बाटो र म

कवि

डम्बर ओस्ती
क्यानेडा

म हिँडिरहेछु बाटोलाई पछ्याएर
बाटो पनि आइरहेछ मलाई पछ्याएर
कस्तो बाटो रहेछ ?
ऊ पनि मेरो नक्कल गर्दोरहेछ|
हिँड्दा-हिँड्दा थाकिसकेँ म
अझ कति हिँड्नु पर्ने हो,
कहिले उकाली त कहिले ओह्राली
कहिले तराइको उष्ण तापलाई उछिनेर दगुरे
कहिले हिमालका हिमथुम्काहरु टेकी
कैयौँ बिकराल टापुहरु नाँचिसकें
कतै हरियाली, सुन्दर, रमणीय छ
कतै उराठ मरुभूमि |
जतिसुकै कष्टप्रद भए त पनि
आखिर हिँड्नु नै छ
अनगन्ती दिनहरु त बितिसके
थाहा छैन अझ कति हिँड्नु पर्ने हो?
गन्तब्यविन्दु नै थाहा छैन
केवल बाटोको सहाराले हिँडिरहेछु
अन्योल र दिशाविहीन मार्गचित्र बोकेर
शिथिल छु
लाचार छु
विवश छु
यद्यपि हिँडिरहेछु |
केवाल बाटोसंग लठारिएर
कैले ऊ अघि लागेर त कैले म अघि लागेर
सायद यसैलाई भन्दारहेछन् क्यार मान्छेहरु
जीवन-यात्रा |

Leave a Reply

Your email address will not be published. Required fields are marked *