पुसको पुस्तैनी अनुहार
डिल्लीराम रेग्मी
ओहायो, अमेरिका
ओहायो, अमेरिका
उँधो झरिरहेको तापमानको याचनासँगै
घुँडा घुँडा सम्मको बरफ
अनि चिसिँदो घामका किरण
रेलको प्लेटफर्म मुनि
सजिएको सानो डेरा!
हरेक बिहान एउटा आवाज गुन्जने गर्छ
रेलको ठ्याक-ठ्याकलाई पार गरेर
मेरो कानमा एकतमासको विद्रोह गरिरहन्छ
यो पुसको अनुहार!
सुनियोजित जस्तो लाग्ने
बेग्लै अनुहार छरपस्टै
सायद उदासीको
हुन सक्छ कसैको नहुनुले सताइरहेछ
सायद, आमा नहुनुले?
सायद, बाबु नहुनुले
स्मृति मा एउटा देह जलिरहेको आभास हुन्छ
सायद यही आखिरी जीवन जिइरहेछु
सायद यही आखिरी मृत्यु मरिरहेछु।।