फेकबुक
यतिराज अजनबी
एड्लेड अस्ट्रलिया
फेकबुक
एउटा कविता लेख्न
कविले मुड नआउन्जेल पर्खे झैँ
बर्खालाई कुरिरहन्छे फूलमाया
र आएपछि ज्यानको बाजी थापेर
उक्लन्छे भीरालो पहाड
र बेच्छे कागजको मूल्यमा यार्सागुम्बा,
सपेराले बल्ल बल्ल भेटेको मणि
विज्ञापन गर्छ र कुनै बुज्रुकको निर्बीज भालेसंग साट्छ,
फेक मान्छेका फेक विचारको
चुम्बकले तान्छ फलामे फेक प्रतिविचारहरू,
आफ्नै हातको स्मार्ट फोनले
कठपुतली बनाए पनि
सधैँ मान्छे भएको अभिनय गर्छ फेक मान्छे,
कसैको असफलतामा रमाउँछ फेक शत्रु
साथीको सफलतामा
स्क्रिनको भित्तामा लुकेर रुने फेक फ्रेन्ड
हातका असली औँलाले हिंडेर
आफ्नै गोजीको गुगल पसलमा जान्छ
र लिन्छ हावाको दाममा
रेडीमेड शुभकामाहरू,
कतिखेर को मर्छ र
श्रद्धान्जली लेखौं भनी हुटहुटिएका
फेक शुभचिन्तकहरू गनी साध्य छैन,
सिधा र स्पष्ट विचार राख्नेहरूले
अनुहार राख्दैनन्
अनि अनुहार राख्नेहरूले
सिधा र स्पष्ट विचार राख्दैनन् यो फेकबुकमा,
नेता मात्र हैन
हरेक क्षेत्रका नेता र कर्मचारी फेक छन्
भ्रष्ट र अस्पष्ट छन्,
असामाजिकहरूको सिण्डिकेट र माफिया
यो सामाजिक सञ्जालमा
निधार फेक विचार फेक
समाचार फेक अखबार फेक
सत्कार फेक शिष्टाचार फेक,
प्रतिष्ठानको कुर्सीमा बसेर
एउटा गफाडी
तथाकथिक प्राज्ञ
दिनभरि अप्राज्ञिक अनलाइन च्याटमा इत्रिन्छ
स्टाटस लेख्छ
अरूको स्टाटसमा कमेन्ट गर्छ
र प्रतिष्ठानको प्रतिष्ठा घटाउँछ
अनि कार्यालयको समय निस्कनुअघि नै
निस्कन्छ भट्टीतिर र ठाँटिएर गफिन्छ:
आज मेरो पोस्टमा ८०० लाइक
८० कमेन्ट आयो र
८ सेयर भयो (मानौं सेयर कारोबार नै बढेको छ)
अमिताभ बच्चनले लाइक गर्यो
ट्रम्पले कमेन्ट र
दलाई लामाले सेयर
जोकोभिचले लाइक, कमेन्ट र सेयर समेत गर्यो
यी हेर त जुकरबर्गले
अहिले भर्खरै फ्रेन्ड रिक्वेस्ट पठायो
योसँग साथीको सङ्ख्या ५००० पुग्यो
यो सब देखेरै हुनु पर्छ
लेडी गागाले पनि फलो गर्न थालिछे मलाई,
यति भएपछि
पब्लिक फिगर भनी एउटा पेज बनाउनु कति मज्जा
त्यसपछि टाइमले
दि मष्ट इन्फ़्लुएन्सिल पिपलको लिस्टको
नम्बर वानमा मेरो नाउँ राखेर
मेगाजिनको आवरणमा मेरो फोटो छाप्यो भने त
मेरो शाखा सन्तानकै जिन मेगा हुन्छ
अनि यो देशको पनि हैन र?