बेलडाँगी

कवि
कवि

गोविन्द रिजाल

लामो थियो परिचय,
बिर्सनलाई गाह्रो पर्ने
परिवर्तन धेरै आएछन्,
सम्बन्धमै चारो छर्ने
घुमी जगत सम्झी फिरेँ
समर्पित उसकै लागि
भोकै दुब्लै हाहाकारमा
बाँचेको छ अझै मागी
अन्तिम शैयामा छटपटाइरहेछ
मेरो इतिहास, प्रिय बेलडाँगी ।।

कोलहाल घटेछ, वितृष्णा बढे जति
रिस क्रोध पश्चतापमा फलाकिने
शब्दहरू अङ्कुराउने मति
हार नैराश्यमा प्रस्फुटन हुने
साहित्य मौलाएको गति
भण्डारन हुँदैछन्
शब्दकोशमा नअटाउने जति
तिनै अप्रिय शब्दहरू ओकल्दै
अन्तिम शैयामा छटपटाइरहेछ
मेरो इतिहास,प्रिय बेलडाँगी ।।

त्यै शैयामा लम्पसार छ
एक सभ्यताको इतिहास
जातिको एक पहिचान
चट्पटाइरहेछ,
छट्पटाइरहेछ ।
बेतुकका छन् सलामीहरू
हतारमा छन् मलामीहरु
उता,
चिता झोस्ने हतारमा छ क्यमोफ्लेज र खागि
यता,
अन्तिम शैयामा छट्पटाइरहेछ
मेरो इतिहास,प्रिय बेलडाँगी ।।

यो जन्मदै सुर्जेको रगतले सिँचिएको
भिन्न दीक्षित हुन्थ्यो कसरी
कति मारेको कति मरेको
पसिना र रगत दहभरि
फुलेन कमल, उडेन कलरब
मृगहरु ओरालो झरे
देशप्रेमी एक्लब्यहरु
मूर्ख ठहरे, एक्लो परे ।
हाँसो छैन, चैन छैन
अन्यायका आँसु आँसु
कति सुके कति झरे
वेदना छोपी संघर्षु
बहिस्कृत एक्लो परे ।
जन्तिहरु मानोको पछाडि
मलामिहरु छानोको पछाडि
दिनेहरु ठग
लिनेहरु लोभी भएछन्
आशालाग्दा कर्णधार
अर्कै मुलुक चलान भएछन्
इतिहास रच्नेहरु
लक्ष्य छोडी पलायन भएछन्
वृद्धवृद्धा लम्पसार छन्
बाँझो क्षितिजमा आशा टाँगी
अन्तिम शैयामा छट्पटाइरहेछ
मेरो इतिहास, प्रिय बेलडाँगी ।।

कुण्डलिनी नजागेको योगी भएछ बेलडाँगी
एकान्तमा छोडिएको कुष्ठरोगी भएछ बेलडाँगी
आउने छैन, जाने मात्रै
हात पसारेको पसारेकै
सिर्फ बाच्नको लागि
न जोत्छ,
न रोप्छ,
न मलजल, न गोडमेल
न काट्छ बाली, न चाख्छ नुवागी
दीन दयामै एक युग बाँचेर
भोगी भएछ बेलडाँगी
अन्तिम शैयामा छट्पटाइरहेछ
मेरो इतिहास, प्रिय बेलडाँगी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *