फरक नहोला

कृष्ण ढुडंगेल

कवि

(सङ्घर्ष)
एड्लेड, अस्ट्रेलिया

मैले फेर्ने सास
चराचुरुङ्गीको मनमोहक सङ्गीत
पाखा पखेराका सुस्केरा सुसेली
झर्नाका निश्चलता
बहेलीदै नागबेली झैँ कुना कन्दरा चाली हिँड्ने खोला नालाका गीतहरू
फरक होलान् तिम्रा नजरमा
उस्तै होला सागरको गहिराई, हावाको वेग
जूनको न्यानो स्पर्श
सूर्यको क्षितिजदेखि क्षितिजसम्मको यात्रा
सायद त्यतै होला
पारिजातको बैंस
रातमै फुली रातमै झर्ने
फरक केही नहोला तिम्रो आँखामा
तर
मभित्र-भित्रै आमूल परिवर्तनको छाल छल्किरहेछ
तिम्रो सन्देशमै
लुटिएको मुस्कान
मेटिएको खोटो तक्दीर
काँचसरी फुटेका सपनाहरू
एकाएक जोडीदैछन
अझ
मनको बार्दली खोली
सप्तरङ्गी  किरणलाई स्पर्श गराउन आतुर छ
हरेक बिहान मेरा आँखा खुल्नुअघि
प्रत्येक भित्तामा रङ्ग पोती
प्रतीक्षामा बसेको छ
सानो संसार सजाउन
हरदिन दिलको बगैँचामा
रङ्गीबिरङ्गी फूल खिलाई खुसी लुटाउन आतुर छ
साँझ ढल्नै हुन्न
झ्याउकिरीसँग लुकामारी खेल्दै
कल्पनाको संसारमा हराउँदै
मिठामिठा सपना बुन्छ
माकुराको जाल जस्तै
यो जिन्दगी आजभोलि
जन्म वर्षदेखि प्रतीक्षाका घडी गन्दै पर्खिबस्थे
एक झल्को हेर्नलाई।।

Don't have a Facebook account? Please, use the form below with other options!