मेरो कोरोना अनुभव
शिवलाल दाहाल
केन्टकी, अमेरिका
अरूहरूको कथा पढ्थेँ आज आफ्नै कथा पढ्दै छु । सुरु सुरमा घण्टै पिच्छे जस्तो हप्किन्सका तथ्याङ्क हेर्थेँ । एउटा अजङ्गकाे डरको पहाड उभिएको थियो -मानिसहरूकाे त्रासदिक चित्कार, मृत्युको बीभत्स दृश्य, सामाजिक सञ्जालहरूको होहल्ला र सडकहरूको शून्यता । स्कुल, कलेज र कल-कर्खानाहरू बन्द भए, हवाईजहाजहरू उड्न छाडे, यातायातका अन्य साधनहरू रोकिए, हिँडडुलहरू सीमित भए । धेरै दिनसम्म घरैमै बसेर एक दिन गाडी लिएर बाहिर निस्किएँ, वरपर हेर्छु -वसन्तको मादकता छरिएको छ -रूखका हाँगा-हाँगामा, मुनाहरूमा, चउरहरूमा र मैले प्रेमले नाउँ जुराएका ती भुईँ फूलहरूमा । मानव बस्ती यति विच्छेदित भइदिँदा पनि, प्रकृति उही रीतमा हिँडिरहेको छ । कहीँ केही नभए जस्तो, कहीँ कतै नदुखेको जस्तो ………
समय दौडिरह्यो -पीडा र छटपटीहरू लिएर, सन्त्रासहरू लिएर, मृत्युका उत्छवास लिएर । युगले नयाँ जुक्ति खोज्यो -कतै फरक बाटो बनाएर, कतै घुम्तीहरू थपेर, कतै कृत्रिम यथार्थहरू निर्माण गरेर ।
नयाँ यथार्थसँग बिस्तारै हामी अभ्यस्त हुन थाल्यौँ । आखिरी जीवन भन्नु पनि अनेक सम्झौता न रहेछ । मुखमा महला (मास्क) लगाएर हिँड्नु पनि अब असहज हुन छोडिसक्यो । महला एउटा सानो कुरा हो । सानो कुरा हो, सबैले लगाएर हिँड्न सक्ने तर अमेरिकामा यो जेनतेन विषय होइन । यसले अमेरिकामा जनसाधरणदेखि राष्ट्रपति महाेदयसम्मलाई छोएको छ । महलाका बारेमा अनेक थरी तर्क छन्, वितर्क छन् । अमेरिका सन् २०२० को चुनावका लागि त यो एउटा राजनीतिक मसला हो । महलाले कोरोना छेक्छ कि छेक्दैन, दैव जानुन् । कहिले कहीँ प्रमाणभन्दा विश्वास दर्बिलो हुन्छ ।
कोरोनादेखि भाग्न अनेक जुक्ति गरियो । कहिले साबुन, कहिले स्यानिटाइजर, कहिले पन्जा, कहिले भिडभाडदेखि टाढा, कहिले सामाजिक दुरी त कहिले घरभित्रैकाे बास । यी सबै त हामीले देख्ने र विचारने कुरा हुन् । सूक्ष्मता देख्ने चक्षु त हामीकहाँ कहाँ हुनु ? यी सबै कुराले उसलाई छेकेन । एक दिन अकस्मात् उसले मसम्म आइपुग्यो । नदेखिने तर अनुभूत गरिने गरी ।
सुरुमा ज्वरो आउँदा नै मलाई शङ्का लाग्यो । अरू बेलाको जस्तो रुगाखोकी छैन, मात्र ज्वरो र कमपन । सबैभन्दा बढ्ता मार मेरो पेटमा पर्याे तर त्यो भित्री होइन । पेटको बाहिरी छाला, छातीको तल्लो भागका भित्ताहरू निकै गाह्रो गरी दुख्यो केही दिन । अब जँचाउनु पर्याे भनेर ड्राइभ थ्रुमा दुई दिन पछिको एपाेइन्मेन्ट बनाए । बिहानकाे समय । बारेर सानो बाटो बनाइएको रहेछ । गाडी लिएर घुमाउँदै त्यहाँ पुगे । गाडी भित्रैबाट सिसामा टाँसेर बाहिर देखाएँ मेराे भाैचर, एक जना महिलाले मेरो भौचर नम्बर टिपिन् । त्यसपछि अर्को एक जना पुरुष आए, एउटा फाेन नम्बर लेखेको साइनबाेडतर्क इङ्गित गर्दै । त्यसपछि फोन गरेर कुरा गरेँ । झ्यालको सिसा अलिकति उघारेपछि उनले एउटा लौराले टेस्ट किट गाडीमा छिराइदिए । त्यसपछि फोनमा उनले निर्देशन दिए अनुसार, नाकमा घोचो घुसारेर स्वाब लिएर, एउटा बट्टामा हालेर बन्द गरेँ । अलिक पर झोला खसाउने ठाउँ रहेछ । गाडीको सिसा थोरै खोलेँ र त्यहाँ झोला खसाएर हिँडे । मनमा कस्तो कस्तो लाग्यो । म कति छि छि र दुरदुरको पात्र भएँछु । कोरोनाको परीक्षणमा खटिएकाहरूले कोरोनालाई कति भयानक सम्झँदा हुन्, भन्ने लाग्यो । त्यो उनीहरूका लागि आवश्यक पनि त हो । सबलाई ज्यान जोगाउनु छ । दुनियाँमा आफू प्यारो छ, झन् सङ्कटमा त्यो बढ्ता हुने नै भयो ।
मलाई कोरोना लागेको हो भन्ने कुरामा म निश्चिन्त थिए । दुई दिनपछि इमेल सन्देश आयो – पोजेटिभ । यो अनपेक्षित थिएन । यतिन्जेल सम्ममा ज्वरोबाट मुक्त भइसकेको थिएँ । दबाइका नाम मात्र ज्वरो न्यूनीकरण गर्ने आइब्राेफिन प्रयोग गरेँ । त्यसका अतिरिक्त नेपाली प्रधानमन्त्रीले सुझाएको हाम्रो सर्वप्रिय औषधि बेसार, मेथी, अदुवा र मह दुई चार पटक खाएँ । शरीर चाहिँ निकै सुकाउँदो रहेछ मतलब पानी धेरै पिउनु पर्ने । सहज रूपमा कोरोनाबाट मुक्त भएँ भनौँ यस पटक, अर्को पटक दैव जानुन् । कोरोना यति सहज भएर आउँदैन सबैलाई । सङ्क्रमणको गम्भीरता हरेक मान्छेमा फरक पर्छ । कसैका लागि सामान्य, कसैका लागि जीवन-मरणको सङ्घर्ष, त कसैका लागि जीवनकै समाप्ति ।
चौध दिनसम्म घरमै थान्को लागेर बाहिर निस्कँदा, कता कता बिरानो भएझैँ लाग्यो । भुईँभरि पात झरेका छन् । पातहरूले रङ्ग फेरेको र खुइलिँदै झर्दै गरेका सिक्रे रूखहरू । तर ढोकैमा दुई वटा रूख ठिङ्ग उभिएका छन् लटरम्म फलेर । फल्नु, फुल्नु र झर्नु प्रकृतिको रीत न हो । यी झरेका पातहरू पलाउँदै गर्दा देखि अहिलेसम्म कति ओइलाई झरे जीवन अहँ । मनमा यस्तै भावनाहरू खेलाउँदै घरभित्र पसेँ । फाेन बज्यो, म फलानो, के तपाईँ प्लाज्मा दान गर्नु हुन्छ ? एक छिन त अक्कनबक्क भएँ छु, अनि भनिदिएँ ‘बिचार गर्छु ।’
यसरी म विश्व महामारीको भागीदार बने, नचाहेर पनि । संसारमा कति कुरा चाहेर हुन्छन् कति नचाहेर- एउटा नियमित आकस्मिकता- जो हामी भोग्छौ, भुल्छौ र भोग्छौँ । मान्छे शक्तिको खोजी र शक्ति प्रदर्शनमा लागि परेको छ । नियति कहिले सहायक हुन्छ त कहिले कारक । कोरोनाको उत्पत्ति कति प्राकृतिक कति कृत्रिम त्यो भविष्यले पर्गेल्ला । जीवन धान्नका लागि कति कुरा चाहिन्छ र धर्ती ती कति कुराले सुसम्पन्न छ हाम्रो ज्ञान र विज्ञानले- चाल पाएको छ । तर मानिस किन धर्तीको यो महान् गुण विनाश गरेर, अर्को धर्तीको खोजीमा छ ? कोरोनापछिको संसारमा कस्काे पासमा पल्टिन्छ, त्यो हर्न बाँकी छ । हामी त अरूले खेल्ने पासाका गोटी न हौँ । भोग्नु हाम्रो नियति ।