पैसा, बैँस र भूगोलसँग माया लगाएपछि

कर्ण गुरुङ्ग्
नेब्रास्का, अमेरिका

प्रिये!
तिमी साँच्चै माया गर्छौ भने
केवल मान्छेसँग माया लगाऊ !
धनसँग लगाएको माया
धन सकिँदा धनसँगै सकिन्छ !
अनुहारसँग लगाएको माया
रूप झर्दा-झर्दै सकिन्छ
विदेशसँग लगाएको माया
विदेश पुगे पछि मेटिन्छ !

प्रिये !
मेरो अनुरोध स्विकार
तिमी मान्छेसँग माया लगाऊ
त्यो सधैँ टिक्नेछ
आज मायाको अनिकाल लागेको बेला
जताततै स्वार्थलाई माया भनिँदै गर्दा
भ्रम भित्र कतै माया खोजिइँदै छ
यहाँ मनसँग होइन
पैसा, बैँस र विदेशसँग माया लगाइँदै छ
हिजो म त्यही मान्छे थिएँ
बनेँ छि-छि, दूर-दूर घृणाको पात्र
ठाउँ र देशमात्र परिवर्तन भएको छ
आज सुन र हिराको जस्तो महत्त्व हुँदै छ

प्रिये !
मेरो पैसा, बैँस र भूगोलसँग होइन
तिमी साँच्चै माया गर्छौ भने
केवल मान्छेसँग माया लगाऊ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *