फुकोसीमा

टीआर रेग्मी,खुदुनाबरी

फुकोसीमा,
हो तिमीलाई धेरै दुखेको छ
तर,
तिमी नकराऊ, नचिच्याऊ
गाली नगर, नउर्ल कसैसँग
जे हुनु थियो भइसक्यो ।
अब धेरै विकीरण नफाल वायुमण्डलमा
मानव सभ्यतालाई धेर त्रसित नपार ।

यतिखेर,
तिमी एकलो भने छैनौ दुनियाँमा
तिमीसँग लिविया,इराक, अफ्गानिस्तान
ओमन, बहराइन, भूटान आदि पनि
दुखिरहेका छन्
तानासाहको पञ्जाबाट उन्मुक्तिको लागि,
नारा घन्काउँदै, झण्डा फर्फराउँदै मानिसहरु उठिरहेका छन्
गोली,बारुद र बमको निसाना बनिरहेछन्
लासको पहाड उठेको छ,
त्यो भन्दा ठूलो त्रासको पहाड उठेको छ
स्वतन्त्रका नाममा, उन्मुक्तिका नाममा
भागा भाग र चित्कारहरु छन्
गोलीबारुद र मिसाइलहरुका हुङ्कारहरु छन्
युगौं अघिदेखिको आफ्नै भूमि छाडेर
मानिसहरु सीमाना पार भागिरहेछन् राता-रात
तर,
फुकोसीमा
क्षतविक्षत भए पनि
तिमीसँग आफ्नै प्यारो गाउँ छ
आफ्नै भूमि र स्वतन्त्र अस्तित्व छ,
हो म मान्छु-
तिम्रो पीडा अरुको भन्दा बढ्ता नै होला
भूकम्प र सुनामीको
त्रासदीका कथा कति छन् कति,
तर तिमीसँग प्रविधि र शिक्षा छ
चेतना र जाँगर छ,
हामी जस्तो जूनको प्रकाशमा
अभाव,गरिबी र पीडामा
आर्जेको शिक्षाको प्रमाणपत्र डस्विनमा हुत्याएर
दुनियाँको गुलाम गर्नु पर्दैन,
ढिलै भएपनि,
मण्डेला,गान्धि,मार्क्स र लेलिनका
अनुयायीहरु जन्मदै थिए,
वर्षौदेखिको निरंकुशता ढाल्न,
तानाशाहहरुको शाख झार्न
यद्यपि,
यी सब सपना पारिदियो कसैले…
नचाहँदा–नचाहँदै पनि हामीले
जूनको ज्योतिमा आर्जेको शिक्षा
दुनियाँको गुलाम गर्दै छ
मानवीय समस्याको समाधान र साहयताका नाममा
केवल एक पेट खानका लागि,
एक धरो कपडाका लागि,
अथवा सुख प्राप्तिको महत्वकांक्षाका लागि,
परन्तु,
फुकोसीमा-
तिमीसँग स्वभिमान छ, स्वतन्त्र अस्तित्व छ
म तिम्रो आणविक उर्जा संकट टार्ने
साहस र इच्छाशक्तिलाई सलाम ठोक्दछु,
अनि विपत्तिमा सहानुभूति प्रकट गर्दछु
तर,
फकोसीमा तिमीलाई
संसार विनाश गर्ने अधिकार छैन !

2 Replies to “फुकोसीमा”

  1. d p

    टी. आर. भाइ कबिता त गजबको लेखिएछ नि, जे होस् लेखनमा यात्रामा निरन्तरता दिनु होला. आगामी दिनहरुमा पनि बी .एल . भेट हुदैगरोस.

  2. Shiva lal dahal

    Though this poem has sympathised the earthquake,tsunami and nuclear radiation striken Japanese people yet it eloquently warns the world to save humanity from nuclear catastrophe.
    Keep-up writing .

Leave a Reply

Your email address will not be published. Required fields are marked *