भूटानी नेपाली साहित्यको सङ्ग्रहालय हो :- लिटरेचर डट कम
डा.लक्ष्मीनारायण ढकाल
केन्टकी, अमेरिका
युग जसरी जसरी अघि बढ्छ त्यसरी नै युगलाई पछ्याउनु मानवको अपरिहार्यता हो I किनकि युगीन चेतना भएन भने मानव युगको दौडाइको रेसमा पछि छोडिन्छ, अत: मानवले युगानुरूप ढाँचा तैयार गर्दै जानुपर्छ I युगलाई पछि फर्किएर हेर्ने हो र वर्तमान युगसँग तुलना गर्ने हो भने युगको परिवर्तन धर्मितालाई सहजै देख्न सकिन्छ I यस युगीन दौडाइमा हामी भूटानी मूलका व्यक्तिहरू त झनै पछाडि नै छौँ, तर पनि सकेसम्म दौड लगाउनु हाम्रो नियति नै बनेको छ I हामी भूटानमा छँदा कुन अवस्थामा थियौँ र आज समयले हामीलाई कता पुर्याएको छ भन्ने कुरालाई हामी आँकलन गर्न सक्दछौँ I हामीले लामा लामा फड्का मार्नु परेको छ र मार्दै छौँ पनि I
भाषा साहित्य , शिक्षा,वाक् स्वतन्त्रता र मानवाधिकार जस्ता मूलभूत आधारहरूको उपभोग गर्न नपाउँदा हामीले हाम्रो देश गुमाउनु पर्यो I देश गुमाउनु परेतापनि प्रवासमा हामीले लत्तो छाडेनौँ I हामी निरन्तर बामे सर्दै छौ र कतिपय क्षेत्रमा दौड लगाउँदै छौँ I शरणार्थी शिविरमा अभाव र सङ्कटग्रस्त अवस्थामा पनि हामीले भाषा साहित्य र शिक्षालाई नै उद्देश्य बनाउनाले हाम्रो बाँच्ने सहारा सिद्ध भएको हो भन्दा अप्ठ्यारो मान्नु हुँदैन I सन् १९९३ देखि नै हामी विभिन्न माध्यमबाट भाषाको जगेर्ना गर्न सक्रिय भयौँ I यही अभियानले ‘भाषा परिषद् भूटान’ देखि लिएर थुप्रै संस्थाहरुको निर्माण गर्यौ र निकै महत्त्वपूर्ण र सफल योजनाहरूलाई मूर्तता प्रदान गर्यौ I
प्रवासमा भाषा साहित्यको संरक्षण गर्ने क्रममा यो समाजले निकै ठुलो उपलब्धि हासिल गरेको छ I साहित्यका परीक्षा सञ्चालन, पत्रपत्रिका प्रकाशन, लेखन, वाचन र कृति प्रकाशन देखि लिएर अभिव्यक्तिका सबै विधाहरूलाई भरपुर प्रयोग गर्दै २० वर्षको अवधिमा एउटा युगलाई नै पार गरी युगीन फड्को मारिसकेको छ I
युगको रफ्तारसँगै लेखन र प्रकाशनले पनि आफ्नो चोलालाई बदलेको अवस्था छ I अबको समय भनेको पहिलाको जस्तो कागजी पत्रपत्रिका, पुस्तक प्रकाशन र आलेख प्रकाशन गर्दा प्रेसमा महिनौँ दिन ढुक्नु पर्दैन I आज तक्निकको प्रयोग हाम्रा दैनिक दिनचर्यामा हाबी भएको अवस्था छ I आज पूर्वीय मुलुकहरूमा पनि ई-प्रकाशनको लहर चलेको छ भने पश्चिमा मुलुकहरू त पहिल्यैदेखि अभ्यस्त भएका छन् I आज मानवलाई सबै थोकको पुगिसरी भएता पनि समयको किल्लत दिनप्रतिदिन बढिरहेको छ I कम समयमा धेरै काम गर्नु आजको संस्कृति हो I यस दृष्टिमा यो ई-प्रकाशन सर्वाधिक लोकप्रिय बन्दै गएको मूल कारण नै समयको अभावले हो I अत: आजको परिप्रेक्ष्यमा लिटरेचर डटकम जस्ता साहित्यिक ई-प्रकाशनको महत्त्व बढेको छ I
पुनर्वास पछि भूटानी समाजले पनि बाँकी संसारसँग दौड लगाउन अझ धेरै परिश्रम र सचेत बन्न कर लागेको छ I डायस्पोरामा छरिएको समाजलाई एकसूत्रमा बाँध्न ‘लिटरेचर डटकम’ ले महत्त्वपूर्ण भूमिका खेलेको छ I यतिमात्र हैन, यो ई-प्रकाशन आज दसवर्षको अवधिमा भूटानी नेपाली साहित्यको ठूलो सङ्ग्रहालय नै सिद्ध भएको छ भन्दा अत्युक्ति हुँदैन I किनकि भूटानी लेखनका क्षेत्रमा यो भन्दा धेरै सामग्री प्रकाशन गरेको अर्को कुनै साइट नै छैन I यी दसवर्षमा लिटरेचर डटकमले लगभग २५०० रचनाहरू प्रकाशन गरिसकेको छ, यसलाई ठूलो उपलब्धि मान्नु पर्छ I
लिटरेचर डटकामलाई आज भन्दा १० वर्ष पूर्व समाजका होनहार युवा लेखक रमेश गौतमले आकार दिएका थिए I उनको युगीन चेतना र दूरदर्शितालाई हामीले नमन गर्नु नै पर्छ I गौतम १० वर्ष देखि निरन्तर खटेका छन् यस कार्यमा I यद्यपि यो साइट साहित्य परिषद्, भूटानको प्रकाशन बोर्डद्वारा सञ्चालित र थुप्रै सम्पादकहरूको योगदानमा प्रकाशित हुने गर्दछ, तथापि तकनिकी संयोजन, रखरखाव र मलजल गर्न रमेश गौतम कै सर्वाधिक योगदान रहेको छ I
भनिन्छ कुनै पनि परियोजनालाई, मिसनलाई या साधनालाई सिद्ध गर्न अर्थात् सफलताको चरममा पुर्याउन युग लाग्दछ I १० वर्ष भनेको एक युग नै हो I अब लिटरेचर डटकम पनि आफ्नो युवावस्थामा प्रवेश गरिसकेको अवस्था छ I १० वर्ष पुरा गरेकोमा लिटरेचर डटकम र यस कार्यमा आरम्भदेखि खट्ने सम्पूर्ण साहित्य सज्जनहरूलाई हार्दिक शुभकामना !
साथै सम्पूर्ण लेखक वर्गमा पनि साधुवाद, जसका अमूल्य रचनाहरूले यो सामूहिक अभियान गतिमान छ I आशा छ भविष्यमा सबै भूटानी सर्जकहरूबाट अझ धेर माया र योगदान प्राप्त भइरहने छ I भाषा साहित्यको संरक्षण रूपी यस महायज्ञमा हामी सबैको योगदान भई नै रहोस् I अस्तु !