बुच्चे सुरुवाल र टाई

कवि
कवि

उज्यालो नहुँदै आँखा मिच्दै जुरुक्क उठ्ने ठिटो,
साईकिल पछाडि बटुको चेपेर दमक पुग्ने ठिटो॥

आज उ यसरी बद्लियो कि कोट पैन्टमा टाई भिर्छ,
बुच्चे सुरुवालको ईँजार हातले कस्दै कुद्ने ठिटो॥

आजकल उ भन्दै हिँड्छ म भूटानी हैन सिर्फ नेपाली हुँ
वा ! बिसौँ बर्ष बगडाको डकारमा औँला सुँघ्ने ठिटो॥

मुलायम सोफामा बसेर आज उ निचता झल्काउँदैछ,
रातभर ताराहरु गन्दै चिमको खाटमा सुत्ने ठिटो॥

आखिर उ नेपाली भाषी भूटानी पो हुनुपर्ने हैन र ?
कुनै दिन स्वदेश फिर्तीको नारासंगै जुध्ने ठिटो॥

सायद यो सफ्ट टिसुको जमानाले मात्तिएछ क्यार,
झाडीभित्र लुक्दै झार पातले दिशा पुछ्ने ठिटो॥

मिस्टर ज्याक भा’छ आजकल आफ्नै रित तोडेर,
हिजो ए जंगे भनी बोलाउँदा खुसीले चुम्ने ठिटो॥

ड्याड र ममको कोचिंग दिन्छ आफन्तहरुलाई,
पाउ चरणमा झुक्दै आमा बुबा’लाई पुज्ने ठिटो॥

बिडम्बना! आफ्नै संस्कृतिमाथि धावा बोल्दैछ हेर,
हिजो परम्परा जोगाउँ भन्दै घर घरमा पुग्ने ठिटो॥

नमस्कार भन्दा “यु ब्लडी फूल” भन्दै रिस पो पोख्छ,
खुल्ला चउरमा नमस्ते गुरुबा भन्दै झुक्ने ठिटो॥

उफ! आफ्नै पहिचान बेचेर हिँड्दैछ रोक्नु कसोरी,
हिजो ‘संस्कृति बचाउँ’ को अभियानमा जुट्ने ठिटो॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *