बिर्सी नसक्नु
गंगाराम रिजाल
केन्टकी,अमेरिका
१
लेखेँ है अति दुःखको छ घटना भन्नै नसक्ने गरी !
धेरै वर्ष भयो गरेछ विधिले सङ्कष्ट लौ त्यैघरी॥
बस्थे सुन्दर गाउँमा प्रकृतिको आनन्द यौटै थियो !
बज्रैभो शिरमा भयङ्कर ठूलो हा ! दैवले के दियो॥
२
विक्रम् सम्बतले असार महिना उन्तीसको सालहो !
बाबा औ दुहिता गए सँगसँगै त्यो दैवको जाल हो॥
सातैको परलोकभो जबत्यहाँ आमा रहिन् के गरी !
छोरा बालकनै थिए र जननी के भन्दथिन् त्यै घरी ॥
३
ठूलोशोक बढेर हुर्मत थियो भन्थे छिमेकी जन ।
हप्तापाँच बितेन आखिर जसै कस्तो हुँदोहो मन ॥
मिल्दा वैद्य त्यहाँ र जीवन बुटी पर्दा रहन्थे जन ।
लेखेको जतिहो ललाट भरिमा मेटिन्नहै जे भन॥
४
आफ्ना सन्ततिको भयोनि गहिरो त्यो चोट जन्मैभरी।
आमाले दिनहुँ सहेर कसरी बाँचिदिईन् के गरी !!
हुर्केका गुँडभित्रका चहकिला सन्तानलाई विदा !
गर्नुभो कसरी चिता वरिपरी हेरेर त्यो संझिदा ॥
५
रित्तो काखहुँदा बुझाउन निकै गाह्रोछ मन्मा अति ।
चोला एकपछि क्रमैसँग उठ्यो बाबा र छोरी जति॥
कस्तोरोग थियो उजाड घरभो गाउँ बन्यो शोकनै।
निद्रा प्यास थकाईजो सबकुरा लाग्दैनथ्यो भोकनै॥
६
वर्षायाम निकै र बादल झरी खोलानदी भेलमा !
खप्नुभो ममता सहेर कसरी त्यो दैवको खेलमा ॥
आफ्ना धड्कनहुन् ती स्वासपलका मायानिकै बढ्दछ !
टिप्दै फूल लिएर भाव हरिका त्यो पाउमा चढ्दछ ॥
७
छुट्टै यो ईतिहासको छ घटना रित्तो भयो त्यो घर।
कोहोलान् भनि सोध्नुभो यदिभने भन्दीन आजै तर॥
मृत्युको मुखमा सबै घुमी घुमी पर्छौँ कुनै त्यो दिन !
भाका भूल दया म सुन्दिन यहाँ आउनेछ भन्दै लिन॥
८
छैनन् है गृहलक्ष्मीझैँ ति भगिनी ढोका स्वयं बोल्दछ।
भन्थिन् ती ममता बुझाऊँ कसरी यो मन् सधैँ पोल्दछ
मेरा अग्रज औ दिदी र बहिनी ती देव देवि सब
स्वप्नामापनि दर्शनै कसरी त्यो होला अति दुर्लभ॥
९
हे बाबु ! टुहुरो बनेर अबलौ बाँच्नुछ संङ्घर्षमा !
आफैँ भावुकभै सुनाउनु भयो अन्दाजी नौ वर्षमा॥
पस्ने ज्ञानहुँदा सुनेँ ति भगिनी छैनन् नि बाबा पनि।
सँझाईकन पुत्रलाई कसरी भन्नुभयो लौ अनि ॥
१०
भन्दै भावुक भै कुनैदिन यहाँ संसारको गन्थन !
गर्थ्यौँ हामी पुलुक्क हेरी मुखमा आँशु बगाईकन॥
भिज्छन् बस्र शरीरका दिनदिनै छन् वेदना मन्भरी ।
बिर्सौँ बिर्सिनसक्नु याद गहिरो खट्किन्छ जीवनभरी॥
११
दिन्छुसाथ सधैँ सबै विगतका बिर्सिदिनोस् त्यो दिन !
बाँचौँला सुतसाथछन् भनि सधैँ हाँसौँ न एकै छिन ॥
सम्झाएँ अनि त्यो बढेछ मनमा आशा अलि गर्नुभो।
सारा कष्ट सहेर छाती विचमा वात्सल्यले भर्नुभो॥
१२
पंछी भुर्र उडेर जान्छ गुँडमा संझेर नानीहरू ।
भोकाछन् तिनको भरौँ उदर नै भन्छन् ति आमाहरू॥
दौडन्छन् वनकुञ्जमा वरिपरी च्यापेर चुच्चा भरी।
देख्छन् है गुँडखालि आई विचरा रून्छन् त्यहाँ बेस्सरी ॥
१३
यस्तै हो सबका जहान नहुँदा सङ्कष्टमा अल्झिने।
बिर्सी बिर्सी नसक्नुभोनि अहिले छन् चोटहै बल्झिने॥
दौडाएँ अतिबेगले कलम यो त्यो वेदना संझिदै ।
आफ्नैहो घरको नमान्नु परको संझेर मन्मा लिँदै॥
१४
भोको प्यास सधैँछ रात दिनमा निद्रा हराई गयो !
आएको सबयो विपत्ति घरमा बिर्सिनसक्नु भयो॥
गर्दै शोक विलाप दर्द भरिको सन्तानका खातिर।
मायाले सब बाँधिने भुवनमा बुझ्दैन मन् आखिर॥
१५
धर्तीनै हुनुभो परेँ हजुरका कोमल चरणमा म यो।
सुन्दा बालकहूँ कहानी सबयो के भन्नु के भन्नुभो ?
हे बाबू ! अबखै चलेन मुटुमा यो देहढल्दै गयो।
मेरा अन्तिम वाणीहुन् यतिसुनैँ हाराम ! रामै भयो !!
१६
छैनन् जीवनमा अथाह घटना यौटै परिवारमा !
पीडा घातक यो नहोस् अरूकतै भन्छु म संसारमा॥
पानी नै नहुँदा भिजाई कपडा आँशु बगाई धुने ॥
होलान् सन्ततिका वियोग मनमा भिन्नैछ यो मन् छुने॥
१७
लेखेँयो घटना यहीँ यसरी नै विश्राम लिन्छु अब ।
छुट्तैनन् मनका विषाद बहुतै सक्दिन आजै सब॥
औँसीका दिन मेघले रजनिमा ढाकी दिएझैँ भयो ।
लीला रामकथा अथाह यसमा बिर्सी नसक्नुछ यो॥
१८
हुँदा यस्तो पीडा सहन नसकी कापी कलम !
लिएँ आफैँ मैले भनिकन बनुन् शब्द मलम॥
अहो यस्तो गाथा विधिबस सबै दुर्दिन भयो !
विधाताको आफ्नै कसुर यसरी के हुनगयो !!
१९
कतै हेर्छु उस्तै भगिनीहरू जस्तै पथभरी !
झझल्को बाबाको स्मरण ममताको घरिघरी॥
कहाँ हट्थ्यो त्यस्तोमन यदि नभै पत्थरसरी।
विधाताको पीडा सहन नपरोस् जीवनभरी॥
२०
न देखिन्थ्यो घाउ हृदयबिचको जल्दछ सधैँ।
मलमपट्टी होला नबुझी कसरी झट्पटकु नै।
पुगेहोलान् काहाँ जनक भगिनी धाम कुनहो ?
यहाँ संझी दिन्छु जल अँजुली श्रद्धासँग भयो !!
शार्दूलविक्रीडित छन्द