भोटाङे
शंकर रैनपुरे
युटा, अमेरिका
कति टर्रो तिम्रो जिब्रो हँ?
कति पिरो तिम्रा शब्दहरू!
कति पोल्ने तिम्रा आवाजहरू!
“भोटाङे! भोटाङे!” भनेर
जति जति तिमी चिच्याएर
निच्याएर मलाई
भोटाङे!..भन्दछौ
मभित्रका लाखौँ भोटाङेहरु
मभित्रका लाखौँ शिविरेहरु
मभित्रका लाखौँ बगडेहरु
एकसाथ..
स्वाभिमानको नारा मुस्कुराउँदै
पहिचानको शिर उच्च पारेर
झन् ‘भूटानी’ भएर बाँच्दछन्
याद छ
म एक बोतल तेल बोकेर
एक बटुको गहुँत साट्न आएको दिन
साँझ तिम्रो तिहुनमा
कराईले भुटुन चाखेको हो
सम्झना छ
मेरी आमाले
एक पोको चिनीसित
एक थाप्रो गोबर साटेको दिन
बिहान तिम्रो चियामा
ओठले गुलियो चाखेको हो
हामी गहुँत र गोबर पनि
तेल र चिनी दिएर लिन्छौं
स्वाभिमानको नारा मुस्कुराउँदै
पहिचानको शिर उच्च पारेर
झन् ‘ भूटानी’ भएर जिउँछौं
कति टर्रो तिम्रो जिब्रो हँ?
सम्झन्छु
बिहानै एक कित्ली मोहि
र निन्याउरो अनुहार लिएर
हाम्रो झुप्रा बस्तिहरुमा
तिमी दही बेच्न आउँथ्यौ
फर्कँदा एक झोला चामल
र एक झुत्तो खुसी लिएर
फर्कन्थ्यौ
सम्झना छ
एक पोको गुन्द्रुक बोकेर आउँथ्यौ
एक थुन्से किनिमा बोकेर आउँथ्यौ
एक डोको मेसु बोकेर आउँथ्यौ
एक भारी दाउरा बोकेर आउँथ्यौ
हाम्रै बस्तीमा तलमाथि गर्थ्यौ
र फर्कदा एक पोको दाल
एक थुन्से बगडा
एक डोको हाँसो
र एक भारी आनन्द लिएर फर्कन्थ्यौ
र पो तिमीलाई बगडे गना’को हो
कति पिरो तिम्रा शब्दहरू!
सम्झन्छु
मेरी दिदीले दसैँ पोत्न
एक अञ्जुली कमेरो खेनेकी हो
मेरी बहिनीले तिहार पोत्न
एक मुठी रातो माटो खनेकी हो
भोटाङेले माटो सक्नेभए भन्यौ
भोटाङेले देश सिध्याए भन्यौ
तिमीले साँझ बिहान सराप्यौ
धारे हात लगायौ
तर
सिमानाको जङ्गे पिलर हराएको
कहिल्यै देखेनौ
कति पोल्ने तिम्रा आवाजहरू!
कति पिरो तिम्रा शब्दहरू!
कति टर्रो तिम्रो जिब्रो हँ!
साँचै यो तीतो सत्य भोगाई ! ✍️🙏🏻💐🙏🏻ग़ज़ब लग्यो ।
के गर्नु कविज्यु नेपालका स-साना बादबिबादका घटनाहरुलाई गॉसेर एउटा कविता त गुथ्नु भएछ तर यि सबै घटनाको कारक को हो र किन यस्तो सामना गर्नु पर्यो भन्ने ठूलो घटनालाई चि किन चटक्क बिर्सनु भयो।यदी भूटानबाट निक्लीएका मानिसहरुलाई भारत मै क्याम्प बसाउन थाल्नु हो भने हालत कस्तो हुन्थ्यो होला?कल्पना गर्नुहोस त एकचोटी।भारतीय पुलीसहरुले क्याम्प बस्न दिन्थे होलान?? तितर-बितर पार्दैनथिए होलान?गाली नै गरे पनि नेपालले ठूलो गुन लगाको छ र यो कुरालाई बिर्सनु हुदैन।भूटानी शरणार्थीहरुको पक्षमा बोल्ने एउटै मात्र देश नेपाल हो।आफ्नै देश भूटानले पनि चटक्कै बिर्सीयो; न त्यहॉको कुनै ठूलो ओहोदाको मान्छेले बिछडीएका दाजुभाईहरुलाई देश फिर्ता ल्याउ भनेर प्रस्ताब राखे न कुनै बिद्वान बर्गले नै वकालत गरे।त्यति मात्र होईन, म सबैलाई दोषेर अर्को गल्ती गर्दीन तर भूटान भित्रकै नेपाली दाजुभाईहरुले बिछडीएका दाजुभाईहरुलाई बचनको सहयोग गर्नु त परको कुरा उल्टै गाली गर्न पछि पर्दैनन्।यति हुदाहुदै यि सबै कुरालाई बिचार नपुराएर नेपाललाई गाली गरेको देख्दा खास्सै तिमी कवि बर्गमा पर्दैनौ जस्तो लाग्यो।यो मात्र दुई समाज बिच खाडल ल्याउने काम भयो।
तितो सत्य हो अहिले सुन्दा एकादेशको कथा जस्तो लाग्ला
मैले पहाडदेखि ल्याइएको बासले तिनको बिउ मार्यो अरे मेरो त बासै खोसिदियो
सबैले होइन कसैले गरेका छन म नै साबित छु.
वा वा सारै राम्रो कविता l मनै शान्ति बनायो l धन्यबाद मित्र l मैले यो कविता घरको भित्तामै राखे है l