भुटानी शरणार्थीको सन्देश भुटान आमालाई: एक अंश
खेमनाथ दाहाल
चुसेर रक्त औ स्वेद बनाई जीर्ण राज्यले
पुरस्कार दियो आमा अनागरिक मानले
नीति ड्रिग्लाम नाम्जाको अवलम्बननै भयो
विश्वका सामुमा हाल राज्यविहीनझैँ भया े ।।१।।
पारो जोङ्ग भयो साँच्चै वधशाला समान नै
मारिए जनता धेरै जोङ्गभित्र लगी सधैँ
काङ्गलुङ्गे र दोरोखे त्रस्त छन् अहिलेतक
मारिए तिनका छोरा पत्तो छैन अझैतक ।। २।।
मारियो कतिलाई त झुक्याई कष्टले अति
साम्ची देवान साक्षी छन् लाग्छ हाम्रा पछी पछी
आदर्श तिनको कोही कसैले भुल्न सक्दछ ?
तिनै शहीद हुन् भन्दा आत्मगौरव बढ्दछ ।।३।।
काढेर वृषको चर्म जननायकले भरी
सियोले चर्म धोक्राको मुख सिएर बेस्सरी
सुनकोश नदीभित्र डुबाएको कुकृत्यता
सम्झँदा अहिलेसम्म ज्वाला बल्छ कता कता ।।४।।
अनगिन्ती मरे आमा अन्यायी राजतन्त्रमा
तारो हानी लिए प्राण वीरलाई लरिङ्गमा
कहाँ तर मरे वीर थप ऊर्जा विकास भो
सारभाङ्गहरु जस्ता घटना घटिए अहो ! ।। ५।।
त्यति मात्र कहाँ हो र ! सयौँ निर्दोष दीन ती
अत्याचारी फटाहाका सामुन्नेमा परे जति
कोचिए जनता जेल ठोकिए नेल नै पनि
ऐयासम्म भनेकोमा जेलभित्रै मरे कति ।।६।।
गाउँ–गाउँ र बस्तीमा पाशविक अझै सयौँ
बीभत्स वधका गाथा गुञ्जँदै छन् कहाँ भनौँ
व्यथा करुण गाथाको सुन्नेछैन कुनै जन
क्स्तो निष्ठुर हो देश चिरिन्छ सम्झँदा मन ।।७।।
[प्रस्तुत कवितांश कवि दाहालको श्वेतपत्र महाकाव्यको भुटानी शरणार्थीको सन्देश भुटान आमालाई नामक सर्गबाट उद्धृत गरिएको हो- सं. ]