भस्माशुर
रूप पोखरेल
पिट्सबर्ग, अमेरिका
तप्-तप् तप्केको तप्केनी
एउटा पातको छातीको डोरो समातेर
छिटा-छिटी बटुलिँदै
तप्लक्-तप्लक्
एक कुवाको आकार बढ़ाईरहेछ
प्यासी चरा-चिरूँगी,
दोपाया-चौपाया सबैको
प्राण रक्षक
त्यो कुवा !
केही पर
त्यो म नै हुनसक्छु
एउटा आकृति सल्बलाई रहेछ
त्यो म नै हुन सक्छु
त्यो काटी-कुटी ‘म’ जस्तै देखिन्छ
मेरो भ्रम भन्न मिल्दैन
म प्रत्यक्ष-
मान्छेकै रूप देखिरहेछु
ऊ सलाई कोरेर
बनपाखा जलाई रहेछ
ज्वालोको लप्काले संसारै निल्दा
आफ्नो निर्विरोध जितको अनुभूति
ऊ अटाहास हाँसो हाँसिरहेछ ।
बचेरासँगै गुँड जलेपछि
पिल्सीएका पँखेटासँग माउ भूईमा भ्यात्त झर्दा
ऊ बोटमै पाकेको केरामा चमेरो रमाए झैँ
रालको घुड्की निल्दै
छट्पटाइ रहेको चरो समात्छ
प्यासी ‘ऊ’
अनि
कुवाको पानी पीउँन धाउँछ
अँगार र खरानीले पुरिन लागेको कुवा देखेर
ऊ माथि हेर्दै रूखका हाँगा-हाँगामा रमाइरहेको
ज्वलाको लप्कालाई सक्दो सराप्छ !
थुक समेत सुकेर च्याप-च्याप भएको जिब्रो चलाउँछ
टाउका माथि रूखमा लप्केको ज्वालोसँग
दुर्योधनले पोखरी भित्र लुकेर दारा किट्तै
रूद्रघण्टी गल्नेगरि गाली गरेझैँ
गाली गर्छ -तथानाम
उसलाई लाग्छ-
ज्वालो ऊसँग डराउँदैछ
ज्वालो ऊसँग भाग्दैछ
उसले बिर्सीयो-
त्यो त्यही सानो सलाई काँटीबाट निक्लेको धिप्को
उसकै हातहुँदै शिरमाथि
हरिया वनपाखा सलर्क्कै निलेको
नार्सिस प्रवृति
ऊ भित्र भस्माशुर सवार छ
काल चक्रको गतिबृद्धिमा सघाउ हुँदैछ
तप्केनी र कुवाको नाता टुटाइरहेछ
उसभित्रको सकुनी जीवितै छ
कुवामा हात लम्काउछ
गाग्रो रित्याउनलाई
पसिनाले निथ्रुक्क भिजेको गलाको गल्फन निचोर्छ
एक घुड्की प्यास मेट्नलाइ |
एउटा हातमा अझै अर्धमरो चरो चिँक्-चिँक् गरिरहेछ
ऊ मनमनै घरमा मरमसला सम्झिन्छ
चुलामा कराई मनमनै तताउँछ
छेवैमा अर्कों पनि चरो झरिदिए हुन्थ्यो- पुकार्छ
प्यासको भाँडो चुल्लीरहेछ
ऊ किन हार्छ?
कुवा छेउ-छाउको हिलो कमेजका फेरमा उठाउँछ
भीमसेन बल लगाएर
पेचामा तेलीले पीना खाँदेर निचोरे झैँ- निचोर्छ
तप्लक्क-तप्लक्क चुइएको माटीलो पानीले
सुकिसकेको जिब्रो भिजाउँछ
ऊ मनको कुवाको आकार बढाउँछ
डढेलोका लप्काले डढाएका आँखीभूँइ मसार्छ |