माखो
रूप पोखरेल
अमेरिका
विकसित जीव जगतको एक सदस्य
तँ विकसित पंतीको जीवमै गनिन्छस्
सबै आ-आफ्नै तरिकाले भिन्न छन्
तिनीहरू भिन्न छन्,
म र म जस्ता भिन्न छन्
तर, तँ भने किन अनौठो ?
तँ नपुगेको र तैँले नछोएको
काँही केही छैन
म जान्दछु, मलाई थाहा छ
तँ अरू सरह नै निर्मित एक जीव होस्
तेरो जिउने पूर्ण अधिकार छ
अरूले तँलाई याद गरुन-नगरुन
दया गरुन-नगरुन
तेरो परिवर्तितरुप देख्ने चाहा-
गरुन-नगरुन
म जहिले तेरै हित् सम्झन्छु
तेरै परिवर्तितरुपको कामना गर्छु ।
बेला-बेला तेरो गराई देखेर
छक्क पर्छु;
ती माहुरी सँग तुलना गरेर हेर्छु,
ती माहुरी सँगै- मनमनै तँलाई उढाइ हेर्छु
जीव-हितका लागि ओखती बटुल्न लाउँछु
तर, यथार्थमा तँ पन्ध्र असारमा व्यस्त हालीझैँ
औसाको खेतीमा अहोरात्र तल्लिन पाउदा
कसो-कसो म पानी-पानी हुन्छु,
तैपनि, म तँलाई यस विशाल बघैचामा
कहिले माहुरी त कहिले पुतली
देख्ने सपना संधै उन्छु ।
तँलाई म, जीव चिन्न थालेदेखि नै चिन्छु
समुन्द्र पारी तँमा जुन गुण थियो
बारी पनि त्यही पाउँदा
बिस्मतले म पानी-पानी हुन्छु
धर्ती र परिवेश विकसित हुँदा मात्र
जीवको आचरण परिवर्तन नहुँदो रहेछ
आफैले आफैलाई पढाउँछु
तर असम्भव भने म ठान्दिन
तेरो परिवर्तितरुप देख्ने कामना गरिरहन्छु ।
हो, म देख्छु-
प्राय सबैले छि-छि र दुर्र-दुर्र गर्छन्
तेरो उपस्थिति असामान्य ठाँन्छन् ,
तैले टेकेको प्रत्येक ठाउँ दुसित ठाँन्छन् ,
तैले जहाँ पनि औसा पोख्छस ठाँन्छन्
तेरो प्राकृतिक स्वभाव ठानु या.… ?
तँ मन्दिरको लड्डु देखि
भट्टीको छोक्रा सम्म,
अबिन्तरको सिनो देखि
सभा गृहको मेच सम्म,
भलादमीको कठालो देखि
पिल्लेको घाउ सम्म
घरी झिगो त घरी डांठ
अनि माखो बनेर पुग्छस
तैपनि म तँलाई एक विकसित जीव
भएको देख्न चाहान्छु ।
मलाई थाहा छ;
तँ धेरै चोटि मेरो आंगमा बसिस
मेहनतले अर्जेको गाँसमा समेत बसिस
अरूबाट दूषित औसा ल्याएर मेरो घाउमा पोखिस
मैले तँलाई केही गरिन
तँलाई केही नगर्नु मेरो कमजोरी होइन
तँ सुध्रिन्छस कि ? भन्ने आशय हो
म तँलाई औधी माया गर्छु
म तँलाई माहुरी जस्तो देख्न चाहान्छु ।
तँलाई तेरै अज्ञानताले हो या
तँलाई तेरै अहमताले
तँलाई विनासकारी चितामा जलाई रहेछ
म यो विशाल जगतमा तँलाई
छि-छि र दुर्र-दुर्र होइन
एक विकसित जीवनै देख्न चाहान्छु
एक उपाय कल्पना गरिरहेछु-
तँ माहुरी जस्तै हुनु पर्छ ।