बाटो हराएको मान्छे  

यतिराज अजनवी
अष्ट्रेलिया

सायद भुल्यौ होला
तिमीले त्यो बेला

जब माटो थिएन हामीसँग 
म कागजमा कलमले
माटोको गमला बनाउथें
त्यसमा बिरुवा रोप्थें र
फुल्थ्यो तिम्रो अनुहारमा रातो जुलाब
अनि निस्कन्थ्यो ती ओठबाट जबाब— 
नेसन् नभए पनि हुन्छ
तर डेस्टिनेसन् र डिटरमिनेसन् चाहिँ चाहिन्छ 

जब ओत लाग्ने ठाउँ थिएन हामीसँग
म कागजमा घर बनाउथें
तिमी त्यसमा रङ्गरोगन गर्थ्यौ 
चोटाकोठा सजाउथ्यौ
र सुनौला सपना जन्माउथ्यौ 

जब बाटो थिएन हामीसँग
कलमले उसैगरी
म कागजमा बाटो बनाउथें
तिमी तय गर्थ्यौ गन्तव्य
र पुग्थ्यौं हामी
पुग्नुपर्ने ठाउँभन्दा पनि परपर

यसरी चित्र बनाउन बानी परेको
मेरो अभ्यस्त हातले एक दिन साइत जुराएर
जिन्दगीभरि त्यहीँ हिँडिरहने संकल्प गरेर
तिम्रो शिरको भूगोलमा    
कोरेको थियो यौटा रङ्गिन गोरेटो
जहाँबाट खसेको छु म आज धेरै तलतल 

ती दिनहरू सम्झँदा यस्तो लाग्छ
बनाउने कुरा केही नभएपछि
मान्छेले आफैँलाई बनाउँछ
यी दिनहरू सम्झँदा यस्तो लाग्छ
बनाउने कुरा बनाइसकेपछि
मान्छेले आफैँलाई भत्काउँछ
अर्थात्
मान्छेलाई अभावले बनाउँछ
र वैभवले बिगार्छ 

अहिले
छैन तिम्रो हात मेरो हातमा
एक्लो यात्री झैँ छु उभिएको घाटमा
तिनै शब्दहरूको जुञ्जन छ कानमा—
नेसन् नभए पनि हुन्छ
तर डिटरमिनेसन् र डेस्टिनेसन् चाहिँ चाहिन्छ

अब न डिटरमिनेसन् छ
न डेस्टिनेसन् छ
मसँग त फगत नेसन् छ
मैले माटो त पाएँ
तर जिन्दगीको बाटो नै गुमाएँ
माटो हराएको मान्छेभन्दा
बाटो हराएको मान्छे
कहयौं गुना बढता दुख्दोरहेछ 
बाटो नै हराएपछि माटोको के मूल्य?

अचेल म
कागजमा केवल शब्द कोर्छु
ता कि तिनलाई पछ्याउँदै हिँड्दा 
भेट्न सकौं हामीले एक-अर्कालाई त्यहाँ
जहाँबाट त्यो लामो सफर सुरु भएको थियो 

Don't have a Facebook account? Please, use the form below with other options!