प्राप्तिको खोजमा

खेमनाथ दाहाल
कनेक्टिकट ,अमेरिका
वर्षौ देखि देखिएका छैनन् शान्तिका प्रतीकहरु
सायद पार गर्न सकेनन्, कपटी सीमा रेखाहरु
देखिँदैनन् फर्फराउँदै विजयध्वजाहरु कतै
सङ्कुचन भए कि असमान सन्धीका रेखामा कठै
फुलेका छैनन् यो भूमिमा यो फूलवारीमा
मखमली र गुराँसका थुँगाहरु अझैँ
सम्भवत तिनीहरु पर्खि रहेछन्
अमान्य सीमा रेखा नाघेर आउने
टिष्टा र सतलज किनारका पराग कणहरु सधैँ
विन्दु विन्दुबाट सामुद्रिक रेखा बनेझैँ
कण कणबाट धर्तीको रेखा कोरेझैँ
एक एक थोपा रगतले निर्माण गरेको
मेरा भूमिको सीमा रेखालाई
सिक्किमलाई रेखाविहीन पारेझैँ
लुटेर टिष्टा र काङ्गडाको रेखालाई
नित्य खोज्छ साम्राज्यवाद र सामन्तवादको वर्णसङ्कर
योजार नर भक्षीझैं
मेटाउन मेची र कालीको रेखालाई
वर्तमानलाई बुझेको छैन यसले
समयले नवविस्तारवादको रेखालाई मेटेको छ
मेची र कालीको रेखा सारेर
पुनः टिष्टा र सतलजमा पु–याउने
जागृति र अठोट जागेको छ
असमान सन्धीको सीमा रेखा नाघेर
विशाल नेपालको पुनः प्राप्तिकोलागि
जीवन रेखाको बलिदान हुनलागेको छ
आफ्नो स्वतन्त्रता प्रप्तिको लागि
शान्तिकाप्रतीकहरु,
विजय पतकाहरु मखमली र गुरासहरु
पुनःजीवन्त बन्दैछन्
त्यसैले अब शंखघोषको बेला आएको छ ।
१।३१।२०१२
