मगर जाति र सांस्कृतिक पक्ष

लेखक
लेखक

पशुपति तिम्सिना
अमेरिका

भूटानी नेपाली समुदायको भाषिक र सांस्कृतिक पक्षलाई हेर्ने हो भने एकतामा अनेकता पाइन्छ । नेपाली समुदाय यस दृष्टिकोणमा धेरै समृद्धशाली छ । कुनै पनि समुदायभित्र यस्तो विविधता पाइनु गौरवशाली हुन्छ । “मगर” त्यही विविध जनजातिभित्रको एक जाति हो । यस जातिको आफ्नै भाषा, भूषा र सांस्कृतिक पक्ष छ । त्यसैले यो जाति आफैंमा समृद्ध छ । भाषावैज्ञानिक माइकल नूनन्का अनुसार मगर जातिको पूख्र्यौली भोट–तिब्बतीसँग जोडिन्छ । भोट–तिब्बती परिवारका बौद्धी र हिमाली परिवार मध्ये मगर जाति हिमाली परिवारमा पर्दछ । यस परिवारमा पनि नेवारी, खाम मगर, हायु–चेपाङ र किराँती परिवार पर्दछन् । सम्पूर्ण मगर जाति खाम परिवारभित्रै पर्दछन् । भौगोलिक रूपमा मगर जातिमा स्याङ्जाली र तनहुँली खेमा भए पनि सांस्कृतिक पक्षमा भने लगभग समानता पाइन्छ । मगर जातिका अग्रज सरमान समालका अनुसार भूटानका मगर जातिको उद्गम स्थल विशेषतः नेपालको स्याङजा क्षेत्र पर्दछ । भाषिक र रहन सहनका हिसाबमा भूटानका मगरहरू स्याङजाका मगरहरूसँग नै बढी मिल्ने गर्दछन् । मगरहरूको भौगोलिक आधारमा ३ क्षेत्रीय भाषा उल्लेख भएको पाइन्छ । मगरकुरा, खामकुरा र कैले । तर भूटानका मगर जातिले भने एउटै भाषा “मगरकुरा” बोल्ने गर्दछन् । मगर जातिको लिपि “अखा लिपि” भनिए पनि भूटानभित्रका मगर जातिले कहिल्यै पनि यो लिपिको प्रयोग गरेको पाइँदैन । तर नेपालस्थित शरणार्थी शिविरमा भूटानीहरू बस्न थाले पछि भने माध्यमिक तहसम्म अखा लिपि पठन पाठन गरेको पाइन्छ । मगर जातिको साहित्य अथवा लिखत पनि भूटानमा भेटिंदैन । लेख्नु पर्दा देवनागरी लिपिनै प्रयोग गरिएको पाइएको छ । यहाँ भाषिकता भन्दा पनि सांस्कृतिक पक्षलाई उजागर गरिएको छ ।

मगर जाति मझौले कदका, डोलो अनुहार भएका, कालो कपाल भएका, दह्रिलो बनोटका हुन्छन् । उनीहरू शान्त, मिजासिला, दयालु, सोझा, बहादुर र साँचो मनका हुन्छन् । मगर जातिमा विविध थर हुन्छन् । सारू, समाल, लायो, पुलामी, माप्छान्, रैका, फेवाली, खपाङ्गी, दर्लामी, आले, बुढाथोकी, राना, थापा, पून, आदि थरहरू मगर जातिमा पाइन्छन् । भनिएको छ मगर जातिमा ७०० थर छन् । परम्परागत मगर जातिको नाच सोरठी, घान्टु, झ्याउरे, दोहोरी, रोदी, काउरा चुट्का, सलैजो, आदि भए पनि भूटानका मगर जातिमा झ्याउरे र दोहोरी बाहेक अन्य नाच प्रयोग भएको पाइँदैन । मगर जातिको धर्म उद्गमताको हिसाबले प्राकृतिक धर्म हो । घाम, पानी, पितृ पूजा, नाग नागेनी, सिमे भूमे, भूत, प्रेत, आगो, आदिको पूजा गर्ने चलन प्राकृतिक धर्ममा पर्दछ । पछि आएर, उत्तर नेपालका मगरहरूले बौद्ध धर्मावलम्वीसँगको तारतम्यतामा बौद्ध धर्म

अवलम्बन गरेको र दक्षिण भेगका मगरहरू संस्कृतिकरण भई हिन्दू धर्म मान्न थालेको इतिहास पाइन्छ । भूटानभित्रका अधिकांश मगरहरूका पूर्खा पनि हिन्दू अनुयायीभित्र कै भएकाले होला हिन्दू धर्म नै मान्ने गरेको पाइन्छ । शरणार्थी भएर नेपाल बस्दा, त्यहाँका मगरहरूले बौद्धधर्म मानेको थाहा पाएर बौद्धधर्म अवलम्बन गरेको पाइन्छ । त्यसो त परिवर्तित समयसँगै ईसाइ धर्म, मानव धर्म, आदि मान्ने मगरहरू पनि भूटानी समुदायमा पाइन्छन् । तथापि यस प्रकासनमा भने भूटानभित्रको मगरहरूको सांस्कृतिक पक्षलाई उजागर गर्ने उद्देश्य भएकाले हिन्दू धर्म सम्बन्धित मगरहरूको सांस्कृतिकतालाई लिइएको छ । आगामि प्रकासनहरूमा बौद्धधर्म सम्बन्धित मगरहरूको सांस्कृतिकतालाई पनि पक्कै प्रकासन गरिने छ ।

मगर जातिको परम्परागत व्यवसाय कृषि हो । गाइपालन, सिकर्मी–डकर्मी, शिकार र माछा मार्ने व्यवसाय पनि मगर जातिले गर्ने गर्दछन् । तर भूटानी मगर जातिको हकमा कृषि, पशुपालन, सिकर्मी र डकर्मी जस्ता व्यवसाय मात्र गर्दै आएका छन् । त्यसो त शिक्षाको विकाससँगै डाक्टर, इन्जिनियर, सरकारी जागिर, शिक्षण, सेना, राजनीति, पत्रकारिता र विकासका कार्यक्रमहरूमा प्रशस्तै छन् । यो जातिका मानिसहरू विशेषतः परिवारका सदस्यहरू एकै घरमा बस्ने गर्दछन् । तर विवाह पछि, कतिपय छुट्टिएर आफैं गरि खाने पनि प्रशस्तै हुन्छन् । अन्य जातिको भन्दा यस जातिमा पाइने पृथकता भनेको मामा–भान्जाको सम्बन्ध हो । भान्जालाई यस जातिमा छोरी दिने चलन छ । त्यसैले यस जातिमा मामा चेली, फूपु चेलाको लहरो अधिक बलियो हुन्छ । यस जातिमा जुवाइँलाई “भान्जा” भन्ने चलन छ किन भने आफ्ना छोरीहरूको पहिलो हकदार भनेको नै भान्जो हो । भान्जाले विवाह नगरेर अथवा अन्यसँग मन परापर गरेर चोरी विवाह गर्ने पनि चलन छ । मगर जातिको जन्मदेखि मृत्यु पर्यान्तका विविध सांस्कृतिक पक्षका बारेमा आज चर्चा गर्ने आजको लक्ष्य छ । यो मगर जातिको सांस्कृतिक पक्ष सम्बन्धि लेख, जर्जियाको एट्लान्टास्थित साउदन प्लेस आवासका ७६ वर्षीय चन्द्र बहादुर मगरले दिएको जानकारीका आधारमा तयार पारिएको छ ।

कुनै पनि मगर परिवारमा बच्चा जन्मेको क्षणलाई उल्लासताका रूपमा लिइन्छ । बच्चा जन्मिएको समयलाई सूतक भनिन्छ । सूतक ३ दिनदेखि ७ सम्मको रहन्छ । कसै कसैले ११ दिनसम्म पनि लम्ब्याउँछन् । बच्चा जन्मेको ६ दिनमा छैटी गरिन्छ । यसलाई छैटौं, छैटुङ अथवा छैटौँ पनि भनिन्छ । यस दिनमा भाविले बच्चाको भाग्य लेखन कार्य गर्छन् भन्ने विश्वासमा उत्सव मनाउने काम गरिएको भनिन्छ । यस दिन विभिन्न नाचगान गरेर रातभर जागै बस्तछन् ।

रातभर नाच्ने गाउनेलाई बिहान भए पछि नाङलामा चामल, पैसा, खानेकुरा, रक्सी आदि राखिदिने चलन छ । ३ दिन अथवा ७ दिन अथवा ११ दिनमा उक्त बच्चाको नाम राख्ने गरिन्छ । यसलाई न्वारान भनिन्छ । न्वारानका दिन, भान्जा अथवा जुवाइँले लोहोटामा गहुँत, फूल, चामल र रूपियाँ पैसा हालेर मानिल्याएका पूरोहित अथवा पण्डितका घर जान्छन् । पूरोहित अथवा पण्डितले गायत्री मन्त्रले उक्त गहुँत मन्त्रिने काम गर्दछन् । बच्चा जन्मिएको समय सोधेर, तिथि, नक्षत्र पहिल्याइ, नाम जुराउने काम पनि गर्दछन् । यसरी पूरोहित अथवा पण्डितले मन्त्रिएको गहुँत लगेर सूतक लागेको घरमा छर्किएर चोख्याउने गर्दछन् । न्वारान्का दिन घर रातो माटो र गोबरले लिप पोत गरी चोख्याएको हुन्छ । आँगन, सिकुवा सबै बडारकुँडार गरिएको हुन्छ । घरमा गहुँत छर्किए पछि, सम्पूर्ण सूतक लागेका सन्तानलाई पनि खान दिइन्छ । नयाँ जन्मिएको बच्चालाई आँगनमा गोबरको कुण्ड बनाइ दूधको अर्घ दिई, त्यस कुण्डमा कुल्चाइन्छ । यसलाई सूर्यको दर्शन गराएको भनिन्छ । न्वारान्मा चेलीबेटी, कूलकुटुम्ब, नातागोता, इष्टमित्र र छरछिमेकीहरूलाई निमन्त्रणा गरिएको हुन्छ । न्वारानमा आउँदा निम्तारूले चामल, पैसा, सक्नेले कुखुरा, जाँड, रक्सी, आदि ल्याउने गर्दछन् । समयको परिवर्तनसँगै आज भोलि बच्चालाई खेलाउने सामान, लुगा फाटा पनि दिइन्छ । चलन अनुसार सुत्केरीले महिना दिनमा मात्र पानी छुने गर्दछन् । यो कडी नै चाहिँ होइन, आवश्यकता अनुसार अगाडिनै पनि पानी छुन भने सक्तछन् ।
बच्चा ६ महिनाको भएपछि भात खुवाउने चलन छ । यसलाई पास्नी अथवा “ज्याट् खुलाइ” भनिन्छ । यस दिन बच्चालाई सून पानीमा नुहाएर नयाँ लुगा लगाइ दिने गरिन्छ । त्यसपछि चाँदिका सिक्काले भात खुवाउने चलन छ । कसैकसैले कुथुर्का नामको चराको टाउकाले पनि भात खुवाउने गर्दछन् । यसरी भात खुवाउने काम सबै भन्दा पाको उमेर भएका बाट सुरू गरिन्छ । भात खुवाए पछि पनि पाको उमेर भएकाले बच्चा र दाल चामलको पोको पिठिउँमा बोकी, जोर लौरो टेकेर “परदेश डुलाएको” भन्दै घर डुलाउने चलन छ । यसो गर्नाले बच्चाको आयु लामो हुन्छ भन्ने मान्यता छ । यसरी डुलेर आए पछि दूध अथवा दहीको सगुन खुवाउने चलन छ । बेलुकी भए पछि परदेशका लागि भनेर पोकामा राखि दिउँसो बच्चासँगै बोकीएको दाल चामलको खिच्चडी पकाएर बच्चालाई खुवाउने गरिन्छ । कतिपय घरमा पास्नीको दिनमा पनि नाचगान गरेर खुबै रमाइलो गर्दछन् ।

परिवारमा जन्मिएको बच्चा छोरा भए ३ देखि ५ वर्षभित्रमा कपाल काटिदिने चलन छ । दोस्रो सन्तान छोरी भए ३ अथवा ४ वर्षमा पनि काट्न मिल्छ तर दोस्रो सन्तान छोरा भए, पहिलोको कपाल काट्न ५ वर्षको भइन्जेल पर्खनै पर्दछ । कपाल काट्दा “आमा कि मामाले” भन्ने चलन छ । आमाले काटिदिने भए झुक्याएर अथवा चोरेर काटिदिनु पर्दछ भने मामाले काटिदिंदा विधिवतरूपमा काटिदिने चलन छ । पहिलो चोटी केस काट्ने विधिलाई छेवर भनिन्छ । छेवरको केस काट्दा दाम्लाले घाँटीमा बाँधी कपाल काटिदिने चलन छ । कपाल काट्दा टुप्पी राखेर काट्ने गरिन्छ । कपाल काटि सकेपछि मामाले भान्जालाई टोपी लगाइदिने गर्दछन् । यस दिनलाई पनि उत्सवका रूपमा नै मनाइन्छ । कसै कसैको घरमा युवा तन्नेरीहरू रातको समयमा नाच गान गरेर खुबै रामाउने गर्दछन् । चेली बेटी, आफन्त, कूल कुटुम्ब, छरछिमेकीलाई गच्छे अनुसार निम्त्याइन्छ । सेलरोटी अथवा बाबरका साथमा मीठो मसिनोको बन्दोबस्त मिलाइएको हुन्छ । सबैलाई खान पान गराइन्छ, गरिन्छ । छोरी जातिको छेवर गरिंदैन । छोरी चेलीलाई शुभ दिन ठह¥याएर गुन्यु चोली र मजेत्रो दिइन्छ ।

छोरा छोरी वयस्क भएपछि विवाहको कुरा आउँछ । विवाह चोरी र मागी गरी दुई किसिमले गरिन्छ । मागी विवाह हिन्दू धर्मको विधि अनुसार नै गरिन्छ । यस बारेमा आगामि प्रकासनमा प्रस्तुत गरिने छ । चोरी विवाहमा विवाह गरिने केटीलाई केटाले भगाएर लगेको हुन्छ । हुन त चोरी भनिए पनि घरायसी सल्लाहबाटै भगाइएको हुन्छ । आर्थिक अवस्था अनुसार चोरी विवाह अथवा मागी विवाहको निर्णय गरिन्छ । खर्च धान्न नसके चोरेर लैजानु भनेर केटीका बाबु आमाले भने पछि केटी राजु गराए पछि मात्र भगाएर लगिन्छ । परम्परागत रूपमा भान्जाले छोरी विवाह गर्ने चलन छ । केटाले आफ्नो घर लगेर सिंदुर पोते गर्दछन् । यसरी सिंदुर पोते गरेको भोलिपल्टै चोरको स्वर फर्काउने चलन छ । यदि भोलिपल्टै नआए केटी पक्षकाले छोरी खोज्ने चलन छ । जब जुवाइँ रीत फर्काउन आउँछ, त्यस समयमा जति ढिलो रीत फर्काइएको छ, त्यति धेरै छोरी खोजेको खर्च आदि भन्दै डाँड्ने चलन छ । यसरी डाँड्दा, चामल, सुँगुर, खसी, कुखुरा, जाँड, रक्सी र पेरूङ्गामा तोरीको साग, दूना टपरी गाँस्ने पातको मूठो, सिन्का, माछा, सिद्रा, मर्चा, सेलरोटी सहित तिर्ने चलन छ । पेरूङ्गो बाँसको चोयाले बनेको हुन्छ । यी सामानहरू विवाहको अघिल्लो दिन नै बेहुलीको घर ल्याइन्छ । यसलाई ढक बोक्नु भनिन्छ । विवाहको तिथिमिति, र रीत बुझाउने दिनमा नै तोकिएको हुन्छ । रित बुझाउने दिन मावलीका लागि छुट्टै एक बोलत रक्सी, एउटा चल्ला अथवा भाले र सम्पूर्ण चीज बिज राखिन्छ ।

विवाहको दिन बेहुली पनि बेहुलासँगै बेहुली घर आउने चलन छ । यसलाई सिंदरको धर्को र जन्तीको लर्को भनिन्छ । बेहुला र बेहुलीलाई परम्परागत लुगामा सिंगारिन्छ । बेहुलाले दौरा सुरूवाल, फेटा, पछ्यौरा लगाउने र तरवार भिर्ने चलन छ । बेहुलीले साडी, चौबन्दी चोलो, मजेत्रो, र सेतो÷रातो मिलाएर घुम्टो, चुरा, पोते, आदि लगाइएको हुन्छ । भए घोडामा नभए हिँडेरै जन्ति जाने चलन छ । जन्तिसँग नौमती बाजा बजाइन्छ । नौमती बाजामा नरसिङ्गा दुईवटा, सहनाइ दुईवटा, दमाहा, बाउँतल, ढोलक, झ्याम्टा र ट्याम्को पर्दछन् । यी बाजा दमाइ जातिका मानिसले मात्र बजाउने चलन छ । नर्सिङ्गा फुकेका बेला गच्छे अनुसारको नाल बन्दुक पड्काइन्छ । देउरालीमा धजापताका चढाइन्छ । जन्तिले बन्दुक लगेको भए, घर पक्षकाले पनि बन्दुक लिएर बाटो छेक्ने चलन छ र बेहुलाबाट पैसा डाँड्ने चलन छ । जन्ति बेहुली घर पुग्ने बेलामा भत्खौरो पठाउने चलन छ । भत्खउरो बेहुलाको आगमनको सूचना हो । भत्खउरोको कुरा गर्दा यो बढा रमाइलो विधि पनि छ । जब भत्खउरो बेहुली घर पुग्दछन् नाना भाँतीका मालाहरू लगाइदिने चलन छ । कसैलाई पातको, कसैलाई जुत्ताको, कसैलाई फलफूल र सागपातको लगाइन्छ । कसैकसैलाई त खोर्सानीको धुवाँ पनि लगाइदिने चलन छ । कसैकसैलाई भत्खौरो बसाउने गुन्द्री अथवा पिरामुनि तोरी विछ्याएर बस्ता लड्ने बनाइदिने चलन छ । जे गर्दा ठट्टयौली र मजाकिलो क्षण हुन्छ, त्यसै गरिन्छ । जन्ति बेहुली घर पुगे पछि जन्ति पर्छने चलन छ । त्यसपछि सोझै बेहुला बेहुलीलाई भतेरमा लैजाने चलन छ । भतेरमा एकातिर खसीको र अर्कातिर सुँगुरको परिकार पकाइन्छ । बेहुला बेहुलीलाई जोर भाग दिईने गरिन्छ ।

भतेर सकेर माइती मावली सबै मिलेर टीका लगाइदिने चलन छ । टीका लगाइ सके पछि दूधौली–बिसौली भनेर जुवाइँ छोरीले नै आमालाई दश धारा दूधको भारा काटेको भन्दै सौगात राखेर ढोग्ने चलन छ । टीका लगाएर दूधौली बिसौली गरे पछि विवाह सकिन्छ । कसै कसैले रातै राख्तछन् भने कसैले तुरून्तै बेहुला बेहुली अन्माउँछन् ।

बेहुली घरबाट फर्किँदा बाटामा पर्ने खोला अथवा खोल्सीमा माहुर चढाउने चलन छ । बेहुलाको घर पुगेर चेलीवेटीले ढोकामा कपडाले ढाकेर भाग माग्ने गर्दछन् । जब चेलीहरूले भाग पाउँछन् तबमात्र ढोका छोडिदिन्छन् । त्यसपछि बेहुलीलाई अघि लगाएर बेहुलो भित्र पस्तछन् । यसलाई बेहुली भित्र्याउने भनिन्छ । बेहुली भित्रिएपछि सासु बुहारीले पाथी भर्ने गर्दछन् । यसरी पाथी भर्दा धान भर्ने गरिन्छ । पैसा पनि धानमा राखिएको हुन्छ । त्यो पैसा कसले छिटो भेट्ने भन्ने हुन्छ । जसले भेटे पनि बुहारीलाई नै दिने चलन छ ।

(सागल रेडियो भूटानी आवाज अन्तर्गत “समाज र संस्कृति” कार्यक्रममा १५/०१/२०१० मा प्रशारित)

स्रोत:
The Hayu Verbs: A Thesis submitted by Pashupati Timsina Sharma to the Central
Department of Linguistics, Tribhuvan University, Kirtipur, Nepal, 2006
“Magars” @ ukmagarassociation.mht
Sino-Tibetan languages, From Wikipedia, the free encyclopedia
www.magar.org
Magar Association Hongkong-About Magars

लेखकको जन्मः २१/०१/ २०३१
जन्म ठेगानाः बडहरे गाउँ, सेम्जोङ्ग ब्लक, चिराङ, भूटान
कृति लेखन मितिः सन् ०१/१३/२०१०

6 Replies to “मगर जाति र सांस्कृतिक पक्ष”

  1. kriti

    malai khasai ta sabai man paryo tara kina afnai sansa bihe garne hola malai yo kura chahi alikati khatkyo ani malai magar jati tyati soja pani hunchan jasto lagena.tara malai magarharu sabai kuraharu manparyo ra tapaile yas sabai kura haeu netma lyadinu bhayekole hamilai yas jati bare tha pauna dherai sajilo paryo.

  2. milima

    helo sir..i hope u recognize me.. i m ur student and, i really likethis site…
    which gives many information about the magar culture.

  3. nawang

    zhorle!mgr ko bare ma dherai ramro lekh rahe6, glad to study it.hop 2 read more information frm da author.jay mgr!!!

  4. manish darlami magar

    जुर्ले है पताकिना? मलाई पनि हामी मगर हरु पछि परे को छौ जस्तो लाग्छा अगाडी बधना हकी ले यक अर्का को सहयोग चाहिन्छा बस्ताब मै मगर जति को बेस वुषा रहन सहन अनि गरिब पन को फाइदा अरु जति ले उठाउने वयाको ले हामी ले हाम्रो

  5. kabita thapa

    थारु र मगर एउटै बन्शावली
    था रु’ अर्थात् हराएको मान्छे

    थारु शब्दले नेपालको विशेष गरी तराई भागमा बसोबास गर्ने एक जनजातिलाई बुझाउँछ । दाङ उपत्यकालाई थारु जातिको आदिथलो मान्ने गरिएको छ । थारुलाई कसैले थार मरुभूमि क्षेत्रबाट आएको भन्छन् भने कसैले खसानको पहाडी भागबाट बसाई सर्दै आएको हो भनी ठान्छन् । यसरी हेर्दा थारुको सम्बन्ध विभिन्न क्षेत्र र जातजातिसँग देखाईएको छ । यस आलेखमा अनेकौं प्रमाणहरुका आधारमा थारु जातिलाई मगर जातिसँग एकाकार पारेर हेर्ने प्रयास गरिएको छ ।

    मगर भाषामा ‘था’को अर्थ ‘हराएको’र ‘रु’को अर्थ ‘मान्छे’ हुन्छ कर्णबहादुर बुढामगर २०६१ः ७३१ तथा हर्कमाया रोकामगर । यसबाट पहाडी भागमा बस्ने मगर जातिको कुनै व्यक्ति तराईतिर झरेको र तराईको सुगम समथर खेतीयोग्य भूमिबाट मोहित भई पहाडमा नफर्केको हॊ कि भन्ने देखिन्छ । यसरी नै थारुको नामकरण भएको हो भने सो कार्य कसले गर् यो मगर जातिले वा स्वयं हराएको मगर व्यक्तिले यस कुरालाई देखाउन मगर जातिमा अद्यापि प्रचलित ुडाम्फ्या स्याईु झोरेल्नी वा जोरा स्याई नामक माघे संक्रान्तिमा गाइने नृत्य गीतमा पाइने डाँफे र मयुरको आख्यानको पनि सहारा लिन सकिन्छ । आख्यानअनुसार हिमालमा बस्ने डाँफेको नाम सुनेर मोहित मयुर हिमालमा डाँफे भेट्न जान्छ र प्रेम गरी तराईमा ल्याउँछ । डाँफे तराईमा आइसकेपछि माइतीघरको कोदो फापर सम्झिन थाल्छ । एक दिन चुरे पहाडमा काखमा बसेका कुटुनबुढा र कुटुनबुढीको बारीमा पाकेको कोदो खान पस्छ र त्यही थापेको पासोमा परी मर्छ ।

    श्रीमती नफर्केको हुँदा मयुर बिछोडमा बिलौना गर्दै खोज्दै हिँड्छ । यस आख्यानले माथिकै तथ्यांकलाई सघाउने गर्दछ । यसमा तराईमा झरेर नफर्केको डाँफे चरा मात्र होइन माथि उल्लेख गरिएको हराएको मान्छे अर्थात् था-रु हुनुपर्दछ । थारु जातिमा अद्यापि गाउँको पूर्वी भागमा खेतरपाल क्षेत्रफल र गाउँको दक्षिणी भागमा कुट्नी बुह्रया भनेर कुप्रो आकारको काठ गाडेर ठड्याउने चलन छ । थारु जातिमा प्रत्येक गाउँबस्तीमा एउटा सामूहिक देउस्थल भुइँयार थान बनाउने र त्यहाँ विभिन्न देवीदेउताका साथै कुनै कुनै गाउँमा एउटा मुंग्रा गुनी ज्ञानी मगर नामक देउता पनि स्थापना गरिएको हुन्छ । यहाँ उल्लिखित ज्ञानी मगर को हो र किन थारु जातिमा देउता कहलियो प्रत्येक जातिमा आफ्नो पुर्खा पुज्ने चलन छ त्यसैले यहाँ देखिएका मुंग्रा गुनी उनै हराएका मान्छे पो हुन् कि थारु जातिमा कुसुम्या राना ढम्लहवा दहित अंग्रहुवा िसंग्रहुवा कन्द्रवा रत्गैया कठरिया टेर्रा उल्टहवाजस्ता अनेक उपथर छन् । यस्ता थरमध्ये मंगरा मगर पनि एक उपथर भेटिन्छ गौतम टेकनाथ २०४४ः ५० थारु पुराण । थारु जातिमा कुनै पनि समुदायको मानिस थारु जातिको मर्यादा र रीतिथिती मान्ने गरी पट्या लिने गरी प्रवेश गर्न सक्ने व्यवस्था छ अशोक थारु । त्यसैले यसरी नै मंगरा मगर जातिबाट आएको हो कि ? दाङ जिल्लाको देउखुरी उपत्यकाको पूर्वी भागमा पर्ने भालुवाङदेखि उत्तरमा पर्ने ‘थारा’ भनेको समथर भाग बुझिन्छ । यसै अर्थमा आँगनलाई पनि थारा भनिन्छ । यसैले कुनै मगर जातिको व्यक्ति थारा अर्थात् मैदानतिर झरेको र मैदानतिरै बसेको हुँदा मगर भेषमा थारु बन्न सक्दछ ।

    थारु र मगर जातिमा मनाइने कैयौं चाडपर्वमा प्रयोग गरिने लुगा गहना र पूजा आदि परम्पराबीचमा समेत व्यापक समानता भेटिन्छ । मगर समाजमा वर्षात्भरि बाजा बन्द हुन्छन् र भदौतिरबाट खोली ओखरा बस्ने वा सिउसिने रिहस्रल गर्ने र नाचगान खोल्ने चलन छ । थारु जातिमा पनि वर्षात्भरि बाजा बन्द हुन्छन् र बर्खे खेतीपछि गरिने हर् या गुरै हिउँदे गुरै पूजा पछि नाचगान हुन्छ । थारु जातिमा बर्खे खेती र पछि भुइँयार भूमि पूजा गर्ने चलन छ । मगर जातिमा असारमा भूमे वा बाल पूजा गर्ने परम्परा छ । यसरी दुवै जातिमा प्राकृतिक पूजाको समान परम्परा देखिन्छ ।
    मगर जातिमा सामूहिक रुपमा माछा मार्ने चाडको विधान छ । यसलाई मैन्यारी तथा स्वांगे प्रथा भनिन्छ । यस प्रथामा विशेष गरी जेठ-असारतिर वर्षात् नभई खडेरी परेमा नजिकको खोला वा नदीमा वरपरका आठ गाउँका मानिस भेला भई बाजागाजासहित माछा मार्न जाने चलन छ । यस अवसरमा दुईजना स्वांगे बनाइन्छ । ती स्वांगेहरुलाई हिलो माटो घसेर विरुप तुल्याइएको हुन्छ । स्वांगेहरुले जाँघमा िलंगस्वरुपको लामो काठ च्यापी दुई हातले समात्दै नजिकको मूलमा िलंगस्वरुप काठले कोट्याउँछन् मेम स्जा २०५८ः ६-७ सं। बम कुमारी बुढा । यसो गरेमा वर्षात् हुन्छ भन्ने विश्वास छ । यसमा एउटा आदिम मानव चेतनाको अवशेष भेटिन्छ । मानवको आदिम अवस्था नांगो थियो । िलंगस्वरुप काठले मूलमा कोट्याएर वर्षात् हुने विश्वास गर्नु पुरुष र स्त्रीबीच सम्पन्न हुने यौनक्रीडालाई प्रतिविम्बित गरिएको हो । िलंग र योनि अर्थात् सृष्टिकारक र सर्जकबीचको समागमबाट सिर्जना अपेक्षा गर्नु स्वाभाविक छ । थारु समुदायमा पनि जेठ-असारमा वर्षात् नभएमा रातको समयमा थारु बठिन्याहरु निर्वस्त्र भई गाउँको गल्ली गल्लीमा दौडिने हलो जोत्ने आदि अनेकन् उपद्रवहरु गर्ने गर्छन् । यसो गरेमा पानी पर्छ भन्ने विश्वास उनीहरुमा पाइन्छ । यसरी दुवै जातिमा वर्षात्का सन्दर्भमा समान किसिमको विधान र विश््वास कसरी स्थापित भयो थारु जातिमा पनि विशेष गरी माघी पर्वका सन्दर्भमा गाउँभरिका मानिसहरु सामूहिक रुपमा माछा मार्न जाने चलन छ । माघी पर्वमा एक दिन माछा मार्नका लागि नै छुटुइएको हुन्छ । थारु र मगर दुवै जातिमा माघी पर्व एक हप्तासम्म विशेष उल्लासका साथ मनाउने चलन छ ।

    थारु र मगर जातिमा प्रचलित लुगा गहनाका बीचमा पनि धेरै समानता पाइन्छ । दुवै जातिका महिलामा पैसाका माला चाँदीका बाला नाकमा ठूला किसिमका नथिया पैसाका औंठी थारु जातिका महिलाले गलामा लगाउने सुत्या र मगर जातिका महिलाले लगाउने खाग तथा थारु जातिका महिलाले कानमा लगाउने झिमल्या तथा मगर जातिका महिलाले कर्ण फुलीमा समानता छ । दुवै जातिका पुरुषले कानमा कुण्डल र भेग्वा लगौंटी लगाउने पुरानो चलन देखिन्छ ।
    हालैका अनुसन्धानले १८ मगरात क्षेत्रमा पर्ने हंग्री नदी रोल्पामा पर्ने र हंगेरीको स्पेलिङमा पाइने हंगेरी मगर जातिको भाषा र हंगेरीको माग्यार भाषाबीच पाइने केही समानताका आधारमा हंग्री नदीकै वरपरका बासिन्दा हुन् भन्न थालिएको छ प्रा।डा। माधवप्रसाद पोख्रेल २०६१ भूमिका नेपाली मगर पाङ-अग्र्रेजी शब्दकोश भने भाषा-साहित्य संस्कृति शारीरिक बनोट र अन्य कैयांै प्रचलनका क्षेत्रमा समानता राख्ने मगर जाति र थारु जातिबीच नजिकको सम्बन्ध हुनु स्वाभाविक छ । यसले थप अनुसन्धानको अपेक्षा गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *