मानवता ( शार्दूलविक्रीडित छन्द )
हरिप्रसाद निरौला
हेरिश्वर्ग ,अमेरीका
अर्काको दुखदेखि छल्किरहने खै आँसु ती काँ सुके ?
अर्काकै सुखमा ति मन्दमुसकान् खै काँ गयी ती लुके ?
खै काँ गो अघिका ति ढुक्ढुकिहरू देखी अनेकौं दुख ?
बिर्सेछौं कहिले व्यतीत चितकार् आँसु र फुस्रो मुख ॥
आजै हातमहाँ मुवाइल छ जो लीई बसेरै यहाँ
के धेर् उन्नति गर्न सक्छ भनलौ सम्पन्न यो धर्तिमा
दौलत् आउँछ धेर् जहाँ नजरमा छन्नेत्र त्याहीं गढ़ी
हात्मा ल्याउनु हो कसैगरिधनै साम्-दाम युद्धै लड़ी ॥
आफन्तै घरमा छ आज दुख लौ के गर्न सक्छौ भन
फोनैबाट हलो गरीकन तिमी दुख्दैन कत्तै मन
रत्ती छैन लिहाज़ वृद्धजनमा सम्मान सत्कार् भय
पैसाले मन अन्ध पारिसकिगो सम्मान पैसै जय ॥
जस्को शक्ति उही हुनेछ जगमा ठूलो र ठालू यहाँ
नाम् उस्कै भवमा र कीर्ति उसकै धन-सम्पती कै जहाँ
गाड़ी साड़ि र नाडि सब् चिजमहाँ तिम्रै अधीकार छ
के धर्मै छ यहाँ र संस्कृति अहो! के लीनु के दीनु छ ॥
भौतिक् जीवनमै रुमल्लिरहने हाम्रो यही सार हो ?
मानव् जीवन खै कहाँ छ र यहाँ ? मानिसको हार हो
अर्कैले दिइजन्म मर्न पनि ता के हात हाम्रो छ र ?
बुझ्नेले नबुझे सही समय मै के पार हाम्रो छ र ? ॥