बस्ने आफ्ना नागरिकको भूमिकाले पनि प्रभाव पार्दछ भन्ने कुरा विभिन्न अध्ययन तथा अनुसन्धानले देखाएको छ । किनकि कुनै पनि देशसँग आफ्नो कस्तो खालको कुटनीतिक सम्बन्ध स्थापित गर्ने भन्ने विभिन्न बौद्धिक वर्गले आफ्नो देशको सरकारलाई खबरदारी वा सुझाब दिने कुरा हो । जस्तै भूटानबाट खेदिएका हामी नेपाली भाषी भूटानीहरुले देखे/ भोगेको पीडाहरू हुन् । किनकि २० वर्षभन्दा बढी समय शरणार्थी शिविरमा भोगेका अकेक पीडाहरू छन् । त्यसमा पनि नेपालको कुटनैतिक असफलताको कारण हामी आज तेश्रो देशमा पुनर्बास भैरहेको अवस्था छ । आफुभन्दा बलियो र प्रभावशाली छिमेकीको प्रभावमा परेर राम्रो कुटनीतिक सम्बन्ध राख्न नसक्दा नतिजा हामीले राम्रोसँग देखेको भोगेको कुरा हो । मैले यो प्रसंग यहाँ राख्नको कारण, हामी नेपालबाट आउने मात्र नेपाली वा भारत बर्मा वा भुटानबाट आउने सम्पूर्ण नेपालीभाषी नेपाली, सबैभन्दा पहिला हामीले यी कुरा लाई मनन चिन्तन गर्नु जरुरि छ ।
हाम्रा पुर्बाधार के के थिए त जसले गर्दा पाँच पुस्तासम्म पनि नेपाल बाहिर बस्ने नेपालीहरुले आफ्नो पहिचानलाई भाषिक वा साँस्कृतिक रुपमा जोगाऊन मात्र होइन त्यसलाई फलाउन फुलाउन र एउटा छुट्टै आयाम थप्न सफल भए । हो तिनै पुर्बाधारहरुलाई जगेर्ना गरेर हामी भाबी पिंढीहरुको लागि अथवा दोश्रो पुस्तालाई पहिचान गराउने स्तम्भहरु हुन् भने अर्को आधार भने अमेरिका र आमेरिकी मुलधार संस्कृति र संस्कार पनि हो । यी दुवै पक्षलाई साथ साथै लैजानु एकदमै आवश्क छ । हामी आफ्ना अनुभव र अध्ययनबाट यो पनि देख्न सक्छौं कि दोश्रो पुस्ताको नानिहरुसँग पनि अमेरिकाप्रति गहिरो झुकाब छ र त्यो स्वाभाविक पनि हो र हामीले त्यसलाई स्थान दिन सक्नु पर्छ । त्यसैगरि जुन दोश्रो पुस्ताको नानीहरुको अमेरिकाप्रति गहिरो लगाब हुन्छ भने हामी पहिलो पुस्ताले अनुशरण गदै आइरहेको सामुदायिक या साँस्कृतिक पहिचान कमजोर हुदै जान्छ । त्यसलाई दोश्रो, तेश्रो पुस्ताका भूटानी भारतीय या बर्मेली नेपालीभाषीबाट बुझ्न सकिन्छ ।
त्यसक्रममा हामी नेपालीहरुको नेपालबाट पलायनको इतिहास, नयाँ देश र नयाँ सम्बन्धले त्यस इतिहासलाई आधार बनाएर आउने पुस्ताले आफुलाई कसरी साँस्कृतिक र भाषिक पहिचान दिए त्यो रोचक र ज्ञानबर्दक बिषय हो र हामीले त्यसलाई केलाउनु पर्छ, समीक्षा गर्नु पर्छ र त्यो आजको मुख्य चुनैतिको बिषय पनि हो । र त्यो चुनौतीको समाधान पनि गर्न सकिन्छ यिनै बिषय बस्तुमा जोड दियौं भने आज हाम्रा चुनौतीहरु वकालत, पहिचान र सामाजिक समर्थन हुन् भन्ने बिषयमा हामी स्पस्ट छौं जस्तो लाग्छ, जातीय, क्षत्रीय र भाषिक आधारदेखि लिएर धार्मिक साँस्कृतिक, सैद्दान्तिक, नागरिकता/प्रवासन, शरणार्थी, राजनीतिक शरणार्थी वा बिद्यार्थी/ अनुसन्धान वा तालिम जुन अवस्थामा वकालत गरिन्छ र हामीले पनि गरिन्छ र त्यसको आवश्यकता पनि छ । जो जाति समुदाय संगठित रुपमा वकालत गर्दैनन् तिनको केही पनि सुनिदैन न त प्रतिनिधित्व नै हुन्छ , भन्नाले लगभग गुमनामको स्थिति हुन्छ । चाहे त्यो स्थानीय रुपमा होस् या राज्य स्तरीय वा राष्ट्रिय या अन्तरास्ट्रिय स्तरमा । हामीले जे जसरी देश बाहिर नेपालीहरुको लागि सामुहिक रुपमा वकालत गर्छौं त्यसैगरी देश भित्र पनि बहस हुनु जरुरी छ, हामीले पहिला सैद्दान्तिक या ब्याबहारिक रुपमा एक हुनु जरुरी छ । जब हामी एक अर्कामा विभाजित हुन्छौं, विभिन्न जाति, सम्प्रदाय या भनौं धर्मको आधारमा विभाजित भयौं भने हामीले हाम्रो अजेण्डाहरुलाई मुर्त रुप दिन सक्दैनौं ।
अमेरिका बाहिर जस्तै खाडी मुलुक या भारत, भूटान जहाँ पनि नेपालीहरु माथि अन्याय अत्याचार हुन्छ । उनीहरुका जायज मागहरु सुनिदैनन भने अमेरिकामा रहने अमेरिकी नेपालीहरुले यो बिषयमा पहल गर्न सक्छन् र गर्नु पनि पर्दछ, किनकि हाम्रो पहिचान जहाँ भए पनि एकै हो चाहे त्यो अमेरिका जस्तो सम्पन्नशाली देश होस् या अरु कुनै खाडी मुलुक या अन्य देश । तर हामी सांगठनिक रुपमा एक छैनौं, या त हामी ले कुनै जाती,सम्प्रदाय या कुनै राजनीतिक पार्टीको फेरो समातेर आफ्नो सिमित स्वार्थको लागि हिंडिरहेका छौं, त्यसैले जबसम्म हामी सम्पूर्ण रुपले तत्पर हुदैनौं तबसम्म जातीय बहस वा एकताका कुरा फलाके पनि केही हुने वाला छैन ।
त्यसको लागि अमेरिकन नेपाली या अन्तरास्ट्रियन नेपाली संगठनको स्थापना गर्नु नितान्त आवश्यक छ । संगठन मात्र जन्माउनु ठुलो कुरा होइन, त्यसलाई स्पस्ट दुरदर्शिता, कुनै पनि बिषय बस्तुमा स्पस्ट वकालत, र स्पस्ट लक्ष्य निर्धारण हुनु पर्छ । जसले हाम्रो बहसलाई मुर्तरुप दिन सकोस, नत्र भने संस्था जन्माउनु ठुलो कुरा होइन, त्यसलाई मलजल गरेर हुर्काउनु वा अझ भनौं बचाई राख्नु ठुलो कुरा हो । होइन भने विभिन्न संस्था जन्मने या निश्चित दुरी नचल्दै बन्द भएको छन् । त्यसैले आफ्नो बलियो उपस्थिति जनाउनको लागि अरु ठुलासँग आबद्द हुनु, सहकार्य गर्नु, सामाजिक कार्यहरुमा संस्थागत रुपमा उपस्थिति जनाउनु, आर्थिक कोषहरु स्थापना गर्नु पर्नेहुन्छ । जे जे नाम दिए पनि त्यस संगठनको मुख्य कार्य सामाजिक, साँस्कृतिक, ऎतिहासिक, भाषिक कार्यक्रम गर्नु त आवश्य हुन्छ नै वकालत, बहस, तालिम, या अन्य विभिन्न क्रियाकलापहरु लगायत नेतृत्व, शैक्षिक तालिम, तथा छात्रवृत्तिका अवसरहरु जस्ता बिषयमा काम गर्नु पर्ने हुन्छ । यसलाई पाईलट प्रोजेक्टको रुपमा प्रयोग गरेर जहाँ नेपालीभाषी हरुको जनघनत्व छ त्यहाँ सामाजिक सेवा संस्थाको रुपमा संस्था स्थापना तथा सहकार्य गरी साधन श्रोतहरुलाई जुटाउनको लागि मानव संसाधनको संरचना गर्नु पर्दछ ।