बुवाको आशीर्वाद
– जगन्नाथ मिश्र
हे बुवा ! दिनुभो असीम करुणा आनन्द वैभव सुख
श्रद्धाले भरी मन झुकाई शीर यो आएँ म हेर्नै मुख
कसर क्यै नछुटाई नखाइ-नपिई गर्यौ नि हाम्रो भरण
आएँ आज मता पवित्र बननै ढोगी हजूरकै चरण ! II१II
सुँकसुँक गर्दै फक्लाक्दै कति कुदें सुख मिल्छ कहाँ भनी
बुवाको चरण रहेछ त्यो सुख मालिक त्यो सुखको पनि
जुन सुख मिल्छ ढोगेर ती चरण त्यै सुख गुरु हो उता
त्यो सुखबाट विमुख नबनू रातोदिन भज्छु मता II२II
दौराको फेर त्यो समाई कहिले औंला समाइकन
काँधमा बुर्कुसिदै बहुत हुरमत् दिएको त्यस्तो क्षण
तिम्रो देह आकाशसरी त्यो अनन्त वैभव सुख
अज्ञानका भूलवश समेटी मनमा आउँदैछु हेर्नै मुख II३II
धन्यैछन् जति वाक्-वचन हजुरका धन्यैछन् सब चीजहरू
धन्यैछन् सुवचन सुमार्ग जति हुन् देखाउनु भो अरू
जेठका घाम कडा सहेर पसिना छुटाउनु भो अति
हाम्रा खातिर भिष्म जोखिमहरू उठाउनु भो कति II४II
विद्यार्जन गराउन भनी थियो परम ध्येयता
यो पुण्य सुविचार बोकेर जहिले बन्नुभो उत्तम पिता
त्यस्तो दुर्गम अन्धराज जहिले थियो त्यहाँ तैपनि
जस्तो चिमचिम जूनकिरी बनी हजूर त्यो कालरात्रि मुनि II५II
कुन चैं शब्द झिकी बताउँ अहिले छ श्रद्धा मनमा कति
तारा सूर्य शशि जति छन् नभमा पुग्दैन तिनले पनि
तिर्नु हो त्यो कसोरी अनन्त ऋण छ मेरा उपरै भनी
दिन दिन ढोग चढाउँछु म यहाँ चरण रज माथाभरी II६II