प्रणय
डिल्लिराम रेग्मी
ओहायो, अमेरिका
तिमीसँग लगाएको “प्रणय” मा
आज केवल “प्रण” बाकि छ
“प्राण” त तिमिसँगै
२ वर्ष पहिला नै गइसक्यो।
मेरो आँखा सपनाको ओझेलमा पस्न नपाउँदै
म हाम्रो घरको उत्तर पटिको बरन्डामा
एक नाङ्गो काठको खाटमा पाउँछु आफूलाई
त्यही बरन्डाको पश्चिमी भागमा
लटरम्मै फुलेको तोरीमा नाचिरहेको पाउँछु तिमीलाई
तिम्रा हातका औलाहरू
हरेक तोरीका बाला छुन पुगेको देख्छु।
तिमीलाई भुल्न खोज्ने बहानामा
तिम्रो याद आउने सिलसिला अझै मेटिएन।
तिमी भन्ने गर्थ्यौ
“तिम्रै पाइला चाली, तिमीले नै चुनेको गन्तव्यमा
म पनि सँगै पाइला चालौँ”
मेरा इ पाइला आजकाल एक्लै छन्
न बाटो छ, न त गन्तव्य नै
तिमी नहुँदा, यो सर्वस्व नहुँदो रहेछ
म नै नहुँदो रहेछु
हरेक रात जब पानी पर्छ
त्यही पानीको थोपा थोपाले
तिम्रो ढुकढुकी सम्झाउने गर्छ
म तिमीलाई हरेक साँझ, म सुत्नु अगावै
मेरो च्यादर मुनि खुस्रुक्क कुरिरहेको पाउँछु।
तिमीले मलाई लेखेका हरेक चिठ्ठीमा
“ह्रदयस्वर” सम्बोधन गरेकी हुन्थ्यौ
ममा आज न ह्रदय छ न ईश्वर नै
ह्रदय तिमिसँगै छ
र ईश्वर……
खै के कुरा गरौँ ईश्वरको, जहाँ
तिमी नभएको यो दुनियाँ
मलाई तिमीबिना बाँच्न बाध्य हुकुम गर्छ
यहाँ ईश्वरको भरोसा नै कहाँ रह्यो र!
तिमी र म भएर चयन गरेको
हाम्रो अतिरिक्त यात्रा
तिमीसँग भेट भएको दिनदेखि
तिमीसँग रहेको दिनसम्म
दिन दिनै म जुन ताराका गीत गाइरहेँ
पत्तै भएन आफ्नै घरमा
अँध्यारो पोतिसकेको
यता अलिकति चुडिदै
उता अलिकति भाँचिदै
बिर्सेर फेरि सम्झँदै
यो जीवन हरेक दिन मर्छ यहाँ
हिजो…..आज….र भोलि
क्रमशः।