मेरा शब्द सखी

दुर्गा गुरगाइँ
अस्ट्रलिया

पार्छे आइ उषा झल्याँस्स दिनहुँ आलस्य त्याग्ने गरी
लाली व्योम घसी दिगन्त भरिमा त्रिकालकी सुन्दरी ।
सन्ध्या छे तन काली मूढ नभकी अल्छी बिना कामकी
मेरा यी मन कर्मका वचनका हुन् शब्द प्यारा सखी।।१

विद्या कण्ठ बसेर ज्ञान दिलमा आनन्द दिन्छे सदा
रात्रि साँझ बिहान ज्योति नयना साथै हुने सर्वदा।
गायत्री सित ध्यान गर्छु जहिले माला मुसार्दै बसेँ
मेरा यी मन कर्मका वचनका हुन् शब्द प्यारा सखी।।२

पूजा अर्चन इष्ट भाव मनका विश्वासिला हुन् सखी
बाली दीपक यो पिलिक्क मनमा, घुम्छे सखी आरती।
मीठो गान र छन्द बद्ध लयकी हो वन्दना स्वर सखी
मेरा यी मन कर्मका वचनका हुन् शब्द प्यारा सखी।।३

पितृ तर्पण यज्ञ होम जपमा हो अञ्जली साथ दिने
सेवा दान र नित्य कर्म विधिमा श्रद्धा र भक्ति हुने।
श्रीलक्ष्मी म सितै कमाउन भनी जान्छिन् सधैँ काममा
बूढो जर्जर मृत्युका समयमा हुँ शान्तिका साथमा ।।४

माया छे मनमा छ भक्ति दिलमा हो सिर्जना चित्तकी
शिक्षा मान दिने कला र कविता हो चेतना भित्रकी।
निद्रालस्य थकानकी नयनमा तन्द्रा दिने आलसी
मेरा यी मन कर्मका वचनका हुन् शब्द प्यारा सखी।।५

इच्छाशक्ति बढाउँछे वचनमा सङ्कल्प दिन्छे बल
हट्दैनन् जबसम्म दोष मनका मिल्दैन राम्रो फल।
वाचा बन्धन यो अभाव मनमा हुँदा बडो खलबल
प्रतिज्ञा मन छेउ राख्छु जहिले यो दिन्छे आत्मबल ।।६

Don't have a Facebook account? Please, use the form below with other options!