म र मेरो जीवन

नारायण भट्टराई
एडिलेड, अस्ट्रेलिया 

घरि घरि धोक्रो काँध चढाई
कतिदिन सर्नुछ मैंले
स्थिर प्रकृतिको सुखमय जीवन
मिल्ने हो अब कैले
घरको आँगन छाडी बिरानो
झुपडी बीच म हराएँ
दौलत दुनियाँ छाडी उतै सब
राष्ट्र समेत गुमाएँ
सुन्दर हिमगिरि हरियालीको
काख गरी जन्मेथें
बाल्यावस्था टुकुटुकु गर्दै
घर आँगनमा खेल्थें
तर कस्तो यो कसरी आयो
सुखको लहर उडायो
सपना बिच पनि नसोचिएको
बिपना बनी उदायो
जननी तिम्रो मध्य छातीमा
बिध्वंश अग्नि उदायो
कतिको नाता इज्जत लुटियो
कतिको प्राण गुमायो

महल गुमाई शरण याचने
कस्तो भाग्य कमाएं
भाषा संस्कृति भेष बचाउँन
स्वराष्ट्र समेत गुमाएं
कति खोज्दा हुन् मठमन्दिरले
मेरै नाम लिएर
कति सोद्धा हुन् बनपाखाले
सन्देश के छ भनेर
हृदय भरिभरि साँचिरहेछु
ममता रतिभर तिम्रो
के दिउँ शुभसन्देश तिमीमा
जीवन लाग्छ अनौठो
दशक बिते पनि तनले मनले
फर्की उतै जऊँ भन्छ
जन्मी हुर्की खेली बढेको
आँगन प्यारो हुन्छ
तर म बिरानो दूर देशमा
जगत सबै अति नौलो
सर्दासर्दै बितने हो कि
जीवन लाग्छ अनौठो

Don't have a Facebook account? Please, use the form below with other options!