बेडटाइम स्टोरी
यतिराज अजनबी
एड्लेड, अस्ट्रालिया
बाबु !
तिमीहरूलाई थाह छ?
जुन भाषामा मैले जिन्दगीका साउँ अक्षर सिकेँ
तिमीहरूले हामीलाई ड्याडी ममी भनेजस्तै
बा आमा भन्न जानेँ
जुन भाषा बोल्न नपाउँदा
आफ्नो वासस्थान र बस्ती मात्रै हैन
देशै छोडेँ
र अन्ततः: नेपालीको उद्गमस्थल पनि छोडेर
बसाइँ सरेँ नेपाली बिरुवा कहिल्यै नउम्रेको मरुभूमिमा
पहिलो भेटमा
मेरो मौनताको ओठहरूबाट
प्रस्फुटित प्यारको कथन नबुझेपछि
हो त्यही नेपाली भाषामा लेखेको थिएँ
मायाको मसीले तिम्री ममीलाई पहिलो प्रेमपत्र
यसरी सुरु भएको थियो हाम्रो सम्बन्ध र
जन्मियौ तिमीहरू
त्यो चिठ्ठी र त्यससँगै मैले पठाएको गुलाबका पत्रहरू
एकै ठाउँ राखेकिछन् तिम्री ममीले
बृहत् नेपाली शब्कोशभित्र
कुशेऔंसीमा बर्सेनि पाठ गर्छिन्
र पढिसकेपछि हृदय र शिरमा छुवाउँछिन्
पाठशालामा गुरुलाई पाठ बुझाएपछि
गीताको पुस्तकलाई मैले गरेझैं
नेपालीको आँखाको अनुहार
अनुहारको आँखा
र मुखाकृतिले गरेको अभिव्यक्तिको
अभिधा, लक्षणा र व्यञ्जनाबाट बोध हुने
तात्पर्य बुझ्न शब्दकोश पटक्कै चाहिन्नथ्यो मलाई
ए बाबु म बहुलाउन आँटेँ
कि बहुलाइसकेँ हँ
जति समय बित्दै छ त्यति
तिमीहरूले बोलेको बुझ्न छाडिसकेँ
पछि बुझ्ने भएपछि आफैँ थाह पाइहाल्छौ
अहिले हामीलाई तिमीहरूको अङ्ग्रेजी नबुझ्दा
जति अफ्ठ्यारो भएको छ
त्यसको तेब्बर गाह्रो पर्नेछ तिमीहरूलाई
मृत्युशय्यामा हामीले बर्बराएका
हाम्रा अन्तिम इच्छाहरू बुझ्न नसक्दा
हाम्रो दोश्रो भाषा तिम्रो मातृभाषा हैन
हाम्रो मातृभाषा तिम्रो दोश्रो भाषा पनि हैन
त्यो दोश्रो भाषालाई मातृभाषाभन्दा ज्यादा नै माया गर
तर कमसेकम नेपालीमा लेखपढ गर्न सक्नेसम्म होऊ
अब त तिमीहरू हाम्रै सन्तान हौ
भन्ने कुरामा पनि शङ्का लाग्न थालेको छ
ए बाबु
अब चाहिँ म पक्कै बहुलाएँ जस्तो छु
नेपाली बोल्ने अर्को पनि आफन्त लाग्छ
नेपाली लत्याएर अनावश्यक दोस्रो भाषा बोल्ने आफन्त पनि अर्को
यो बिरानो देशको म बस्ने
सुनसान घरहरूको घना जङ्गलमा
कसैले नेपाली बोलेको सुनियो भने
वृन्दावनजस्तो लाग्छ
अस्पतालको बेडमा थला परेको बेला
आयो भने कोही बोल्दै नेपाली
लाग्छ सामुन्नेमा खडा भएका छन्
हनुमान हातमा सुमेरु उचाली
बाबु ! ए बाबु !! बाबु !!!
ल नढाँटी भन त मेरो बाबु
म अब नफिर्ने गरी साँच्चै बिरामी भएँ छु क्यारे हो?
अब तिमीहरू के गर्छौ मेरा बाबै !