बाध्यता

कथाकार

दिपक थापा
अमेरिका

निधारबाट अविरल झरेका पसिना आँखामै टप्किँदा झसङ्ग भएँ |

आफू चडेको गाडी घररररररर…………….गरिरहेको पाएँ अनि यताउता नजर डुलाएँ सबै आफ्नै धुनमा मस्त थिए सायद त्यो भारतमा पर्ने सिलिगुडीको सहरको एउटा कुनाको पाटो दार्जीलिंग मोडमा बिसाइएको थियो त्यो गाडी |

“ए काँक्रा…काँक्रा” मेरो ध्यान ऊतर्फ लम्कियो अनि म बोलेँ “ए भैया एक चानाको कति?” उसको उत्तर सुन्नै नपाई अर्को बोल्यो, “ओ भाइ लिने हो बम्बाई आँप?” थुक्क….मेरो भाग्य आफूले आफूलाई धिक्करें अनि आफ्नो रुमाल गोजीबाट झिकी पसिना पुछेँ |

काँक्रा वाला भैयालाई खोज्दाखोज्दै मेरो छेवैमा कोही बोल्यो ” भाइ सिट खाली हो”? मैँले उसलाई जवाफ दिन अनिवार्य ठानिनँ केवल सम्झिरहे त्यो प्यास मेट्ने काँक्राको स्वाद |

निन्द्रा नै प्यारो लग्यो | न लागोस् पनि कसरी ! छ महिनापछि घर जाने खुसीमा आँखा झिमिक्कै गरेको थिइनँ रातभर जसो अनि आङ तान्न खोज्दै थिएँ | एक्कासी अटसमटस भएर आयो म बसेको सिट | छक्क परें एक अपरिचित व्यक्ति आफ्नो सामिप्य पाउँदा |

मेरो छेवैको साथीले मेरो तिघ्रामा चिमोटी गलल्ल हाँस्दा समेत ऊ केही बोलेन र मलाई लग्यो पक्कै पनि त्यो नपत्याउँदो व्यक्ति परमसहनशील हुनु पर्छ नत्र त आफ्नो खिसीमा को पो चुप्प लागेर बस्छ सक्छ र ?

टुक्रे अंग्रेजी अनि नेपाली मिसाए मेरा साथीहरुले प्रत्येक गीतका हरफहरुमा | हुन सक्छ फुइ लगाउँदै थिए ऊसंग तर अचम्म ऊ मुसुक्क हाँस्यो अनि एक छिन् कल्पनामा डुबेँ म कतै उसको दिमाग अंग्रेजी शब्दहरुले भरिएको छैन? त्यतिकैमा उसले घोसे मुन्टो लगाएपछि मात्र मैंले सोचेँ ऊ एक्लो छ | सायद अफ्ठ्यारो भयो होला हामी उटाङ्गी ठिटासामु |

लामो बसाईपछि हुइँकेको गाडी द्रुत गतिमा गुडिरहेको थियो अरुसंग तछाड र मछाड गर्दै म भने त्यो अपरिचित व्यक्तिलाई कोर्से आँखाले नियालिरहेको थिएँ | सोच्थेँ ऊ को होला ?

तैँ चुप मैँ चुप भएको बेलामा खलासीलाई दिनुपर्ने भाडा नमिल्दा भनौँ या खुद्रा न मिल्दा उसले मलाई ट्वाल्ल परेर हेर्यो मानौँ उसको आँखा बोलिरहेथ्यो मसंग “खुद्रा पाउँ न………….”

मानवताको नाताभित्र रहेर सहयोग गरेँ मैंले अनि बल्ल ऊ बोल्यो “थ्यांक्स” पहिलो बोली त्यही पनि अंग्रेजीमा |

“भै हाल्छ नि” मेरो आफ्नै शैलीमा प्रतिउत्तर फर्काए मैँले अनि सोचेँ अब भने मेरा साथीभाइको बाह्र बज्ने भो |

पल्लो छेउको साथीले उसलाई सोध्यो “भैया घर कहाँ छ? लामो खुइ तान्यो अनि पसिना पुस्तै भोल्यो ऊ “म नेपाली दमकमा छ मेरो घर |”

उसको कुरा सुनिसकेपछि मलाई त्यहाँ बस्न मन लागेन केवल यति मात्र सोचेँ उसले मेरो चाहिँ घर सोध्यो भने के भन्ने ? फेरि मलाई ढाँट्न पनि त आउँदैन |
दर्शकझैँ उनीहरुको गफ सुनिरहेँ टाढैबाट अंग्रेजी शब्दलाई मेरा साथीहरुले जानी न जानी आफ्नै पाराले होस्टे हैँसे गरी ठेलिरहे निक्कै बेर र त बेला बेला ऊ हाँस्दै सोद्थ्यो “भाइहरु कहाँ पढ्छौ”?

मलाई पुलुक्क हेर्यो एउटा साथीले अनि एउटा आँखा झिम्क्याउँदै भोल्यो ऊ “कलकता”,  “स्कुलको नाम “? उसले सोधी हाल्यो फेरि. ……….”सेन जोर्स” ढिलो गरी पाएको प्रतिउत्तर बुज्ने भो उसले म गाडीको झ्यालतर्फ फर्केर हाँस्तै थिए भने अर्को साथीले मलाई हातको इसाराले चुप लाग भन्दै बेला बेला साथीको गफमा हो मा हो पनि मिलाउँदै थियो पनि |

गाडीबाट ओर्लिँदा सायद रातको ९:३० भएको हुनुपर्छ किन कि त्यो भारत र नेपालको नाका पानीट्यांकी ब्यस्त हुने गर्छ प्राए जसो र त सुनसान ठाउँमा आफ्नो खुसीमा भाडा अति नै बडाउँदै बोल्यो रिक्सावाल “भारु ८० गरेर दिनुस् | एउटा रिक्साको मिल्यो भने म आर्को पनि बोलाइलिन्छु” अलपत्र पर्ने डरले हामीहरु मन्जुर भयौँ उसले मागे जति भाडा दिनको लागि |

एक छिनको खास्खास्खुसखुस पछि दुई जना मेरा साथीहरु एउटा रिक्सामा चडे अनि म फेरि त्यो व्यक्तिसंग यात्रा गर्नु पर्ने स्थिति आइपर्दा बुझिहालेँ आफ्नै साथीहरुको खेल |

रिक्सा अघि बढ्यो सुसेली मार्दै रिख्सावाला बीचबीचमा सोध्थ्यो “कता गएर आउनु भएको हजुहरु ?” म बोलिनँ अनि बोल्न पनि चाहिनँ | बस् मनमनै भगवानसंग प्रार्थना गर्दै थिएँ प्रभु उसले मेरो घर चाहिँ नसोधोस् किनकि मैंले उसलाई ढाँट्नु पर्छ |

म उसलाई सहजै भन्न सक्दिनथें म एउटा भुटानी शरणार्थी केटो हुँ | त्यसमा पनि मेरा आफ्नै भोगाइ छन् पीडादायक | अझ भन्नु पर्छ भने त्यो व्यक्ति मसंग रिक्सामा चाड्न पनि मान्ने थिएन होला सायद मेरा हर भोगाइ नै यस्तै छन् कृपया काल्पनिक होइन म |

मेची पुलको छेवैमा भारतीय सैनिकले २४ सै घण्ट खटिएर प्रत्येक व्यक्तिको सर-समान चेक जाँच गर्ने ठाउँमा आफूलाई पाउँदा पो रिक्साबाट ओर्लिएर दौडौँ जस्तो लग्यो तर मनलाई बाँधेर बसेँ |

“म स्टुडेन्ट” मेरो कलिम्पोंग कलेजको आइ.डी कार्ड देखेपछि मेरो ब्याग नहेरी छोडिदियो मलाई भारतीय सेनाले बस् स्टुडेन्ट हुनुको फाइदा त्यति एउटा हो लाम लागेर आफ्नो झोली झ्याम्टा चेक चाहिँ गराउनु न पर्ने |

मसंग बसेको व्यक्तिले मलाई निक्कै बेर हेर्दैखेरि मेरो सातो उडिसकेको थियो | सोचेँ पक्कै उसले मलाई अब धिक्कार्छ होला नै | ऊ बोल्यो “भाइ मेरो घर बेलडाँगी हो अनि तिम्रो नि ? सत्य बोल है |”

रंग उडिसकेको अनुहारमा कृतिम हाँसो छोड्दै भनेँ, “मेरो गोलधाप हो तर तपाईंले मलाई सोध्नु पनि त भएको थिएन नी” | ” “छट्टु” उसको शब्दले मलाई नतमस्तक बनाइदियो अनि मैंले भनेँ  “दाइ के गर्ने मन नमानी नमानी पनी आफूले आफूलाई नै ढाँटेर बाँच्नै पर्या छ यो हजारौं स्वार्थीहरुको भिड माझ |” मेरो कुरा सुनिसकेपछि पो मलाई उसले भन्यो, “भाइ एक दम ठीक कुरा गर्नुभो | मेरो नाम रोहण हो  | म लिटिल फ्लावर स्कुलमा पढाउँछु ………. |” लामो खुइ तानिसकेपछि अघि बढ्यो ऊ फेरि आफ्नो आफ्नो कर्म रैछ र त आज यो दिन देख्नु पर्यो; खै र तिम्रो नाम ?” “म दिपक” मेरो उत्तरसंगै मैँले रोहण दाइलाई सोधेँ “तपाईँ शरणार्थी भनेर त्यो स्कुलमा कसैलाई पनी थाहा छैन”? दाइले भन्नु भयो, “भाइ, यदि झुकिएर पनि त्यो सब्द त्यहाँ निक्लियो भने मेरो जागिर चट् हुन्छ |

रोहण दाइले हामी सबैको भाडा तिरिदिँदै भन्नु भयो, “म आफूलाई धेरै छट्टु ठान्दथें तर महा छट्टुहरु भेटें आज मैंले |” मैंले सबैको सामु भनेँ, “दाइ, त्यो त हाम्रो बाध्यता हो नि होइन र आखिर कसलाई पो रहर हुन्छ र आफ्नो जाति बेचेर झुटको खेति गर्न ?”
फेरि भेट्ने बाचाका साथ छुटेका हामी आजसम्म मेरो रोहण दाइसंग भेट भएको छैन सायद कुनै बाध्यताको कारणले गर्दा |

Leave a Reply

Your email address will not be published. Required fields are marked *